२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

एनओसी सूचना प्रवाहमा आलटाल

सुरेशराज न्यौपाने

नयाँदिल्ली — भारतीय विमानस्थल हुँदै तेस्रो मुलुक जान नयाँदिल्लीस्थित नेपाली दूतावासबाट जारी 'नो अब्जेक्सन सर्टिफिकेट' (एनओसी) अनिवार्य गरिए पनि सूचना जारी गर्न दूतावास र परराष्ट्रले बेवास्ता गरेका छन् । यसले गर्दा नेपालीले दिनहुँ सास्ती र तनाव खेप्नुपरेको छ । 

तीन साताअघि सुरभी आचार्यले त्यस्तै तनाव खेपिन् । अमेरिकामा बस्दै आएकी आचार्य पारिवारिक कामका लागि मुम्बई आएकी थिइन् । केही समयको बसाइपछि दुई साताअघि एयर इन्डियाको विमानबाट अमेरिकाको न्युजर्सीको नेवार्क जाने तय भयो । राति १ः३० को उडान थियो । उनीसँग एनओसी नभएका कारण एयर इन्डियाले उनलाई उडाउन मानेन । मध्यरातमा तीन वर्षीय छोरालाई लिएर एयरपोर्टबाट बाहिरिनुपर्‍यो । टिकट पछि सार्नुपर्‍यो । त्यसका लागि अतिरिक्त खर्चसमेत गर्नुपर्‍यो । मानसिक तनाव त कति कति ।


त्यस्तै करिब तीन साताअघि दिल्लीस्थित अल इन्डिया इन्स्िटच्युट अफ मेडिकल साइन्स (एम्स) एमडी अध्ययनरत एक नेपाली डाक्टरले त्यस्तै तनाव ब्यहोर्नु पर्‍यो । उनी पारिवारिक भेटका लागि जापान जान राति साढे १० बजे दिल्लीस्थित इन्दिरागान्धी अन्तर्राष्ट्रिय विमानस्थल पुगिन् । त्यहाँ पुगेपछि मात्र उनलाई भारतबाट तेस्रो मुलुक उड्न एनओसी अनिवार्य भएको थाहा भयो । उनले जति हारगुहार गर्दा पनि विमान कर्मचारीले बोर्डिङ पास दिएनन् । राति १ बजेको उडान भएकाले जसोतसो दूतावासबाट एनओसी मगाएर उड्न पाए पनि त्यतिबेला भोगेको तनाव बिर्सनलायक बन्यो ।


भारतका विभिन्न सहरबाट तेस्रो मुलुक उड्न खोज्ने नेपालीले यस्तै सास्ती व्यहोरेका छन् । दूतावास र परराष्ट्रले प्रस्ट सूचना जारी नगर्दा विदेश भ्रमण, अध्ययन तथा परिवारिक भेटलगायतका प्रयोजनका लागि विदेश जाने नेपालीले अनावश्यक तनाव व्यहोर्दै आएका छन् । यसको मारमा अमेरिका, बेलायत, अस्ट्रेलियालगायत मुलुकमा अध्ययन गर्न जाने विद्यार्थीसमेत परेका छन् ।


भारतको बाटो हुँदै अवैध रूपमा वैदेशिक रोजगारीमा जाने क्रम बढेपछि नेपाल सरकारले असोज २०६६ मा मन्त्रीस्तरीय निर्णय गर्दै साधारण राहदानी वाहकलाई साउदी अरेबिया, कुवेत, ओमान, बहराइन, कतार, कुवेत, यूएई, मलेसिया र लेबनान जान रोक लगाएको थियो ।


परराष्ट्र मन्त्रालयको त्यही निर्णयका आधारमा नयाँदिल्लीस्थित नेपाली दूतावासले भारतको परराष्ट्र मन्त्रालयलाई यहाँको अध्यागमन कार्यालय, एयरपोर्ट अथोरिटीलगायत निकायलाई पत्राचार गरेको थियो । उक्त पत्रमा ती नौवटा मुलुक जान खोज्ने नेपाली नागरिकलाई नेपाली दूतावासको एनओसीबिना भ्रमण अनुमति नदिन आग्रह गरिएको थियो । तर, मानव तस्करीको सन्जालले आकर्षक रोजगारीको प्रलोभनमा पारेर नेपाली युवालाई ती नौबाहेकका मुलुकको रुट हुँदै विभिन्न गन्तव्यमा पठाउने क्रम बढेपछि एक वर्षदेखि भारतले सबै गन्तव्यका लागि एनओसी अनिवार्य गरेको हो ।


दिल्लीस्थित दूतावासले नेपालीका समस्याबारे भारतीय पक्षसँग छलफल भइरहेको जवाफ दिने गरेको छ । अनौपचारिक कुराकानीमा दूतावासका केही उच्च अधिकारीहरू त्यस्तो सूचना जारी गर्दा त्यसले नेपाल-भारतसम्बन्धमा नै असर पर्ने तर्क गर्ने गरेका छन् ।


गत पुसमा दिल्ली भ्रमणमा आएका परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले पनि त्यस्तै संकेत गरेका थिए । दिल्लीस्थित प्रवासी नेपालीहरूसँगको भेटमा उनले एनओसीका कारण समस्या भए उल्टो नेपालबाटै तेस्रो मुलुक उडान भर्न आग्रह गरेका थिए । यसबाट पनि उच्च अधिकारीहरू गम्भीर नरहेको प्रस्ट हुन्छ ।


दिल्लीस्थित नेपाली दूतावासका प्रवक्ता हरि ओडारीले यस विषयमा थप जानकारीका लागि माथिल्लो तहमा सम्पर्क गर्न आग्रह गरे । 'सूचना जारी भएको छैन, अरू थप जानकारीका लागि माथिल्लो तहमा सम्पर्क गर्नुहोला,' उनले भने । बैंककस्थित दूतावासले दुई साताअघि मात्र थाइल्यान्ड, ब्रुनाई, कम्बोडिया, लाओस, सिंगापुर र भियतनाम बस्दै आएका नेपालीले भारतीय विमानस्थलबाट फर्किनुपरेको अवस्थामा एनओसी चाहिने हुँदा त्यसका लागि आवेदन दिन आग्रह गर्दै सूचना जारी सकेको छ ।

प्रकाशित : वैशाख ३०, २०७६ ०७:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?