१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

रसुवाको टिमुरेमा सुख्खा बन्दरगाह निर्माण गर्न सम्झौता

बलराम घिमिरे

रसुवा — टिमुरेमा सुख्खा बन्दरगाह निर्माण गर्नको लागि आइतबार सम्झौतापत्रमा हस्ताक्षर भएको छ । इन्टरमोडल यातायात विकास समिति र चिनियाँ निर्माण कम्पनीबीच सुख्खा बन्दरगाह निर्माण सम्झौतापत्रमा आइतबार हस्ताक्षर भएको इन्टरमोडल यातायात विकास समितिका सिभिल इन्जिनियर प्रमोद आचार्यले बताए । 

रसुवाको टिमुरेमा सुख्खा बन्दरगाह निर्माण गर्न सम्झौता

‘अबको एक महिना भित्र निर्माणको काम सुरु हुन्छ,’ उनले भने । सुख्खा बन्दरगाह निर्माण गर्न चीन सरकारका तर्फबाट तिब्बत फूली कन्स्ट्रक्सन ग्रुप कम्पनी लिमिटेड छनोट भएको छ । नेपाल सरकारका तर्फबाट नेपाल इन्टरमोडल यातायात विकास समितिका उपनिर्देशक हरेकृष्ण मिश्र र निर्माण कम्पनीका तर्फबाट प्रोजेक्ट मेनेजर याङ्ग इनलिनले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।


द आर्किटेक्चरल रिकोनाइसेन्स एण्ड डिजाइन इन्स्टिच्युट अफ टिबेट अटोनोमस रिजन कम्पनीले टिमुरेमा निर्माण हुने सुख्खा बन्दरगाहको लागत अनुमानसहितको फाइनल डिजाइन तयार पारेको हो । लगत अनुमान सहितको फाइनल डिजाइन तयार गर्नको लागि चीनको छेन्दुमा नेपाल सरकार र चीन सरकार बीच सन् २०१८ जनवरी १५ मा डिजाइन पत्र स्वीकृत गरी हस्ताक्षर भएको थियो ।


चीन सरकारको सहयोगमा निर्माण हुन लागेको यो सुख्खा बन्दरगाह उत्तरी नाकामा दोश्रो हो । नेपाल र चीन बीच हुने दुई पक्षीय तथा अन्तर्राष्ट्रिय व्यापार सहजीकरण गर्नका लागि रसुवाको टिमुरेमा सुख्खा बन्दरगाह निर्माण हुन लागेको हो । टिमुरेमा बन्ने सुख्खा बन्दरगाह आधुनिक सुविधा सम्पन्न अन्तर्राष्ट्रिय स्तरको हुने छ ।

सुख्खा बन्दरगाह रसुवागढी नाकाबाट साढे दुई किलोमिटर वर टिमुरेमा निर्माण हुने छ । बन्दरगाह निर्माणमा चीन सरकारको आर्थिक र प्राविधिक सहयोग हुने छ । सुख्खा बन्दरगाह निर्माणको लागत करिब १२ करोड ४० लाख चिनियाँ युआन रहेको छ । निर्माण कार्य सुरु गरेको ३० महिनामा सम्पन्न गर्ने चीनियाँ निर्माण कम्पनीले बताएको छ ।


नेपाल र चीनबीच भएको सम्झौता अनुसार चीनियाँ पक्षले सुख्खा बन्दरगाह निर्माण गरी नेपाल सरकारलाई हस्तान्तरण गर्ने छ । चीन सरकारले सन् २०१४ मा बन्दरगाह बनाउन प्रारम्भिक सहमति जनाएको थियो । बन्दरगाह ८.५ हेक्टर क्षेत्रफलमा निर्माण हुने छ ।


संरचना निर्माणका लागि लाङटाङ राष्ट्रिय निकुञ्जबाट ५ र सर्वसाधाणको ३.५ हेक्टर जमिन अधिग्रहण गर्ने काम भइसकेको छ । उक्त बन्दरगाहमा ५ हजार स्क्वायर वर्गमिटरको सुविधा सम्पन्न ५ तले जांचपास भवन निर्माण हुने छ । भवनमा भन्सारको लागि अफिस र क्वाटरसहितको दुवै सुविधा हुने छ ।


त्यसमा प्रशासनिक कार्यकक्ष, क्वारेनटाइन, बैंक, ल्याब, सुरक्षालगायतका कार्यालयहरू रहने छन् । बन्दरगाहमा ३ सय ५० भन्दा बढी ट्रक तथा कन्टेनरहरू राख्न सकिने पार्किङ स्थल निर्माण हुने आचार्यले बताए । ‘२ वटा जांचपास कक्ष, कार्गो गोदाम, लिटिगेशन गोदामसहितको आधुनिक सुविधा सम्पन्न सुख्खा बन्दरगाह निर्माण हुने छ,’ उनले भने ।


रसुवागढी नाका हुँदै चीनबाट आयात हुने वस्तु यसै बन्दरगाह मार्फत नेपाल भित्रिने छ । चीनले पनि आफ्नो भूभाग रसुवागढी नाकाबाट करिब ३० किलोमिटर टाढा केरुङमाथि पाङसिङमा आधुनिक बन्दरगाह निर्माण गर्ने बताएको छ । चीनको सिगात्सेदेखि केरुङसम्मको दूरी करिब ४ सय ५० किमि छ ।


चीनले सन् २०२३ सम्म केरुङलाई रेल सञ्जालबाट जोड्ने लक्ष्य राखेको छ । पछिल्लो समय चीनसंग स्थल मार्गबाट यहि नाका हुंदै व्यापार भइरहेको छ । चीनसँगको प्रमुख व्यापारीक नाका भएकाले यसको व्यावसायिक महत्व बढदै गएको छ ।


रेलबाट ल्याएको सामानलाई सीधै ट्रकमा लोड गरी सुख्खा बन्दरगाहमा ल्याएर आवश्यक प्रक्रिया पूरा गर्न सजिलो हुने हुने छ । रसुवागढी नाकाबाट स्याफ्रु, मैलुङ, त्रिशूली, गल्छी हुँदै दक्षिण एसिया जोड्ने सबैभन्दा छोटो रुटको सडक निर्माण गर्ने काम भइरहेको छ ।


प्रकाशित : वैशाख ३०, २०७६ १२:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?