कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

भूमाफियाले हडपे ६ बिघा

भरत जर्घामगर

सिरहा — मालपोत र नापी कर्मचारीको सेटिङमा किर्ते कागजात बनाएर जिल्लाका सार्वजनिक तथा निजी जग्गा हडप्ने क्रम तीव्र देखिएको छ । चोहर्वा, मिर्चैया नगरपालिकाका ७ र ९ नम्बर वडा, हकपारा, बेलहा र बङ्ठयाका जग्गा किर्ते गरिएका छन् । ती स्थानका ६ बिघा ६ कट्ठा जग्गा भूमाफियाले आफ्नो नाममा ल्याएका हुन् । 

भूमाफियाले हडपे ६ बिघा

पूर्वपश्चिम राजमार्गसँग जोडिएको गोलबजार नगरपालिका-९ स्थित वन क्षेत्रको २ बिघा ७ कट्ठा १५ धुर जग्गा व्यक्तिका नाममा दर्ता भएको प्रमाण नगरपालिकाले फेला पारेको छ । तत्कालीन सुकुम्बासी जिल्ला समितिबाट २०५८ असार २० मा गोलबजार-५ का फौजबहादुर भट्ट क्षत्रीका नाममा उक्त जग्गा जग्गाधनी दर्ता स्रेस्ता कायम भएको थियो ।


कित्ता नम्बर १२२ को उक्त जग्गा किर्ते गरेर २०७४ कात्तिक १३ मा सिरहाअर्नामा गाउँपालिका-५ कृष्णपुरकी अनितादेवी साह र लहान नगरपालिका-८ की वीणाकुमारी चौधरीको संयुक्त नाममा दर्ता गराइएको थियो । कित्ताकाटका क्रममा कित्ता नंं. ४१९ को एक कट्ठा आठ धुर पूर्वपश्चिम राजमार्गमा परेको थियो । बाँकी कित्ता नं. ४२० मा २ बिघा ७ कट्ठा १५ धुर परेको थियो । राजमार्गमा परेको जग्गासमेत भूमाफियाले आफ्नो नाममा कायम गराएका छन् ।


जंगलको जग्गा व्यक्तिका नाममा स्रेस्ता कायम भएपछि गोलबजार नगरपालिकाले बदरका लागि जिल्ला अदालतमा निवेदन हालेको छ । सुकुम्बासी लालपुर्जा बनाएका फौजबहादुर, किर्ते गरेर जग्गा किन्ने अनितादेवी र वीणाकुमारी चौधरी, सुकुम्बासी जिल्ला समाधान समिति सिरहा र समितिका तत्कालीन अध्यक्ष रजाक राइनलाई विपक्षी बनाएर मुद्दा दायर गरिएको गोलबजार नगर प्रमुख देवनाथ साहले जानकारी दिए ।


राजमार्गछेउको उक्त जग्गा हाल ५० करोड रुपैयाँभन्दा बढी पर्ने स्थानीयको भनाइ छ । त्यस्तै बेलहा-९ को १ बिघा १७ कट्ठा साढे १२ धुर र हकपारा-९ को १४ कट्ठा -कम्प्युटर अभिलेखमा ८ कट्ठा) समेत २ बिघा ११ कट्ठा साढे १२ धुर जग्गा व्यक्तिका नाममा कायम भएको छ ।


ती जग्गा नापी कार्यालयबाट चार महिनादेखि नक्सा गायब गर्दै केरमेट गरी कित्ता नम्बर हेरफेर गरेको र काल्पनिक बाटो सिर्जना गरिएको पाइएको जिल्ला प्रशासनले जनाएको छ । त्यसैगरी हकपारा-९ बङठियास्थित कित्ता नं. ८१ को १४ कट्ठा सरकारका नाममा आएको र रामदयाल महतोको नाममा स्रेस्ता खडा गरिएको पाइएको जिल्ला प्रशासनले जनाएको छ ।


२१ बिघा सरकारको नाममा कायम

यसैबीच जिल्ला प्रशासन कार्यालयले लहान नगरपालिका-१९ स्थित साबिक सोनमती मझौरा-८ को मायादेवी थापा क्षेत्रीको नामको २० बिघा साढे १९ कट्ठा अपुतालीको जग्गा १८ वर्षपछि सरकारको नाममा कायम गरेको छ ।


२०५७ पुस १३ गते तत्कालीन प्रजिअ चन्द्रबहादुर कार्कीले २०३३ सालमा मायादेवी क्षत्री 'मरेको भन्ने बुझिएको' र 'नामसारी गर्न पनि कोही नआएको' भन्दै उक्त जग्गा सरकारको नाममा आएको निर्णय गरेका थिए । तर मायादेवी जिउँदै रहेको भन्दै जग्गामा दाबीसहित सर्वोच्च अदालतमा रिट पर्‍यो ।


सर्वोच्चले २०६१ मंसिर २० र २०६६ भदौमा गरी दुईपटक 'मायादेवी मरेको हो, होइन ? वास्तविक हकदार को हो ?' बुझेर निर्णय गर्नु भनी जिल्ला प्रशासनलाई उत्प्रेषणको आदेश दियो । जग्गा सरकारको नाममा हुने भनी तत्कालीन प्रजिअ कार्कीले गरेको निर्णय खारेज पनि गरिदियो ।


सर्वोच्चको आदेश आए पनि वास्तविक हकदार खोज्न प्रजिअले तदारुकता नदेखाएका कारण उक्त विषय गौण रहँदै आएको थियो । यसबीच आफूलाई मायादेवी भनेर हकदाबी गर्ने चार जनाको निवेदन जिल्ला प्रशासनमा परिसकेको थियो ।


अहिलेका प्रजिअ रुद्रप्रसाद पण्डितले जिल्लामा आएदेखि नै थाती रहेको पुराना फाइल पल्टाउँदै जाने क्रममा उक्त जग्गाको वास्तविक हकदार खोज्न सुरु गरे । लामो अनुसन्धानपछि उनले जग्गा काठमाडौं, नक्सालका गम्भीरजंग थापाबाट उनका छोरा प्रकाशजंग, प्रकाशजंगबाट उनका छोरा अशोकजंग थापा हुँदै मायादेवी थापा क्षत्रीको नाममा सारिएको फेला पारे । 'मायादेवी क्षत्री अशोकजंग थापाको घरमा कामदार रहिछन्,' उनले भने, '२०२१ सालमा भूमिसम्बन्धी ऐन बनेपछि थापा परिवारले हदबन्दी लाग्ने डरले क्षत्रीको नाममा जग्गा नामसारी गराइदिएका रहेछन् ।'


अनुसन्धानमा मायादेवीको वास्तविक थर लामा भएको पत्ता लाग्यो । उनी तत्कालीन पूर्व १ नं. काभ्रेपलाञ्चोक गोठपानीका दावाध्वजकी नातिनी र सोमध्वज लामाकी छोरी थिइन् । थापा परिवारको जग्गा लुकाउने प्रपञ्चमा उनी 'मायादेवी थापा क्षत्री' भएकी थिइन् । त्यसैअनुसार नक्कली नाता सम्बन्धबाट नागरिकता पनि बनाइयो ।


२०३८ चैत १४ गते काठमाडौं जिल्ला अदालतबाट प्रमाणित अधिकृत वारेसनामामा मायादेवीको बाबु-बाजे फरक देखिएको, सो कागजमा गरेको ल्याप्चे सहीछाप र प्रकाशजंगकी छोरी भई प्राप्त गरेको नेपाली नागरिकता प्रमाणपत्रमा रहेको ल्याप्चे एकै व्यक्तिको भएको राष्ट्रिय विधि विज्ञान प्रयोगशालाबाट खुल्न आयो । सोही बेहोरा अशोकजंगले जिप्रका सिरहामा गरेको बयानमा बताएपछि नक्कली नागरिकता र जग्गाधनीको भन्डाफोर भएको हो ।


'अविवाहित अवस्थामै २०६० वैशाख २७ गते वास्तविक मायादेवीको मृत्यु भएको र त्यसपछि पनि १५ वर्ष बितिसकेकाले जग्गा सरकारको नाममा अपुताली कायम भयो,' प्रजिअ पण्डितले भने । यसका लागि मायादेवी क्षत्रीको नाममा जारी नागरिकता खारेजी प्रक्रियासम्म जानुपरेको उनले बताए । जिल्ला प्रशासन काठमाडौंबाट 'मायादेवी थापा क्षत्री' को नाममा २०५९ असार ७ गते जारी नागरिकता (१६६९९) मा बुबाको नाम प्रकाशजंग थापा क्षत्री उल्लेख छ ।

प्रकाशित : वैशाख २९, २०७६ ०८:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?