कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

मुक्तिनाथमा अश्वयात्रा

रानीपौवादेखि मुक्तिनाथ प्रवेशद्वारसम्म घोडचढी व्यवसाय थालेपछि पाहुनाले सुविधा त पाएका छन् नै, स्थानीयले राम्रै आयआर्जन पनि गरेका छन् ।
घनश्याम खड्का

जोमसोम, मुस्ताङ — समुद्र सतहदेखि ३ हजार ८ सय मिटर उचाइको मुक्तिनाथ जाने तीर्थयात्री र पर्यटकले लेक लाग्ने समस्या सामना गर्नुपर्ने हुन सक्छ । कोही हिँड्न सक्दैनन् । यस्ता तीर्थयात्री र पर्यटकको सुविधाका लागि स्थानीयले रानीपौवादेखि मुक्तिनाथ प्रवेशद्वारसम्म अश्वयात्रा (घोडचढी) व्यवसाय थालेका छन् । यसले घोडाको संरक्षण र पाहुनालाई त सुविधा दिएको छ नै, स्थानीयले राम्रै आयआर्जन पनि गरेका छन् । 

मुक्तिनाथमा अश्वयात्रा

घोडचढीका मुख्य सेवाग्राही भारतीय पर्यटक नै हुन् । फाट्टफुट्ट नेपाली वृद्धवृद्धा र थोरै सहरिया तन्नेरी सोखले घोडामा यात्रा गर्छन् । 'मोटरबाटोले घोडा विस्थापित हुन थालेपछि मुक्तिनाथ आउने पर्यटकलाई पोनी ट्रेक (घोडचढी) गराउँदा स्थानीयलाई रोजीरोटीको अवसर जुटेको छ, घोडा पाल्ने हाम्रो पुख्र्यौली संस्कृति पनि जोगिएको छ,' बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिका ५ खिंगाका लोप्टे ठकुरीले भने, 'सबै सिजनमा चाहिँ व्यवसाय चल्दैन ।'


मुक्तिनाथको गेटैसम्म गाडी पुग्दा मुक्तिनाथ र रानीपौवा बजारको व्यापार घटेपछि स्थानीयले रानीपौवाको पुछारमा बसपार्क बनाए । यहाँ गाडीबाट झरेपछि मन्दिर पुग्न यात्रुले कम्तीमा ४५ मिनेट हिँड्नुपर्छ । सबै यात्रु सहज हिँड्न सक्दैनन् । त्यसैले घोडाबाट यात्रु बोक्न थालिएको हो । सुरुमा मोटरसाइकलमा यात्रु ओसार्ने गरिन्थ्यो ।


मोटरसाइकलले धूलो उडाउने भएकाले पैदलयात्रुलाई सास्ती भएको र बजारको सौन्दर्य घटेपछि विकल्पमा घोडचढी सुरु गरिएको हो । रानीपौवा-मुक्तिनाथ रुटमा अहिले एक सयको हाराहारीमा घोडाले यात्रु बोक्छन् । करिब २ किमिको दूरीको एकतर्फी भाडा ३ सय भाडा तोकिएको छ ।


सिजनमा एउटा घोडाबाट ८-१० हजारसम्म कमाइ हुन्छ । घोडा यात्रालाई व्यवस्थित गर्न मुक्तिनाथ घोडा व्यवसायी समिति गठन भएको छ । समितिले नै क्युमा घोडालाई यात्रु बोकाउने व्यवस्था मिलाउँछ । दसैं, चैते दसैं, मातातीर्थ औंसीजस्ता पर्वमा धार्मिक पर्यटकको ओइरो लाग्छ । मोटरबाटोको सहजताले सबै सिजनमा तीर्थयात्रीको भीड बढ्दो छ ।


घोडामा यात्रु डुलाएर मनग्य पैसा कमाइ भए पनि पाल्नचाहिँ महँगो छ । गाडी नचलाए इन्धन बच्छ । तर घोडालाई जहिले पनि खुवाउनुपर्छ । घोडाको दाना र घाँसमा मात्र दैनिक ५ सय खर्च लाग्छ । घोडा सुसारेको ज्याला र खाना खर्च छुट्टै छ । दैलोमै मोटर पुगेपछि मुस्ताङका तबेलाबाट घोडा हराउँदै गएका छन् ।


मोटर पुग्नुअघिसम्म मुस्ताङ्गीका लागि घोडा यातायातका प्रमुख साधन थिए । भौगोलिक दुर्गमताले घोडासँग मुस्ताङ्गीको दैनिकी, संस्कृति र बाध्यता दुवै जोडिएको थियो । मोटरको पहुँच नपुगेका बस्ती र क्ष्ाेत्रमा अहिले पनि घोडा मुस्ताङ्गीका निर्विकल्प यातायातका साधन हुन् ।


'मुस्ताङ्गीको जीवन तथा संस्कृति बोकेका घोडा पछिल्ला केही वर्षदेखि पर्यटनसँग जोडिन पुगेका छन्,' बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिका अध्यक्ष फेन्चोक छेक्तेन गुरुङ (धारा गुरुङ) ले भने, 'घोडाले यात्रुलाई पवित्र मन्दिरसम्म मात्र बोकेको छैन, धार्मिक पुण्यसहित रोमाञ्चक सम्झना पनि थपेको छ ।'

प्रकाशित : वैशाख २६, २०७६ ०९:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?