कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दाहाल भन्छन्,  'सगरमाथालाई ब्रान्ड बनाएर संसारभरि पानी बेच्न सकिन्छ'

दाहालले भने, 'नेतृत्वले हस्तक्षेप गरेर भए पनि मेलम्ची ल्याउनुपर्छ भन्नेमा हामी दृढ छौं ।'

काठमाडौँ — नेकपा अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सगरमाथालाई ब्रान्ड बनाएर नेपालको पानी संसारभर बेच्न सकिने बताएका छन् । विश्वमा बेच्नुअघि देशभित्रको पानीको समस्या समाधान गर्नु सरकारको पहिलो प्राथमिकता रहेको उनले जोड दिए । 

दाहाल भन्छन्,  'सगरमाथालाई ब्रान्ड बनाएर संसारभरि पानी बेच्न सकिन्छ'

'म श्रीलंका जाँदा नेपालबाट पानी ल्याउने रणनीतिक योजनाको कुरा भयो, सगरमाथाबाट निकालिने पानी, सगरमाथालाई ब्रान्ड बनाइयो भने संसारभरि बेच्न सकिन्छ' काठमाडौं उपत्यका खानेपानी लिमिटेड कर्मचारी संगठनको प्रथम केन्द्रीय अधिवेशनलाई शुक्रबार उद्घाटन गर्दै दाहालले भने, 'भारत जाँदा पनि प्रधानमन्त्री मोदीसँग पानी निर्यातको विषयमा मेरो कुराकानी भएको थियो ।'

देशभित्रकै खानेपानी समस्यालाई स्थायी रुपमा समाधान गर्न नसकेसम्म दुनियाँले पानी निर्यातसम्बन्धी नेपाल सरकारको व्यवस्थापन, क्षमतालाई विश्वास गर्ने आधार नहुने पनि उनले बताए । विश्वभरी खानेपानी पुर्‍याउनेसँग आन्तरिक रुपले खानेपानी समस्या समाधान गर्ने कुरा गहिरो सम्बन्ध रहेको दाहालको भनाइ थियो ।

काठमाडौं उपत्यकासहित देशभरको खानेपानीको समस्या समाधानका लागि सरकार लागिरहेको उनले दाबी गरे । वर्षौंदेखि काठमाडौं उपत्यका भित्र्याउने भनिएको मेलम्ची खानेपानीको योजनालाई अब नेतृत्वले हस्तक्षेप गरेर भए पनि ल्याइने उनले बताए । 'अहिले पनि सरकार छिटोभन्दा छिटो मेलम्ची ल्याउने तयारीमै छ । म आफैं पनि र प्रधानमन्त्रीजी पनि । हाम्रो चुनौती हो' दाहालले भने, 'नेतृत्वले हस्तक्षेप गरेर भए पनि मेलम्ची ल्याउनुपर्छ भन्नेमा हामी दृढ छौं ।'


खानेपानी मन्त्री, सचिवहरुले गएको दसैंभित्रै मेलम्ची राजधानी आइपुग्ने बताइरहँदा आफूले विश्वास नगरेको दाहालले उल्लेख गरे । उनले मेलम्ची पानी आउन नदिनमा नेपालीहरु नै संलग्न रहेको आरोप लगाउँदै अहिले पनि खेलहरु भइरहेको बताए ।


नेपालको जलस्रोतलाई हाइड्रोमा परिणत गर्ने बारेमा ठूल्ठूला सपना देखिसकेको र त्यसबाट प्रगति गर्ने ढोका खुलिसकेको दाहालले बताए ।

प्रकाशित : वैशाख २७, २०७६ १६:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?