वीरको टेण्डरविरुद्ध अदालतमा रिट

फातिमा बानु

काठमाडौँ — चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गतको वीर अस्पतालले १ पैसा मूल्यमा अण्डालगायत विभिन्न रासन सामग्रीे खरिदको टेण्डर स्विकृत गरेपछि त्यसविरुद्ध उच्च अदालत पाटनमा रिट दायर भएको छ ।

आफ्नो योगयता पुग्दापुग्दै अयोग्य फर्मको टेण्डर स्विकृत गरेर अन्याय गरेको भन्दै न्यू आरके ट्रेडर्स (सप्लाएर्स फर्म) ले न्याम्सविरुद्ध अदालतमा रिट दर्ता गरेको हो ।

आरके वीर अस्पतालमा रासन सामग्रीे टेण्डरका लागि निवेदन दिने प्रतिष्पर्धी फर्म हो । आफूले रासन खरिदविक्री सम्बन्धी योग्यता र अनुभवको प्रमाण बुझाउँदा पनि अयोग्य फर्मको टेण्डर स्विकृत गर्न नहुने आरकेको भनाई छ ।

बैशाख २३ गते रिटमाथि आदेश जारी गर्दै न्यायधीश ठाकुरप्रसाद शर्मा पौडेलले न्याम्ससँग १५ दिनभित्र जवाफ मागेको छ । वीरले १ महिनाअघि रासन सामग्रीे खरिदका लागि न्यू सुयोग इन्टरप्राइजेजको टेण्डर स्विकृत गरेको थियो । टेन्डरका लागि निवेदन दिने तीन फर्ममध्ये सबैभन्दा सस्तो मूल्यमा सामान दिने सम्झौता अनुसार वीरले न्यू सुयोग इन्टरप्राइजेजको टेन्डर स्विकृत गरेको थियो । सस्तोमा दिएपनि सुयोगको योग्यता भने अस्पतालले तोकेअनुरुप छैन ।

सार्वजनिक खरिद ऐन अनुसार टेण्डर प्रक्रिया चित्त नबुझे निवेदन दिने व्यवस्था छ । यही व्यवस्था अनुसार आरकेले न्याम्समा निवेदन दिएको थियो । पाँचदिनभित्र जवाफ नआएपछि अदालत धाउनुपरेको निवेदनमा उल्लेख छ । न्याम्सबाट जवाफ नपाएपछि आरकेले स्वास्थ्य मन्त्रालय, सर्तकर्ता केन्द्रमा उजुरी निवेदन हालेको थियो । ती निकायबाट पनि कुनै प्रतिक्रिया नआएको उल्लेख गर्दै प्राविधिक र कानूनी रुपमा प्रभावकारी नभएकोले न्यू सुयोगको टेण्डर रद्द गर्नुपर्ने आरकेको माग छ ।

आरकेको निवेदनको जवाफ नदिएको बारे वीर अस्पतालको खरिद इकाई प्रमुख भगवती थपलिया भन्छिन्, ‘आरकेको फोन नलागेपछि हामीले हुलाकमार्फत पत्र पठाएर जवाफ दिएका छौं ।’

१ पैसामा अण्डा लागायत रासन सामग्री खरिदको टेण्डर स्विकृत गरेर बिरामीलाई खुवाइने खानाको गुणस्तरमै शंका उब्जिएको भन्दै राष्ट्रिय सतर्कता केन्द्रले न्याम्स र स्वास्थ्य मन्त्रालयलाई बैशाख २३ गते पत्र काटेको छ । स्विकृत फर्मको मूल्यसूचि बजारभाउ अनुसार अविश्वनिय भएको भन्दै यस्तो टेण्डर स्विकृत गर्न नहुने केन्द्रले जनाएको छ । यस्तो किन गरियो भन्दै जवाफ मागेपनि न्याम्सले कुनै जवाफ पठाएको छैन ।

कर्मचारीका अनुसार टेन्डर हात पार्नकै लागि फर्मले सामाग्रीको सस्तोभन्दा सस्तो मूल्य तोक्छन् । टेन्डर हात परिसकेपछि एक दुईमहिना तोकेकै भाउमा सामान दिन्छन् । त्यसपछि सामाग्रीको बजार अभाव भन्दै अस्पतालमा सामान पठाउँदैनन् । सामान अभाव भएपछि अस्पतालले अन्तैबाट कोटेशन (५ लाखभन्दा कम मूल्यको सिधै खरिद प्रक्रिया) मा सामान खरिद गर्छ । कोटेसनमा खरिद गरिएका सामान फेरि बजारभाउ अनुसार नै महँगो हुन्छ ।

खरिद शाखा प्रमुख थपलिया भने फर्मले सम्झौता गरेकै मूल्यमा वर्षभरी सामान दिएको दाबी गर्छिन् । तर, सर्तकर्ता केन्द्र र महालेखाका प्रतिवेदनमा न्याम्सले पटकपटक कोटेसनमा औषधि लगायत अन्य सामाग्री खरिद गरेको उल्लेख छ ।

न्याम्सबाट गत आर्थिक वर्षमा पनि उपकरण खरिद गर्दा अनियमितता भएको थियो । सर्तकता केन्द्रले अनियमितता गर्ने पदाधिकारीलाई कारवाही गर्न सिफारिस गरेपनि न्याम्सले हालसम्म कसैलाई कारवाही गरेको छैन । उपकरण खरिदमा अनियमितता गरेको विषयमा सार्वजनिक खरिद अनुगमन कार्यालयको न्यायीक समिति र सतर्कता केन्द्रले न्याम्सका तत्कालीन उपकुलपति डा. गणेश गुरुङ, ट्रमा सेन्टरका निर्देशक डा. प्रमोद उपाध्याय र न्याम्सको खरिद इकाई प्रमुख भगवती थपलियालाई कारबाही सिफारिस गरेको थियो ।

‘सिफारिस आउँदैमा हामी कारवाही गर्दैनौं । अदालत नै आदेश दिए मात्रै कारवाहीको प्रक्रियामा जान्छौं,’ हाल वीर अस्पतालका निर्देशक डा. केदार सेञ्चुरीले भने ।

प्रकाशित : वैशाख २७, २०७६ १४:१९
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

वीरमा मिर्गाैला प्रत्यारोपण रोकियो

फातिमा बानु

काठमाडौँ — औषधि अभावका कारण वीर अस्पतालमा मिर्गौला प्रत्यारोपण रोकिएको छ । अस्पतालले अंग प्रत्यारोपण गर्दा प्रयोग हुने मुख्य औषधि (एटीजी) खरिद गर्न नसक्दा पाँच महिनादेखि मिर्गौला प्रत्यारोपण हुन नसकेको हो । विशेषज्ञका अनुसार एटीजी औषधि बिरामीको अंग प्रत्यारोपण गर्नुअघि र गरेपछि प्रयोग गरिन्छ ।


वीरमा दस वर्षअघि सुरु भएको मिर्गौला प्रत्यारोपण विभिन्न समस्याका कारण बेला-बेला रोकिने गरेको थियो । चार वर्षअघिको भूकम्पले अस्पतालको भवन भत्कियो र ७ बेडको यो विभाग २ बेडमा खुम्चियो । भौतिक पूर्वाधार र जनशक्ति अभावपछि अस्पतालले सातामा एक पटक मिर्गौला प्रत्यारोपण गर्ने गरेको थियो । अस्पतालका निर्देशक डा. केदार सेञ्चुरीका अनुसार प्रत्यारोपणका लागि शल्यकक्ष र शल्यचिकित्सक दुवैको अभावले यो सेवा अघि बढन सकेको छैन ।

अस्पतालमा अहिले मिर्गौला शल्यचिकित्सकको दरबन्दी भए पनि त्यसमा चिकित्सक छैनन् । सेञ्चुरी भन्छन्, 'तालिमप्राप्त जनशक्ति छन्, प्रत्यारोपणकै विशेषज्ञ छैनन् । नर्सिङ कर्मचारी र अन्य स्वास्थ्य कर्मचारी पनि न्यून छन् ।' औषधि उपलब्ध भएमा थोरै बिरामीलाई भए पनि प्रत्यारोपण सेवा दिन सकिने बताउँदै उनले थपे, 'महँगो औषधि भएकाले कोटेसनमा किन्न सम्भव छैन । टेन्डर गर्नुपर्ने भएकाले लामो समयसम्म सेवा अवरुद्ध भएको हो ।' सेवा रोकिएसँगै प्रत्यारोपण युनिटका कर्मचारीलाई अन्य विभागमा खटाइएको छ ।

पछिल्लो एक दशकदेखि हालसम्म अस्पतालबाट १ सय ४६ जनाको मिर्गौला प्रत्यारोपण भएको छ । प्रत्यारोपण सेवाका लागि दिनहुँ बिरामी आए पनि अन्य अस्पतालमा रिफर भइरहेका छन् । प्रत्यारोपणका लागि अन्य अस्पतालमा पनि पालो नपाएपछि वीरमा अहिले १० बिरामी सेवा कुरिरहेका छन् ।

यो औषधि खरिदमा कमिसन नआउने भएकाले बेवास्ता गरिएको कर्मचारी स्रोत बताउँछन् । 'कमिसन आउने खालका सामान रातारात किन्छन्, फाइदा नहुने सामान किन्दै किन्दैनन्', स्रोतको दाबी छ । इकाइले वर्षभरि पुग्ने औषधि व्यवस्थापन गर्न नसक्दा सेवा अवरुद्ध हुने गरेको उनीहरू बताउँछन् ।

अस्पतालको खरिद इकाइ प्रमुख भगवती थपलियाका अनुसार अघिल्लो वर्ष चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान -न्याम्स) का पदाधिकारी नभएका कारण औषधि खरिद गर्न सकिएको थिएन । उनी भन्छिन्, 'हामीले टेन्डर प्रक्रिया पहिल्यै तयार गरेका थियौं । निमित्त पदाधिकारीलाई आर्थिक अधिकार धेरै नभएकाले टेन्डर प्रक्रिया अल्झेको थियो ।' टेन्डर प्रक्रिया अघि बढिसकेकाले चाँडै नै प्रत्यारोपण सेवा सुरु गरिने उनले बताइन् ।

मिर्गौला प्रत्यारोपणसम्बन्धी निर्देशिका-२०७४ अनुसार मिर्गौला प्रत्यारोपणका लागि सरकारले एक जना बिरामी बराबर ४ लाख ५० हजार रकम दिने व्यवस्था गरेको छ । बिरामी र मिर्गौला दान गर्ने व्यक्तिलाई भने प्रत्यारोपणपछि औषधि उपचारका लागि थप डेढ लाख रुपैयाँ पनि सरकारले दिने गरेको छ । यस्तो व्यवस्था भएसँगै बिरामी प्रत्यारोपणतर्फ आकषिर्त भएका छन् ।

सरकारले निःशुल्क मिर्गौला प्रत्यारोपणका लागि तोकेका केन्द्रमा समस्या आइरहेका कारण बिरामी मर्कामा पर्ने गरेका छन् । निःशुल्क प्रत्यारोपणका सरकारले नेपालभर तीन अस्पताल तोकेको छ । वीर अस्पताल, सहिदभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुर, महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल टिचिङ । तीनै केन्द्रबाट बिरामीको चापअनुसार सेवा दिन सकिएको छैन ।

विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार नेपालमा प्रतिदस हजारमध्ये एक जनाको मिर्गौला फेल हुने गरेको छ । यसअनुसार नेपालमा बर्सेनि तीन हजार व्यक्तिको मिर्गौला फेल हुन्छ । यस्ता बिरामीलाई उपचारको दुई विकल्प छ- डाइलासिस गर्ने र मिर्गौला प्रत्यारोपण गर्ने । नेपालमा दुवै सेवा प्रभावकारी नहुँदा बिरामीले दुःख पाइरहेका छन् ।

प्रकाशित : वैशाख २६, २०७६ ०७:५६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT