भारतमा रासनकार्ड सुविधा, नेपालमा वृद्धभत्ता

परिवारकै दोहोरो नागरिकता 
विनु तिम्सिना

विराटनगर — सुनसरीको सदरमुकाम इनरुवाका व्यापारी छगनलाल शर्माले नेपाल र भारतको दोहोरो नागरिकता लिएको पाइएको छ । इनरुवा बजारमा सुरज फेन्सी स्टोर कपडा पसल सञ्चालन गरेर बसेका उनले ३४ वर्षको उमेरमा २०३४ सालमा नेपालमा वंशजको नागरिकता लिएका थिए । नेपालको नागरिकता नम्बर ६२५६/२७१९ रहेका उनले भारतको नागरिकता पनि त्यागेका छैनन् । 

भारतमा रासनकार्ड सुविधा, नेपालमा वृद्धभत्ता

भारतीय मतदाता परिचयपत्र नम्बर आईएक्सक्यू/०३३०५१९ रहेको उनको भारतको राजस्थानस्थित बेकानेर जिल्ला वडा २७ मा (नारायण निवास घर नम्बर २७६ के) दुईतले घर छ । उक्त घर उनकी दिवंगत श्रीमती सुशीलादेवीका नाममा छ । सुशीलादेवीले पनि नेपालको नागरिकता लिएको देखिन्छ ।


२०००००८१०६८६ नम्बरको रासनकार्ड लिएका छगनलालले २०२९४ नम्बरको मगनलाल रामावतको पसलबाट भारत सरकारले दिने रासन लिने गरेको देखिएको छ । छगनलालले २०१७ मा राजस्थानको बिकानेर जिल्लामा विधानसभा निर्वाचन क्षेत्र नम्बर १३ मा मतदान गरेको समेत भारतीय निर्वाचन आयोगको वेबसाइटमा देखिन्छ ।

उनले नेपालमा पनि मतदान गरेको देखिन्छ । १६७१९७१ नम्बर मतदाता परिचयपत्र लिएका उनले इनरुवाको भगवती माविमा रहेको निर्वाचन केन्द्रबाट मतदान गरेका हुन् । उनले नेपालमा वृद्धभत्तासमेत लिइरहेका छन् ।


उनका तीनजना छोरा र उनीहरूका श्रीमतीको समेत दोहोरो नागरिकता देखिएको छ । छगनलालका छोराहरूले पनि नेपालमा वंशजको नागरिकता लिएका छन् । उनका जेठा छोरा रमेशकुमारले पनि भारतीय रासनकार्ड र नागरिकता लिएका छन् ।

२०००००८५३८५ नम्बरको रासनकार्ड लिएका उनले पनि मगनलाल रामावतको पसल नम्बर २०२९४ बाट रासन लिने गरेको देखिएको छ । १५४४६८७ नम्बरको नेपालको मतदाता परिचयपत्र लिएका रमेशले इनरुवाको भगवती माविमा रहेको निर्वाचन केन्द्रबाट मतदान गरेको देखिन्छ । ०३३०५३७ नम्बरका भारतीय मतदाता उनले भारतको निर्वाचनमा समेत भाग लिएको देखिन्छ ।


छगनलालका अर्का छोरा सुरेशको पनि २०००००१०८३५८ नम्बरको रासन कार्ड छ । उनले भने २०२९५ नम्बरको चेतनदास आचार्यको पसलबाट रासन लिने गरेको देखिन्छ । निर्वाचन आयोग नेपालको वेबसाइटमा उनको मतदाता परिचयपत्र १५४४६८८ नम्बरमा देखिन्छ । भारतीय निर्वाचन आयोगको वेबसाइटमा ०३३०५५५ नम्बरमा उनको नाम देखिन्छ ।


छगनलाल शर्माको भारतीय राशन कार्ड । तस्बिरः बिनु तिम्सिना/कान्तिपुर

उनका कान्छा छोरा आशिषको पनि दोहोरो नागरिकता छ । ०३३०५७३ नम्बरको भारतीय मतदाता परिचयपत्र लिएका आशिषको १६७१९६७ नम्बरको नेपाली मतदाता परिचयपत्र छ । वैवाहिक अंगीकृत नागरिकता लिएका सुरेश र रमेशका श्रीमती वीणादेवी र गायत्रीदेवीले पनि भारतको नागरिकता त्यागेको देखिँदैन ।


छगनलाल इनरुवाका प्रतिष्ठित व्यापारी हुन् । रेडक्रस सुनसरी, इनरुवा सत्यनारायण मन्दिरलगायत विभिन्न सामाजिक संस्थामा आबद्ध भएर काम गरेका उनले भर्खरै भारतको राजधानी दिल्लीमा नयाँ फल्याट खरिद गरेको स्रोतले बतायो । रेडक्रस सुनसरीमा रहँदा उनले २०६४ मा आएको कोसी बाढीपीडितको राहत घोटाला गरेको आरोपमा अख्तियारमा मुद्दासमेत चलेको थियो । धेरैजसो समय दिल्लीमै बस्ने गरेका उनी वृद्धभत्ता थाप्न मात्रै नेपाल आउने गरेको स्रोतले बतायो ।

प्रकाशित : वैशाख २७, २०७६ ०७:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?