आगलागीपीडित चौरमा

विप्लव महर्जन

सल्यान — वनमा लागेको डढेलो बस्तीमा पसेपछि घरवारविहीन बनेका छत्रेश्वरी गाउँपालिका ६, रामकाँडाका पीडित खुला चौरमा बस्न बाध्य छन् । ३ दिनदेखि सामुदायिक वनमा लागेको आगो अझै नियन्त्रणमा आएको छैन । डढेलो बस्तीमा पसेपछि १० घरगोठ नष्ट भएका छन् ।

डढेलो नियन्त्रणका लागि नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दा सक्रिय छन् । वैकल्पिक व्यवस्था नहुँदा र अन्य आफन्तका घरहरूसमेत आगलागीको जोखिम रहेकाले चौरमा बस्न बाध्य भएको पीडित टुल्कबहादुर राना बताउँछन् । उनका अनुसार चौरतिर डढेलो लागेकाले चौरको बसाइसमेत असुरक्षित बनेको छ ।


आगलागीबाट घरमा भएको सबै सामग्री जलेकाले एकसरो लुगाको भरमा चौरमा बस्नुपरेको अर्का पीडित जितबहादुर रानाले बताए । 'रातिको समयमा हावाहुरी चल्ने भएकाले राम्ररी सुत्न सकेका छैनौं,' उनले भने, 'दिउँसो आगो निभाउन जंगलमा जाने र राति जाग्राम बस्ने गरेका छौं ।' डढेलोले केही ठाउँमा खानेपानीको पाइप पनि जलेको छ ।


स्थानीय इन्द्रेणी सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा ६५ वषर्ीया पेन्टी बोहराको शुक्रबार मृत्यु भएको थियो । आगलागीमा दुई जना सख्त घाइते भएका छन् ।


अहिले पातहाल्ना सामुदायिक वन लक्ष्मीपुर, च्युरेनेटी सामुदायिक वन मधना, पीपलचौतारी सामुदायिक वन पैयाखर्क, साहुखोला सामुदायिक वन फलाबाङ, चन्द्रपाला सामुदायिक वनलगायत ६० हेक्टरमा डढेलो लागेको डिभिजन वन प्रमुख थिरबहादुर कार्कीले बताए । स्थानीयले घाँस राम्रो हुने लोभले वनमा आगो लगाउने गरेको उनको भनाइ छ ।


थप एकको मृत्यु

शारदा नगरपालिका ९, दुबेरीचौरका ६२ वर्षीय गोवर्द्धन बुढा सामुदायिक वनमा मृत फेला परेका छन् । घरबाट ५ दिनदेखि हराएका उनी कापलनेटी सामुदायिक वनमा जलेको अवस्थामा भेटिएका हुन् । वनमा लागेको डढेलोका कारण जलेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक पञ्चलाल गोलेले बताए । गोलेका अनुसार डढेलोका कारण उनको शरीरका अधिकांश भाग जलेको छ ।


पीडित परिवारलाई राहत

जिल्ला प्रशासन कार्यालय र छत्रेश्वरी गाउँपालिकाले डढेलोमा परेर मृतक र घर जलेका १० परिवारलाई राहत वितरण गरेका छन् । गाउँपालिकाले तत्कालका लागि मृतक बोहराका परिवारलाई २५ हजार र आगलागीमा घाइते भएका खगेन्द्र बोहरालाई ८ हजार रुपैयाँ प्रदान गरिएको जनाएको छ । त्यस्तै आगलागीमा घरवारविहीन भएका परिवारलाई ४ देखि ७ हजारका दरले राहत रकम वितरण गरेको गाउँपालिका अध्यक्ष सन्तोष केसीले बताए ।


त्यस्तै स्थानीय प्रशासनले मृतक परिवारलाई २० हजार र घर नष्ट भएका परिवारलाई ५ हजार रुपैयाँ राहत वितरण गरेको प्रमुख जिल्ला अधिकारी चूडाराज न्यौपानेले जनाए । उनका अनुसार तत्कालका लागि पीडित परिवारलाई पाल, लत्ताकपडा, भाँडाकुँडालगायत प्रदान गरिएको छ ।

प्रकाशित : वैशाख ३०, २०७६ ०७:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?