कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

पैंचोको भरमा बझाङको उत्तरी सीमा धुलीमा बसेका प्रहरीलाई खाद्यान्न पठाइयो 

बसन्तप्रताप सिंह

बझाङ — उत्तरी सीमामा रहेको धुली प्रहरी चौकीका प्रहरीको लागि खाद्यान्न पठाइएको छ । सीमा सुरक्षामा खटिएका प्रहरीहरुको विजोगबारे जानकारी पाए लगतै प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालले प्रहरीहरुका लागि खाद्यान्न आपूर्ति सहज बनाउन प्रदेश प्रहरी प्रमुखलाई निर्देशन दिएका थिए । 

पैंचोको भरमा बझाङको उत्तरी सीमा धुलीमा बसेका प्रहरीलाई खाद्यान्न पठाइयो 

पैंचोका भरमा प्रहरी’ शीर्षकको समाचार गत मंगलबार कान्तिपुर दैनिकमा प्रकाशित भए पछि महानिरिक्षक सर्वेन्द्र खनालले तत्काल खाद्यान्न पठाउन निर्देशन दिएपछि खच्चडलाई बोकाएर रासन पठाइएको हो ।


‘विकट ठाउँमा प्रहरी कसरी बसिरहेका छन् भन्ने हामीलाई थाहै थिएन,’ सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख डिआईजी सुरज केसीले भने, ‘समाचार आए पछि महानिरिक्षकज्यूको ध्यानाकर्षण भएको छ । त्यहाँ तत्काल खाद्यान्न पुर्‍याउन उहाँको निर्देशन अनुसार हामीले जिल्लालाई ताकेता गरेका छौं ।’


नियमित संचार सम्पर्क नहुने भएका कारण सीमामा प्रहरीले पाएको दुःखका विषयमा समाचार मार्फत जानकारी प्राप्तभएको र अबका दिनमा त्यहाँ खाद्यान्नको अभाव हुन नदिने व्यवस्था मिलाइने उनले बताए ।

सुदूरपश्चिम प्रहरी प्रमुखले भनेपछि सुरक्षाचौकीमा कार्यरत प्रहरीको लागि भनेर बझाङ सदरमुकामबाट बुधबार र बिहीबार चामल, दाल र नुन पठाइसकिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डिएसपी सुर्यबहादुर केसीले बताए ।

उनले बुधबार २५ बोरा मसिनो चामल, दुई बोरा दाल र तीनबोरा नुन खच्चड मार्फत साइपालतर्फ पठाईएको र बिहीबार समेत गरी ५० बोरा मसिनो चामल, मास अरहर मसुरोको दाल तीनबोरा, ५ बोरा नुन सीमा प्रहरी चौकीमा पठाइएको जानकारी दिए । जिल्ला प्रहरी कार्यालयबाट पठाएको खाद्यान्न शनिबार सम्ममा धुली पुग्ने उनले बताए ।


सीमा चौकीमा प्रहरी जनशक्ती कम भएकोले तत्कालका लागि ९ जना थप गरिएको बताउँदै उनले बाँकी जनशक्ति थप्ने विषयमा आफूले उपल्लो निकायमा समन्वय गरिरहेको बताए ।


प्रहरीले आफूले दुःख खेपेर भएपनि शान्ति सुरक्षा कायम गर्ने काममा कुनैपनि समस्यासँग सम्झौता नगर्ने बताउँदै उनले भने, ‘दुर्गम क्षेक्रमा रहेका चौकीहरुको जनशत्ती अभाव पुरा गर्ने र बन्दोबस्तीको व्यवस्था मिलाउने विषयमा प्रहरी नेतृत्व संवेदनशिल छ । भौगोलिक विकटताका कारण केही समस्या भएपनि दुर्गम क्षेत्रका जनतालाई पनि राज्यको उपस्थिती महसुस गराउने गरी हामी लागेका छौं ।’


जिल्लाकै विकट साइपाल गाउँपालिका र चीनको तिब्बतसँग जोडिएको उत्तरी सीमाको सुरक्षाको लागि बझाङ जिल्लाको अन्तिम मानव वस्ती धुलीमा सीमा प्रहरी चौकीका प्रहरीहरु यसअघि चामल र नूनका लागि पुर्ण रुपमा स्थानीय बासिन्दाले दिएको पैंचोको भरमा चलेका थिए ।


यो बस्तीबाट खाद्य संस्थान र साल्ट ट्रेडिङ कर्पोरेसनको अस्थायी वितरण केन्द्र रहेको काँडागाउँ सम्म आउजाउ गर्न एकदिन हिँड्नु पर्ने, जनशक्ती कम भएका कारण चाहिएको बेलाचामल र नुन ढुवानी गर्न नसकिने र स्थानीय बजारमा नुन–चामलको भाउ अति महंगो हुने भएकाले प्रहरीहरुले किनेर खानुको सट्टा स्थानीयहरुसँग पैंचो मागेर गुजरा गर्दै आएका थिए ।


स्थानीयलाई पनि नुन–चामलको अभाव भैरहने भएका कारण पैंचो नपाएको बेला यहाँका प्रहरीहरु बिस्कुट र चाउचाउ खाएर छाक टार्दै आएका थिए ।


एकवर्ष अघि गाउँपालिकाको कार्यालय रहेको ठाउँ काँडासम्म नेपाल सरकारको ढुवानी अनुदानमा खाद्य संस्थानले चामल, पिठो लगायतका खाद्यान्न र साल्ट ट्रेडिङ कर्पोरेसनले आयोडिनयुक्त नुन वितरण गर्ने व्यवस्था गरेको भएपनि धुली र बलौडी गाउँका बासिन्दाहरु महंगोमा चामल र नुन किन्न बाध्य छन् । करिब दुई सय परिवारको बसोबास रहेको यी दुईवटा गाउँबाट डिपोसम्म पुग्न एकदिन पैदल हिँड्नुपर्छ ।


आयोडिनयुक्त नुन महंगो हुने भएकाले यहाँका अधिकांस बासिन्दाहरुले तिब्बतबाट आयात गरिएको ढिके नुन खाने गरेका छन् । मान्छेले बोकेर ल्याएको नुन चामलको ढुवानी भाडा निकै महंगो हुने भएका कारण धुली र बलौडीका बासिन्दाले सरकारले नौ रुपयाँमा दिएको नुनलाई समेत ८० रुपैयाँ तिरेर खान परिरहेको स्थानीय बताउँछन् ।


प्रकाशित : वैशाख २६, २०७६ १५:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?