कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

सभामुखप्रति देउवा आक्रोशित

कांग्रेसको जागरण अभियान सुरु
कुलचन्द्र न्यौपाने

काठमाडौँ — कांग्रेस सभापति शेरबहादुर देउवाले सभामुख कृष्णबहादुर महराले निष्पक्ष ढंगबाट संसद् चलाउन नसकेको भन्दै उनको भूमिका इतिहासमै कमजोर भएको बताएका छन् । कांग्रेसको बुधबारदेखि देशभर सुरु भएको राष्ट्रिय जागरण अभियानको राजधानीमा सुरुवात गर्दै सभापति देउवाले संसद्मा सभामुखको भूमिका सरकारको जस्तै असहिष्णु बन्ने गरेको टिप्पणी गरे । 

सभामुखप्रति देउवा आक्रोशित

प्रतिपक्षको अवरोध हुँदा संसद् नचलाउने विगतको परम्परा तोडदै जान थालेपछि देउवा सभामुखप्रति खनिएका हुन् । 'प्रधानमन्त्रीले (मंगलबार संसद्मा) संसदीय भाषा बोलेनन् । हामीले विरोध गर्‍यौं, सभामुखलाई गैरसंसदीय भाषा फिर्ता लिनुहोस् भन्यौ । गर्न सकेनन्,' देउवाले भने, 'यति कमजोर, काँतर र डरपोक सभामुख इतिहासमै कहिल्यै थिएनन् ।'


संसद् प्रतिपक्षको हुने बि्रटिस परम्परा रहेको उल्लेख गर्दै देउवाले सभामुख महराको भूमिका निष्पक्ष हुन नसकेको प्रति आपत्ति जनाए । 'हाउस जहिले पनि विपक्षीको हुन्छ, यसअघि धेरै सभामुख भइसके । तर उनीहरूले कहिल्यै आफूलाई सत्तापक्षको जस्तो व्यवहार गरेनन्, प्रतिपक्षलाई महत्त्व दिए,' देउवाले भने, 'तर अहिलेका सभामुख सरकारका अघि डराए । संसदीय मर्यादा निभाउन सकेनन् ।'


प्रतिपक्षको विरोधका बाबजुद सभामुख महराले मंगलबार संसद् चलाएका थिए । सरकारको वाषिर्क नीति तथा कार्यक्रम कांग्रेसको अवरोधकै बीचमा पारित गराएका थिए । यसअघि चिकित्सा विधेयक पारित गर्ने क्रममा पनि सभामुखको भूमिका त्यस्तै थियो । मंगलबार सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्रीले 'आक्रोश, कुण्ठा र निम्छरा' प्रश्नको जवाफ नदिने बताएपछि प्रतिपक्षी कांग्रेसले संसद्मा अवरोध गरेको थियो ।


प्रधानमन्त्रीले गैरसंसदीय शब्द बोलेको भन्दै कांग्रेसले संसदको रेकर्डबाट हटाउन सभामुखको ध्यानाकर्षण गराएको थियो । सभामुखले नहटाएपछि कांग्रेसले संसद् अवरोध जारी राख्यो । प्रतिपक्षको नाराबाजीबीच सभामुखले सदनको कारबाही अघि बढाएपछि कांग्रेस थप चिढिएको हो ।


देशभर एकसाथ सुरु भएको जागरण अभियानमा कांग्रेसका केन्द्रीयस्तरका नेताहरूले सभामुखको भूमिका र प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिपक्षप्रतिको असहिष्णु शैलीप्रति खुलेरै आलोचना गरेका थिए । देउवाले कम्युनिस्ट शासनमा रुन पनि पाइँदैन भन्ने आफ्नो अभिव्यक्तिलाई सार्थकता दिने गरी सरकारले गतिविधि चलाएको आरोप लगाए ।


राष्ट्रपतिलाई 'बेलायती महारानीको नक्कल' गर्न लगाएर सरकारले तत्कालीन शाही सरकारकै झल्को दिएको देउवाले बताए । गणतन्त्रपछिको परम्परालाई राष्ट्रपति र राष्ट्रपतिको संस्थाले समेत ख्याल नगरेको प्रति उनले आलोचना गरे ।


'प्रथम राष्ट्रपति रामवरण यादवले पनि मेरो सरकार भनेनन् । गएको वर्षसमेत राष्ट्रपतिबाट यस्तो अभ्यास भएको थिएन,' देउवाले भने, 'श्री ५ बाट नेपाल सरकार भइसक्यो । राष्ट्रपति आफैंले पनि यस्तो परम्पराको ख्याल गर्न सक्नु पर्दैन ?' उनले भने । संसद् र न्यायालयमा समेत कार्यकारीको छाया देखिएको भन्दै उनले त्यसविरुद्ध लड्न तयार रहन कार्यकर्तालाई निर्देशनसमेत दिए ।


'न्यायपालिका, संसद्, संवैधानिक निकाय सबैतिर हस्तक्षेप भएको छ । प्रधानमन्त्रीले जे मन लाग्यो, त्यही बोल्न थालेका छन्,' देउवाले भने, 'कांग्रेसले २००७ देखिका हरेक निरंकुश शासकविरुद्ध लडदै आएको छ । अब फेरि लड्न नपरोस् ।' त्यही कार्यक्रममा कांग्रेस नेता प्रकाशमान सिंहले संसद्मा विपक्षीलाई होच्याउने गरी प्रधानमन्त्रीले गैरसंसदीय भाषा बोलेको र सभामुखले संसदको मर्यादा पालना नगरी संसद् चलाएको भन्दै आक्रोश पोखे । 'विपक्षीले जेसुकै गरुन्, संसदीय मर्यादा जेसुकै होस् । बहुमत छँदै छ भनेजस्तो गरेर संसदको कारबाही अघि बढाइएको छ,' सिंहले भने, 'सरकार र सभामुखले समेत संसदीय मर्यादा पालना गर्न सकेका छैनन् ।'


'हिमाल, पहाड, तराई-मधेस, नेपाली कांग्रेस' नाम दिएर पार्टीको संगठन सुदृढीकरण र विस्तारका लागि सुरु भएको अभियानमा देशभर केन्द्रीयस्तरका नेताहरू परिचालित छन् । ७७ जिल्लामै एउटै शैलीमा एकैपटक अभियानको सुरुवात गरिएको थियो ।

सांसदसमेत रहेका केन्द्रीय नेताहरू भने अधिकांश राजधानीमै केन्दि्रत छन् ।


मंगलबार बजेटको नीति तथा कार्यक्रममाथिको मतदान भएकाले उनीहरूलाई राजधानी नछाड्न पार्टीले ह्वीप जारी गरेको थियो । सांसदबाहेकका नेताहरू भने राजधानी बाहिर परिचालित छन् । केन्द्रीयस्तरका पदाधिकारी सातै प्रदेशमा खटिएका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल प्रदेश २ को जनकपुर पुगेका छन् । जनकपुरको सभामा सम्बोधन गर्दै उनले प्रधानमन्त्री ओलीको भूमिकाको आलोचना गरे । स्वतन्त्र निकाय र संस्थामाथि हस्तक्षेप गरी ओलीले लोकतान्त्रिक प्रणालीलाई कमजोर बनाउन लागेको आरोप उनले लगाए ।


उपसभापति विजयकुमार गच्छदार प्रदेश १ को विराटनगर पुगेका छन् । सुदूरपश्चिम प्रदेशमा उपसभापति विमलेन्द्र निधि, गण्डकी प्रदेशमा महामन्त्री पूर्णबहादुर खड्का, प्रदेश ५ मा महामन्त्री शशांक कोइराला र कर्णाली प्रदेशमा कोषाध्यक्ष सीतादेवी यादव खटिएका छन् । शीर्ष नेताहरू यी प्रदेशका जिल्लाहरूमा आयोजना हुने कार्यक्रममा प्रमुख अतिथिका रूपमा पुग्नेछन् ।


जिल्लाकेन्द्रित यो अभियानपछि कांग्रेसले भदौ २४ देखि असोज १० सम्म ३ सय ३० प्रदेश निर्वाचन क्षेत्रमा दोस्रो चरणको अभियान थाल्ने भएको छ । पुस ७ देखि १६ गतेसम्म ७ सय सय ५३ पालिकामा तेस्रो चरणको कार्यक्रम हुनेछ ।

प्रकाशित : वैशाख २६, २०७६ ०७:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?