२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

नेटवर्किङ व्यवसाय गर्ने १२ भारतीय पक्राउ

जनकराज सापकोटा

काठमाडौँ — प्रहरीले अवैध नेटवर्किङ व्यवसायमा संलग्न १२ भारतीय नागरिकलाई पक्राउ गरेको छ । साइन ग्रुपका नाममा अवैध नेटवर्किङ व्यवसाय चलाइरहेका उनीहरूलाई प्रहरी परिसर काठमाडौंले शुक्रबार पक्राउ गरेको हो । 

पक्राउ परेकामा साइन ग्रुपको प्रमुख कार्यकारी निर्देशक बताउने नयाँदिल्ली घर भएका रसिद नसिम, भारतको इलाहबादका अजितकुमार सिंह र मोहमद सारजिल, छत्तिसगढका निरजकुमार मिश्र, गिरीश उपाध्याय र आयुष उपाध्याय, उत्तरप्रदेश घर भएका अशोक कुमार र रमेश रामा, उत्तर प्रदेशकै सुनिल उपाध्याय र कासिफ सकिल, बैंग्लोर घर भएका महेन्द्र सिंह र ठेगाना प्रस्ट नभएका भारतीय नागरिक गजेन्द्र कुमार छन् ।


उनीहरूले नेटवर्क विस्तार गर्न भन्दै एक सय ७० जना भारतीयसहित करिब तीन सयलाई तालिम दिँदै थिए । यो समूहले दुबईमा प्रधान कार्यालय तथा भारतको लखनउ, हङकङ र मौरिससमा शाखा कार्यालय रहेको बताउँदै पिरामिड शैलीको नेटवर्क व्यवसाय विस्तार गर्न खोजेको प्रहरीको दाबी छ । अभिमुखीकरण शैलीको कार्यक्रममा १२ सय ५० डलर जम्मा गरेर खाता खोल्न सकिने, जसमा कम्पनीले त्यति नै रकम थप गरिदिने र ६ महिनापछि क्रेडिट कार्ड पाइने बताइएको थियो ।


आफ्नो खातामा २५ सय डलर जम्मा भएपछि प्रत्येक महिना ५ प्रतिशत र नयाँ सदस्य बढाउन सके १५ प्रतिशतसम्म कमिसन पाइने प्रलोभन देखाइएको थियो । प्रहरी परिसर काठमाडौंका प्रवक्ता होबिन्द्र बोगटीले कम्पनीले बताएअनुसार दुबईमा मुख्यालय रहेको तथ्य झूटो रहेको बताए । कम्पनीको वेबसाइटमा पनि यसबारे भरपर्दो तथ्य भेटिँदैन ।


प्रहरीका अनुसार बाजुरा र ललितपुरको सातदोबाटो पनि घर भएको बताउने महेन्द्र सिंहले साइन ग्रुपको नेपाल कनेक्सनको काम गरेको देखिन्छ । अनुसन्धानमा संलग्न प्रहरीका अनुसार सिंहले नेटवर्क विस्तार गरेर लाखौं कमाउन सकिने लोभ देखाएर सुदूरपश्चिमका धेरै मान्छेलाई ग्रुपको सदस्य बनाउने प्रक्रिया सुरु गरेका थिए । प्रहरी परिसर काठमाडौंमा मात्रै यो समूहले नेटवर्क व्यवसायका नाममा १ करोड ६० लाख रुपैयाँ ठगी गरेको भन्दै तीन जनाले उजुरी दिएका छन् ।


कम्पनीको प्रमुख कार्यकारी निर्देशक बताउने रसिद नसिम यही कार्यक्रम गर्न तीन दिनअघि नै प्रतिदिन झन्डै दुई लाख पर्ने हयात होटलको प्रेसिडेन्सियल सुइट बुक गरेर बसेका थिए । केही महिनाअघि मात्रै भारतको लखनउमा हाउजिङ कम्पनीको सुविधा दिने भन्दै रसिदले प्रचारप्रसार गरेको देखिन्छ ।


साइट सिटीका नाममा रसिदले ठगी धन्दा चलाएको बारे युटयुबमा कैयन् भिडियो सामग्री पनि भेटिन्छन् । आफ्नो भव्य व्यक्तित्व देखाउन रसिद भारतबाटै मगाएका दुई क्यामेरामेन अगाडि लगाउँदै सय/पचास मान्छेका साथमा हिँड्ने गरेका थिए । 'रसिदले आफूलाई सान सौकतवाला देखाउन कुनै कसुर बाँकी राखेको देखिन्न,' डीएसपी बोगटीले भने । कार्यक्रममा सहभागी हुन भन्दै भारतबाट आएका धेरैजसो विभिन्न व्यापार र व्यवसायमा संलग्न देखिन्छन् । ती सहभागीहरू याक एन्ड यती, अन्नपूर्ण र मेरियट होटलमा बस्न तीन दिनका लागि कोठा बुक गरेको देखिन्छ ।


प्रहरीका अनुसार संगठन विस्तारको सुरुवातमै प्रहरीले हस्तक्षेप गरेकाले नेटवर्कको ठगी पासोमा धेरै जना नपरिसकेको प्रहरीको अनुमान छन् । डीएसपी बोगटीले १५ जनाजतिले खाता नै खोलेर केही रकम जम्मा गरिसकेको अनुमान रहेको बताए । उनले भने, 'खाता खोलेर पैसा जम्मा गरेकाहरूलाई निवेदन दिन सार्वजनिक अपिल गर्ने तयारीमा छौं ।'


डीएसपी बोगटीले यो घटनामा राजस्व अनुसन्धान र राष्ट्र बैंकले पनि चासो दिएको बताए । 'अवैध नेटवर्क विस्तार भए करोडौं रुपैयाँ विदेशिने खतरा थियो, धन्न सुरुमै हस्तक्षेप गर्न सकियो,' उनले भने । एकैचोटिमा लाखौं रुपैयाँ आम्दानी गर्ने प्रलोभन देखाएर अभिमुखीकरण कार्यक्रममा पुगेका केही नेपालीले भने घरघडेरी नै बेचेर पनि रकम जम्मा गर्न तयार भएको डीएसपी बोगटीले बताए । उनले भने, 'केहीले खाता नै खोलेर रकम जम्मा गर्ने अन्तिम तयारीमा थिए ।'

प्रकाशित : वैशाख २९, २०७६ ०७:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?