कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

सहकारीको अर्को ठगी : सञ्चालक फरार, २ हजार जनाभन्दा बढीको २४ करोड फसेको अनुमान 

जनकराज सापकोटा

काठमाडौँ — बचतकर्ताको २४ करोडभन्दा धेरै रकम कुम्ल्याएर बूढानीलकण्ठको नयाँ सन्देश बचत तथा ऋण सहकारी लिमिटेडका मुख्य सञ्चालक फरार भएका छन् ।

सहकारीको अर्को ठगी : सञ्चालक फरार, २ हजार जनाभन्दा बढीको २४ करोड फसेको अनुमान 

साढे २१ प्रतिशत ब्याज पाइने प्रलोभन देखाएर सहकारीले सय दिने मुद्दती योजना ल्याएपछि बूढानीलकण्ठ नगरपालिका वडा नम्बर ३ र ५ लगायत वडाका बासिन्दाले करोडौं रुपैयाँ निक्षेप गरेका थिए । पीडितहरूका अनुसार कम्तीमा २ हजार जनाको रकम फसेको छ ।


सहकारीका सञ्चालकले ब्याज त परै जाओस् साँवासमेत फिर्ता दिन आलटाल गरेपछि निक्षेपकर्ताहरू रकम फिर्ताका लागि दौडधुपमा थिए । गत पुस १५ मा वडा नम्बर ५ का अध्यक्ष विजयकुमार तामाङ, सहकारीका अध्यक्ष सानु ठकुरी, उपाध्यक्ष राजकुमार ठकुरी र पीडितबीच बूढानीलकण्ठस्थित प्रहरी इकाईमा छलफलसमेत भएको थियो ।


वडाध्यक्ष तामाङका अनुसार उक्त छलफलमा सहकारीले ४५ दिनभित्र सबै निक्षेपकर्ताको रकम फिर्ता गर्ने सम्झौता गरेको थियो । कागजी भाका सकिएपछि पनि सहकारी सञ्चालकहरू सम्पर्कमा नआएपछि पीडितहरूले सोमबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा जाहेरी दिएका छन् ।


पीडितहरूका अनुसार फसेको रकम उठाउने नाममा टाठाबाठा पीडितहरूले भित्रभित्रै कुरा मिलाउन र आफ्नो मात्रै पैसा उठाउन लागिपरेका थिए । २०६५ पछि सानु ठकुरीको अध्यक्षतामा सञ्चालनमा आएको सहकारीले सात वर्षयता वार्षिक लेखापरीक्षण पनि नगरेको वडाध्यक्ष तामाङले बताए । आफ्नै दाइ, भाइ र भिनाजुको समेत सहकारीमा १३ लाख फसेको सुनाउँदै उनले भने, ‘फसेको रकम उठाउन अनेक प्रयत्न गर्‍यौं । अहिले त सञ्चालकहरू नै फरार भए ।’


वडाध्यक्ष तामाङले ब्याजको प्रलोभनमा सहकारीले सबैलाई फसाएको बताए । वडा नम्बर ३ का अध्यक्ष बालकृष्ण श्रेष्ठले आफ्नी श्रीमतीको पनि रकम फसेको हुन सक्ने बताए । स्थानीय जयबहादुर श्रेष्ठले आफ्नो ६ लाख फसेको सुनाए भने चण्डेश्वरी मानन्धरले दिदीबैनीको २३ लाख फसेको बताइन् । ‘आफ्नै पैसा निकाल्न दर्जनौं पटक प्रयास गर्‍यौं । सञ्चालक भागेको भाग्यै भए । ब्याज

त त्यस्तै हो, साँवा पनि गुम्यो,’ उनले भनिन् ।


स्थानीय बिन्दा माया तामाङले खाई नखाई गरेर जोगाएको चार लाख ७५ हजार फसेको सुनाइन् । स्थानीय बहादुर लामाले प्रशस्तै ब्याज पाइने सुनेपछि आफ्नो, श्रीमती र छोरीका नाममा खाता खोलेर सहकारीमा साढे २२ लाख जम्मा गरेका थिए । उनले भने, ‘सहकारीले सबैलाई डुबायो ।’ गलैंचा कारखानामा काम गरेर कमाएको १२ लाख गुमाएकी लालीमाया श्रेष्ठले भनिन्, ‘अब कसरी पैसा उठाउने ! ब्याज नभए पनि साँवा त चाहियो नि ।’


पीडितहरूका अनुसार सुरुका केही महिना सहकारीले भनेअनुसार नै ब्याज दिएपछि नयाँ नयाँ सदस्यले पनि रकम जम्मा गर्न थालेका थिए । कैयन् बचतकर्ताले ब्याजको रकम फेरि सहकारीमै ब्याजमा लगाएका थिए । चर्को ब्याजको लोभमा धेरै बचतकर्ताले परिवारका सबै सदस्यको नाममा खाता खोलेको देखिन्छ ।


स्थानीय कृति कौरले आफ्नो परिवारका ५ सदस्यको २८ लाख फसेको बताइन् । हरि ठकुरीको परिवारका ४ सदस्यले फरकफरक खाता खोलेर झन्डै २५ लाख जम्मा गरेका थिए । सहकारीका सचिव अविन परियारले सहकारीले रकम नठगेको र तिर्ने प्रक्रिया मिलाउन लागेको कान्तिपुरसँग दाबी गरे ।


‘सहकारीले झन्डै साढे १२ करोड रुपैयाँ ऋण प्रवाह गरेको छ,’ उनले भने, ‘ऋण नउठेकाले बचतकर्ताको रकम फिर्ता गर्न समय लागेको हो ।’ स्रोतका अनुसार ब्याजको प्रलोभनमा करोडौं रकम उठाएर सहकारी सञ्चालकले घरजग्गाको कारोबार गरेको देखिन्छ । सचिव परियारले पनि सहकारीले घरजग्गामा लगानी गरेको स्विकारे । सहकारी विभागका रजिस्ट्रार तोकराज पाण्डेका अनुसार ब्याजको प्रलोभन देखाएर रकम जम्मा गर्नु र त्यसलाई घरजग्गामा लगानी गर्नु गैरकानुनी हो ।


फितलो नियमन

फितलो नियमन र संस्थागत सुशासनको अभावमा सहकारी संस्था समस्याग्रस्त हुने र सर्वसाधारणको सम्पत्ति कुम्ल्याएर भाग्ने गरेका छन् । गत वर्षसम्म मुलुकभरबाट ८३ वटा सहकारी संस्था फरार रहेको सरकारी तथ्यांक छ । ती संस्थामा सर्वसाधारणको कति रकम डुबेको छ भन्ने यकिन तथ्यांक छैन । पीडितहरू अर्बौ रुपैयाँ फसेको बताउँछन् ।


फरार सहकारीमध्ये बहुसंख्यक बचत तथा ऋणसम्बन्धी छन् । तीमध्ये केही बहुउद्देश्यीय सहकारी भए पनि ती संस्थाले बचत तथा ऋणकै कारोबार गर्दै आएको जनाइएको छ । फरार सहकारीमध्ये सबैभन्दा धेरै काठमाडौं र ललितपुर जिल्लाका छन् ।


यसअघि सहकारीको नियमन सहकारी विभाग मार्फत हुने व्यवस्था थियो । मुलुक संघियतामा गएपछि अघिकांश सहकारी संस्था स्थानीय तहलाई सुम्पिइएको छ । सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापनका लागि ‘समस्याग्रस्त सहकारी व्यवस्थापन समिति’ गठन गरेको छ । यो समितिसँग रहेको समस्याग्रस्त सहकारीको सूचीमा ११ वटा मात्र संस्था छन् । समितिले ओरेन्टल सहकारी संस्थाको मात्र अध्ययन गरिरहेको छ ।

प्रकाशित : वैशाख ३१, २०७६ ०७:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?