१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

चावाचा दरबार कसको ?

प्रदीप मेन्याङ्बो

सुनसरी — बराहक्षेत्र नगरपालिकाको जलकन्या सामुदायिक वनभित्र करिब २ सय बिघामा फैलिएको चावाचा क्षेत्रमा एउटा दरबारको भग्नावशेष छ  । कसको होला यो दरबार ? पुग्ने जोकसैलाई कौतूहल लाग्छ  ।

चावाचा दरबार कसको ?

सरोकारवाला निकाय भने बेखबर छन् । पकाएको इँटा, आकार मिलेका ढुंगा, पुराना तामा पैसा, विशाल आँप बगैंचा, ढुंगे पर्खाल, शिव मूर्ति र प्रस्तरको ओख्ली देखिन्छन् । थुप्रै पुरातात्त्विक सामग्री चोरी–तस्करी भइसके । यो संरचना कहिले, कसको शासनकालमा बनेको हो, कहीँकतै उल्लेख छैन । स्थानीय बूढापाका भग्नावशेष हिन्दुपति राजा र उनकी रानी दोशयन्तीको भएको किंवदन्ती सुनाउँछन् । यो क्षेत्र कोसी किनारको बराहक्षेत्र मन्दिरबाट झन्डै २ किमि पूर्वमा पर्छ । पर्यटकीय स्थल चतराबाट करिब १ किमि उत्तर ।

भग्नावशेष आसपासको खहरेलाई स्थानीय रानी खोला भन्छन् । खोलाकिनारको सानो खेतलाई रानीखेत र चावाचाको डाँडामा रहेको अर्को भग्नावशेषलाई ‘लालकोट’ भनिन्छ । लालकोटमा प्रशासनिक अड्डा वा कोष भण्डार रहेको अनुमान गरिएको छ । लालकोट क्षेत्रमा अहिले पनि जमिन खोतल्दा पुराना पैसा, माटोको भाँडा र प्राचीन इँटाका टुक्रा फेला पर्ने गरेका छन् ।

बराहक्षेत्रका ६५ वर्षीय मोहन दाहाल भन्छन्, ‘मैले पनि धेरैअघि एउटा पुस्तिकाको बीचको पन्ना यही स्थलमा भेटेको थिएँ । त्यसमा नेपाली अक्षरमा हिन्दुपति राजा, दोशयन्ती रानी र औलिया बाबाका बारेमा लेखिएको थियो । डाँडामाथिको दरबारबाट राजा कोसीमा नुहाउन जाने र फर्किएपछि औलिया बाबासँग लामो छलफल गरेर बस्ने गरेको वर्णन गरिएको थियो ।’ बराहक्षेत्रको औलियामठ १८२१ सालमा स्थापना भएको मानिन्छ ।

उक्त पन्नामा रानीले दरबारआसपासको बगैंचामा अमृत गाछी रोपेको, केही पर फूलबारी बनाएको र त्यहाँ राजारानीले घुमफिर गर्ने गरेको उल्लेख भएको दाहालले बताए । ‘यो पुरातात्त्विक ऐतिहासिक स्थलबारे न पूर्वका लिम्बुवानका विज्ञले केही उल्लेख गरेका छन् न त मल्ल, शाह र राणाका इतिहास लेख्नेले लेखेका छन्,’ उनले भने ।

चावाचावासी ढकबहादुर बोगटीका अनुसार केही वर्षअघि त्यहाँ पाँच फुट अग्ला पर्खाल, तोपका गोला र साना तोप पनि थिए । ‘हात्ती बाँध्ने फलामको साङ्लो, रातो र कलेजी रंगको प्वालोको माला, झिंगटी घर बनाउँदा प्रयोग हुने खपटा अझै भेटिन्छन्,’ उनले भने । एक महिनाअघि मात्र दरबारको भग्नावशेषमा एक फुटको शिवमूर्ति फेला परेको थियो तर अहिले बेपत्ता छ । अर्का स्थानीय ७३ वर्षीय भीमबहादुर दाहालको अनुमानमा दरबार क्षेत्रनजिकै चिहान पनि रहेकाले यो किरात राई समुदायको पुरानो बस्ती हुन सक्छ । लालकोटमा सुन–चाँदीका सिक्काले भरिएका १४ वटा घैला फेला परे पनि सबै चोरी भइसकेका छन् ।

इतिहासका जानकार अर्जुनबाबु माबुहाङका अनुसार उक्त दरबारको भग्नावशेष हरिहर सेनको हुन सक्छ । लालीगुराँस नगरपालिकाका प्रमुखसमेत रहेका उनले भने, ‘यो पाल्पाका सेनराजा मणिमुकुन्दका वंश हरिहर सेनको दरबार हुनुपर्छ । कालान्तरमा यो दरबार भग्नावशेषमा सिमित भयो । यिनै सेनराजाहरूले पहिलोपटक हिन्दुमत धारण गरेकाले हिन्दुपति राजाको दरबार भनिएको हो ।’ उनले सरकारले ऐतिहासिक तथा पुरातात्त्विक क्षेत्रको सीमांकन गरी गुरुयोजना बनाएर संरक्षण गर्नुपर्ने सुझाव दिए ।

प्रकाशित : वैशाख २८, २०७६ ०७:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?