कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रोग पत्ता नलागेपछि फर्किए बिरामी

डिल्लीराम खतिवडा

उदयपुर — सामान्य हिँड्डुलदेखि खाना खान र शौच गर्नसम्म नसक्ने अवस्थामा पुगेका रौतामाई-६, नामनताका मगर समुदायका बिरामीको स्वास्थ्य समस्या अझै पहिचान हुन सकेको छैन ।

प्रदेश १ सरकारले प्रदेेश राजधानी विराटनगर लगेर जाँच गराए पनि रोग पत्ता नलागेपछि उनीहरू घर फर्किएका छन् । उनीहरूको रगतलगायत नमुना परीक्षणका लागि विदेश पठाउने तयारी भइरहेको जनस्वास्थ्य कार्यालयले जनाएको छ ।


यस्तो लक्षणबाट ग्रस्त उक्त गाउँका ४१ वषर्ीय दुर्गाबहादुर समालमगरको मृत्यु भइसकेको छ । अरू ८ जना सिकिस्त छन् । उनीहरूमा शरीर थरथरी काम्ने, हातखुट्टा राम्ररी चलाउन नसक्ने, मुखबाट र्‍याल आइरहने, आवाज कम हँुदै गएर बोल्नै नसक्ने जस्ता लक्षण देखिएको छ । बिरामीलाई साताअघि उदयपुर जिल्ला अस्पतालमा प्रारम्भिक उपचारपछि विराटनगरस्थित न्युरो अस्पताल लगिएको थियो । न्युरोका नसा रोग विशेषज्ञको टिमले बिरामी सबैको रगत, दिसापिसाब, खकार, मुटु, मिर्गौला, नसालगायत परीक्षण गर्दासमेत रोग पत्ता नलागेकाले घर फर्काएको आफन्तले बताए ।


'यहाँ रोग पत्ता नलागेकाले बिरामीको रगत, खकारलगायत अन्य नमुना संकलन गरेर विदेश पठाउने तयारी भइरहेको छ,' जनस्वाथ्य कार्यालय उदयपुरका प्रमुख रमेश खकुरेलले भने । स्थानीय ७० वर्षीय डम्बरबहादुर समालमगर, ६४ वर्षीय जानुमाया समालमगर, ३१ वषर्ीय बलबहादुर समालमगर, तुलबहादुर समालमगर, हीरा समालमगर, लैया समालमगर, ललिमाया समालमगर, पुष्प समालमगर र जानुमाया मगर जोखिममा छन् ।


यस्तै रोगका करण दुर्गाबहादुरको मृत्यु भएको रौतामाई ६ का वडासदस्य तुलबहादुर थापामगरले बताए । सिकिस्त बिरामीमध्ये डम्बरबहादुरको अवस्था नाजुक छ । खाना खान, हातमुख धुनदेखि शौचालय जान ६७ वषर्ीया श्रीमती पदममायाको भर पर्नुपरेको छ । 'रोग लाग्नुअघि सिंगै रूख बोक्न सक्थे,' पदममायाले भनिन्, 'पहिले ढुंगामाटोको घर निर्माण र काठको काम गर्थे ।'


बोलचालसमेत गर्न नसक्ने डम्बरबहादुर आफैं खाना खान सक्दैनन् । उनका दुवै हात मुखसम्म पुग्दैनन् । खुट्टा राम्रोसँग चल्दैनन् । मुखबाट र्‍याल चुहिरहन्छ । भोक लागेका बेला भात दे भन्नेबाहेक डम्बरबहादुरले केही बोल्न नसक्ने पदममायाले बताइन् ।

यसअघि देवीदेवता लागेको भन्दै धामीझाँक्रीको भर परेका पीडितले त्यसैमा दुई/अढाई लाख रुपैयाँ खर्चेको बताए ।


'धामीझाँक्रीले वायु लागेको भन्दै झारफुक गरेको भरमा बस्दा अहिले अवस्था गम्भीर भयो,' डम्बरबहादुरका नाति कृष्णबहादुर समालमगरले भने, 'उमेर बूढो हुँदै गयो, रोगले पनि धेरै च्याप्दै गयो ।' सामान्य झनझनाउँदै गर्दा अहिले पूरै कामछुट्न थालेको अर्का पीडित बलबहादुरले बताए । 'झन्डै ३ लाख रुपैयाँ झारफुकमा सकिँदा पनि सञ्चो भएन,' उनले भने ।

प्रकाशित : वैशाख २९, २०७६ ०८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?