१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

प्रदेश २ मा खटिए ७ सचिव

भौतिक पूर्वाधार मन्त्रालयमा सचिवको लफडा
अजित तिवारी

जनकपुर — लामो समयदेखि रिक्त रहेको प्रदेश २ को मन्त्रालयहरूमा संघीय सरकारले एकैसाथ ७ सचिव खटाएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश २ का मन्त्रालयहरूमा रिक्त रहेका सचिवको पदपूर्ति एकैसाथ गरिदिएको हो ।

प्रदेश २ मा खटिए ७ सचिव

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सचिव शंकर सुवेदी र सुशील ढकाललाई पठाइएको छ । मुख्यमन्त्री कार्यालयमा तीनजना सचिवको दरबन्दी रहेपनि लामो समयदेखि दुई सचिवको दरबन्दी खाली थियो । थप दुई सचिव नआउँदा मुख्यमन्त्री कार्यालयको कानुन सचिव कोमल खत्रीले नै तीनवटै प्रशासन, योजना र कानुनको जिम्मेवारी सम्हालेका छन् । प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा खटिएका सचिवद्वय सुवेदी र ढकाल हाजिर भइसकेका छैनन् ।


प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ८ जना उपसचिवको दरबन्दी रहेकोमा २ जना मात्र कार्यरत छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अधिकृत पदम पोखरेलका अनुसार कार्यालयमा १० जना नासुको दरबन्दी रहेपनि २ जना मात्र कार्यरत छन् ।


संघीय सरकारले आर्थिक मामिला तथा योजना मन्त्रालयको सचिवमा प्रेमकुमार श्रेष्ठ, सामाजिक विकास मन्त्रालयका सचिवमा तेजराज पाण्डे, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिवमा विष्णुराज ढकाल र भौतिक पूर्वाधार तथा विकास मन्त्रालयको सचिवमा पुष्कर घिमिरेलाई खटाएको छ ।


भौतिक पूर्वाधार तथा विकास मन्त्रालयका सचिव घिमिरेले भने काम सम्हालिसकेका छन् । घिमिरे, भौतिक पूर्वाधार मन्त्रालयमा मंसिरदेखि सचिव पदमा कार्यरत थिए । उनको वैशाख पहिलो साता सरुवा भएको थियो । घिमिरेको ठाउँमा सचिव नियाज वारिशलाई पठाइएको थियो । तर, भौतिक पूर्वाधार तथा विकासमन्त्री जितेन्द्र सोनलले वारिशलाई झिक्न लगाएर उनको ठाउँमा सचिव घिमिरेलाई नै फिर्ता ल्याएका छन् । सचिव घिमिरे मन्त्रालय आएदेखि अर्का सचिव वारिश आफूलाई अन्याय भएको भन्दै काठमाडौँमा पुगेका छन् ।


भौतिक पूर्वाधार तथा विकास मन्त्रालयको सचिवको कार्यकक्षमा भने फेरि सरुवा भएर आएका घिमिरे नबसेर मन्त्रालयको महाशाखाको कार्यकक्षबाट मन्त्रालय हाँकिरहेका छन् । सचिव घिमिरेको नेमप्लेट सचिवको कार्यकक्षको अगान्तुक कक्षमा भुँइमा फालिएको छ ।


प्रदेश २ को भौतिक पूर्वाधार मन्त्रालयमा सचिवको कक्षमा भुँइमा फ्याँकिएको सचिव घिमिरेको नेमप्लेट । तस्बिर : अजित/कान्तिपुर


एक सातामै सरुवा भएकोमा असन्तुष्ट सचिव वारिश काठमाडौं पुगेर आफ्नो सरुवा रोक्न प्रयासरत रहेको स्रोतको भनाइ छ । स्रोतका अनुसार मन्त्री सोनल मन्त्रालयको सचिवमा घिमिरेलाई नै रुचाएको र उनको अचानक सरुवाले रुष्ट बनेका थिए । 'सचिवबाट वारिशलाई फिर्ता पठाउन र घिमिरेलाई ल्याउन मन्त्री सोनलले नै लविङ गरेका हुन्,' मन्त्रालय स्रोतले भने,'सचिवमा घिमिरे आएपछि मन्त्रीलाई काम गर्न सजिलो भएको छ ।'


भौतिक पूर्वाधार मन्त्रालयको भुँइतल्लामा रहेको महाशाखामा बसेर सचिव घिमिरेले जिम्मेवारी सम्हालेका छन् । माथिल्लो तल्लामा रहेको सचिवको कार्यकक्षमा उनी उक्लिएका छैनन् । 'बुझबुझारथ नभएको र मअघिको सचिव काठमाडौं रहेकाले कार्यकक्षमा नबसेको हो,' भौतिक पूर्वाधार मन्त्रालयका सचिव घिमिरेले कान्तिपुरसँग भने ।


प्रदेश २ को उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्रालय र प्रदेशसभा सचिवालयमा भने अझै सचिवको नियुक्ति हुन सकेको छैन । उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झा गत साता सरुवा भएपछि त्यो मन्त्रालय निमित्त सचिवको भरमा चलिरहेको छ । वन निर्देशनालयका निर्देशक जगदीश प्रसाद गुप्तालाई मन्त्रालयको निमित्त सचिव तोकिएको छ । यस्तै, प्रदेशसभा सचिवालयमा उपसचिव रञ्जित यादवलाई निमित्त सचिवको जिम्मेवारी दिइएको छ ।


मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अधिकृत पोखरेलका अनुसार प्रदेश २ मा नेपाल प्रशासन सेवातर्फ २८ जना उपसचिवको दरबन्दी रहेपनि १ जना मात्र कार्यरत छन् । 'उपसचिव नहुँदा मन्त्रालय र त्यस मातहतको कार्यालयहरूको काम अगाडि बढ्न सकेको छैन,' पोखरेलले भने, 'उपसचिवको अभावमा कार्य सम्पादनमा असर परिरहेको छ ।'

प्रकाशित : वैशाख २६, २०७६ १७:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?