मर्यादाक्रममा प्रदेशमन्त्री केन्द्रका सांसदभन्दा तल

राजेश मिश्र

काठमाडौँ — आफूहरूलाई प्रतिनिधिसभा र राष्ट्रिय सभा सदस्यभन्दा तल्लो मर्यादाक्रममा राख्ने सरकारको निर्णयप्रति प्रदेशका मन्त्रीहरूले असन्तुष्टि जनाएका छन् । अघिल्लो मर्यादाक्रममा नेपाल सरकारका सहायक मन्त्रीलगत्तै रहेका उनीहरूलाई अहिले संघीय सांसद, पूर्वमन्त्री, उच्च अदालतका मुख्य न्यायाधीशभन्दा पछाडि लगिएको छ ।

सरकारले माघ २६ गते राजपत्रमा प्रकाशित मर्यादाक्रम खारेज गर्दै नयाँ मर्यादाक्रम सार्वजनिक गरेको हो ।

प्रतिनिधिसभाको एउटा निर्वाचन क्षेत्रभित्रबाट दुई जना प्रदेशसभा सदस्य चुनिने भएकाले संघीय सांसदका सदस्यहरूले प्रदेशका मन्त्रीभन्दा आफ्नो मर्यादा माथि लैजान दबाब दिँदै आएका थिए । गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले सिंगो प्रदेशको नेतृत्व गर्ने मन्त्रीलाई एउटा निर्वाचन क्षेत्रको व्याख्याकै आधारमा तल सार्नु गलत भएको बताए । 'प्रदेशसभा सदस्य भएसम्म त्यो हिसाबले सोच्नु ठीकै हुन्छ । तर, सिंगो प्रदेशलाई नेतृत्व गर्ने मन्त्रीलाई सांसदभन्दा तल राख्न खोज्नु सुहाउँदो विषय होइन,' उनले भने, 'हरेक विषयमा केन्द्रीयतावादी सोच हाबी हुने गरेको छ । यहाँ पनि त्यही देखियो ।' यसअघिको मर्यादाक्रममै प्रदेशका मन्त्रीहरूले असन्तुष्टि व्यक्त गर्दै आफ्नो मर्यादा केन्द्रको राज्यमन्त्रीलगत्तै राखिनुपर्ने माग गरेका थिए । त्यसविपरीत अझै तल सारिएपछि उनीहरूले थप अपमानित महसुस गरेका छन् ।

प्रदेश २ का भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनलले पनि नयाँ मर्यादाक्रमप्रति आपत्ति जनाए । उनले केन्द्रले कार्यकारी भूमिकामा रहेका प्रदेशमन्त्रीलाई होच्याउने काम गरेको बताए । 'मुख्यमन्त्रीलाई केन्द्रको मन्त्रीसरह मानिएको छ । प्रदेशमा मुख्यमन्त्रीलगत्तैको मर्यादामा रहने मन्त्रीहरूलाई केन्द्रको सांसदभन्दा पनि मुनि लगिनु बेठीक हो, यसलाई सच्याइनुपर्छ,' उनले भने, 'केन्द्रको यस्तै रबैया रहे उसले निर्धारण गरेको मर्यादाक्रम प्रदेशले नमान्ने र प्रदेश सरकारले आफ्नो प्रदेशभित्र आफ्नैखाले मर्यादाक्रम निर्धारण गर्न बाध्य हुनेछ ।'

मर्यादाक्रम सच्याउने क्रममा नेपाली सेनाको असन्तुष्टि सम्बोधन गरिए पनि संवैधानिक निकायका आवाज सुनिएको छैन । यसअघि निर्धारित मर्यादाक्रममा सेनाको अधिकृत तहलाई अन्य सुरक्षा निकायका अधिकृत र निजामतीका अधिकृतभन्दा पछाडि राखिएको प्रति सेनाको असन्तुष्टि थियो । नयाँ मर्यादाक्रममा त्यसलाई सच्याएर सहसेनानीलाई शाखा अधिकृतभन्दा अगाडि र उपसेनानीलाई नेपाल प्रहरी, सशस्त्र प्रहरीका निरीक्षक र राष्ट्रिय अनुसन्धानका अधिकृतभन्दा अगाडि ल्याइएको छ ।

संवैधानिक निकायका प्रमुखबाहेकका पदाधिकारीलाई मुख्य सचिव र प्रधानसेनापतिभन्दा पछाडि पारिएको प्रति संवैधानिक आयोगहरूले विज्ञप्ति नै निकालेर असन्तुष्टि जनाएका थिए । तर, नयाँ निर्धारित मर्यादाक्रममा पनि पुरानै व्यवस्थालाई निरन्तरता दिइएको छ ।

यसअघि निर्धारित मर्यादाक्रममा सामान्य खालका अन्य हेरफेर पनि गरिएका छन् । चौथो नम्बरमा प्रधानन्यायाधीशसँगै लहरमा प्रतिनिधिसभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्ष थिए । अहिले एक नम्बरमा राष्ट्रपति, दुई नम्बरमा उपराष्ट्रपति, तीन नम्बरमा प्रधानमन्त्री र चार नम्बरमा प्रधानन्यायाधीश छन् । पाँचौं नम्बरमा सभामुख र अध्यक्षलाई राखिएको छ । प्रदेशभित्र र प्रदेशबाहिरको हकमा मुख्यमन्त्रीको मर्यादा अलगअलग गरिएकामा नयाँमा मुख्यमन्त्रीको मर्यादा एकै खालको केन्द्रीय मन्त्रीलगत्तै निर्धारण गरिएको छ ।

प्रकाशित : वैशाख २७, २०७६ २१:४९
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

लोकल कुखुरामा बर्ड फ्लु

कान्तिपुर संवाददाता

नवलपरासी — पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकाका एक किसानले पालेको स्थानीय जातको कुखुरामा बर्ड फ्लु भेटिएको छ । नन्दपुरका पीताम्बर महतोले पालेको कुखुरामा बर्ड फ्लु भेटिएको मध्यविन्दु नगरपालिका पशु सेवा शाखा प्रमुख डा. श्यामकृष्ण तिवारीले बताए । 



धमाधम कुखुरा मर्न थालेपछि महतोले परीक्षणका लागि चितवनको राष्ट्रिय पक्षी ल्याबमा लगेका थिए। त्यहाँ बर्ड फ्लु पुष्टि भएको तिवारीले बताए। महतोको घरमा रहेका अन्य सबै कुखुरा नष्ट गरिएको छ। गण्डकी प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी व्यवस्था मन्त्रालय, प्रदेशकै पशुपक्षी विकास निर्देशनालय पोखराको पशुपक्षी रोग अन्वेषण प्रयोगशाला, मध्यविन्दु नगरपालिकाको पशु सेवा शाखाका प्राविधिकको टोलीको रोहबरमा कुखुरा, हाँसलगायत पक्षी र पक्षीजन्य वस्तु नष्ट गरिएको छ।

महतोको घरको दायाँबायाँका १२ घरमा रहेका १ सय ८१ हाँस, ६५ स्थानीय कुखुरा, ७८ अन्डा, ३४ केजी दाना, साढे ४ केजी कुखुराको सुली सुरक्षित तरिकाले नष्ट गरिएको छ। नष्ट गरिएको पक्षी र पक्षीजन्य वस्तुलाई खाडल खनेर पुरिएको हो।

त्यहाँ आसपासका क्षेत्रमा बर्ड फ्लु भए/नभएको पत्ता लगाउन महतोको घर आसपासका जिउँदा कुखुरा तथा हाँसको नमुना संकलन गरी परीक्षणका लागि पठाइएको छ। आसपासमा त्यसको जीवाणु सबै नष्ट नभएसम्म कुखुराजन्य पशुपक्षी नपाल्न पशु सेवा कार्यालयले आग्रह गरेको छ।

प्रकाशित : वैशाख २७, २०७६ २१:३४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्