कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

सरकारी जग्गामा निजी विद्यालय

रमेशचन्द्र अधिकारी

धनकुटा — छथरजोरपाटी गाउँपालिका २, जोरपाटीमा एक निजी विद्यालयले सरकारी जमिनमा भवन निर्माण थालेको छ । स्थानीय सेतो गुराँस इंग्लिस बोर्डिङ स्कुलले अघिल्लो महिनादेखि निर्माण थालेको हो ।

सरकारी जग्गामा निजी विद्यालय

गाउँपालिका कार्यालयसामु रहेको विद्यालयले निर्माणाधीन भवन नक्सापाससमेत गरेको छैन । सरकारी जमिन भए पनि खाली रहेको स्थानमा 'सामूहिक भावना' ले भवन निर्माण गरेको स्कुलका व्यवस्थापक यज्ञप्रसाद ओझाले बताए । वडा कार्यालयले सरकारी जग्गा अतिक्रमण गर्न नहुने भन्दै गाउँपालिकामा परिपत्र गरेको छ ।


खेलमैदानका रूपमा प्रयोग गरिएको खाली जमिन डोजरले सम्याएर निजी विद्यालय भवन बनाइएको वडाध्यक्ष कृष्णकुमार मगरले जनाए । 'सरकारी जमिन अतिक्रमण रोक्न जरुरी छ,' मगरले भने, 'सरकारी जग्गामा निजी विद्यालय भवन बनाउन छुट छैन ।' उक्त जमिनमा विद्यालयले चारकोठे भवन निर्माण थालेको हो ।


गाउँपालिका अध्यक्ष शेरबहादुर लिम्बूले वडा र स्थानीयस्तरबाट समेत प्रश्न उठेपछि निर्माण रोक्न निर्देशन दिएको बताए । 'गाउँपालिकाले निर्माण रोक्नेछ,' उनले भने, 'सरकारी जमिन संरक्षण गर्नेछौं ।' वडाको पत्रका आधारमा निर्माण रोक्ने निर्णय गरिएको उनले जनाए । यसैबीच पाखि्रबासमा पनि सरकारी स्वामित्वको भवनमा एक विद्यालय सञ्चालनमा रहेको पाइएको छ । कृषि अनुसन्धान केन्द्रको स्वामित्वमा रहेको भवनमा शीतलादेवी बोर्डिङ स्कुल सञ्चालनमा छ ।


२०३६ सालमा बेलायत सरकारले २० वर्षका लागि अनुसन्धान केन्द्र सञ्चालन गर्दा त्यहाँ विद्यालयसमेत स्थापना गरिएको थियो । नेपाल सरकारलाई हस्तान्तरण गरिसकिएको भवनमा पछिल्लो समय सार्वजनिक शैक्षिक गुठीमा दर्ता गरी निजी विद्यालय सञ्चालनमा छ । १० कक्षासम्म पठनपाठन हुने विद्यालयमा साढे २ सयभन्दा बढी बालबालिका अध्ययनरत छन् ।


साझेदारी कार्यक्रमअन्तर्गत ७८ बालबालिकासमेत अध्ययन गर्दै आएको विद्यालय व्यवस्थापन समितिका प्रमुख ज्ञानबहादुर गुरुङले बताए । 'विद्यालयले प्याब्सनले निर्धारण गरेबमोजिम शुल्क लिएर पढाउने गरेको छ,' उनले भने, 'ट्रस्टमा रूपान्तरित गरिएकाले गैरकानुनी छैन ।'

प्रकाशित : वैशाख २६, २०७६ ०९:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?