हेलिकप्टरलाई पाइलट अभाव
काठमाडौँ — नेपाली हेलिकप्टर कम्पनीहरू सर्वाधिक ब्यस्त हुने समय हो वषन्तकालीन हिमाल आरोहण सिजन । अहिले हिमाल आरोहणमा उद्धार, सरसामग्री ओसारपसार लगायतका उडान हुन्छन् । नेपालमा दर्ता भएका १० वटा निजी हेलिकप्टर कम्पनीका ३० वटा हेलिकप्टर यतिबेला खुम्बु क्षेत्रतर्फ व्यस्त छन् ।
हेलिकप्टर सोसाइटी अफ नेपालका अनुसार लुक्लादेखी कालापत्थर, गोरक्सेप, फेरिचे, फाक्दिन र सगरमाथा आधार शिविरका लागि सबैभन्दा धेरै उडान भइरहेका छन् । ‘दिनमा १ सय ७६ वटासम्म उडान भए,’ सोसाइटीका महासचिव योगराज कँडेलले कान्तिपुरसँग भने, ‘दिनमा कम्तीमा ९० सम्म हेलिकप्टर उडान भइरहेका छन् ।’ नेपाली कम्पनीसँग पाइलट अभाव छ ।
यस वर्ष पनि ३० वटा हेलिकप्टर उडाउन २० जना विदेशी पाइलटहरू राखिएका छन् । विदेशीबाहेक ३६ जना नेपाली पनि उडानमा छन् । ‘अधिकांश विदेशी पाइलट तीन महिना करारमा काम गरेर फर्किन्छन्,’ हेलि एभरेस्टका सीईओसमेत रहेका कँडेलले भने । उनका अनुसार विदेशी पाइलटले एक सिजनमा २५ लाख रुपैयाँसम्म आर्जन गर्छन् ।
नेपालको नियमअनुसार एक पाइलटले दिनमा ७ घण्टा वा २५ देखि ३५ वटा ल्यान्डिङ (अवतरण) र मासिक सय घण्टाभन्दा बढी हेलिकप्टर उडाउन पाउँदैनन् । हेलिकप्टरलाई भने निश्चित घण्टा तोकिएको छैन । ‘हरेक दिन बिहान इन्जिनियरको जाँचपछि दिनभर उडाउन सकिन्छ,’ कैलाश एयरका सञ्चालक ईश्वरी पौडेलले भने, ‘इन्जिन कुलिङको समयबाहेक उड्न योग्य हुँदा मेसिन चलाउन सकिन्छ ।’ हिमाल आरोहणको सिजनमा उडान धेरै हुने भएकाले कम्पनीहरूले पाइलटको संख्या बढाउँछन् । सोसाइटीका अनुसार कम्तीमा दुइटा हेलिकप्टर भएको कम्पनीले ५ वटासम्म पाइलट राखेको छ ।
नेपाली हेलिकप्टर कम्पनीले अहिले घण्टाको दरमा नभई रुटका आधारमा भाडा तय गरेको छ । ‘कम्तीमा २ लाख ८० हजारदेखि १० लाख रुपैयाँसम्म लिने गरेका छौं,’ एक सञ्चालकले भने । उनका अनुसार सगरमाथामा रहेको दोस्रो क्याम्पदेखि लुक्लासम्म उद्धार उडान गर्नुपरे १० लाख रुपैयाँसम्म कम्पनीहरूले लिने गरेका छन् । ‘विदेशी वा नेपाली भन्ने छैन,’ उनले भने, ‘रुटअनुसार ब्लक समयको दर तय गरेका छौं ।’
हेलिकप्टरलाई सगरमाथा आधार शिविरमा अवतरण गर्न रोक लगाइएको छ । त्यहाँबाट उद्धार उडान मात्रै हुने गर्छ । सगरमाथा आधार शिविर जानेहरू मुन्तिर रहेका नाम्चे, कालापत्थरलगायत स्थानमा ओर्लेर हिँड्छन् । सगरमाथापछि केही हेलिकप्टर अहिले अन्नपूर्ण क्षेत्रमा छन् । जेठ सकिएपछि आरोहण सिजन निख्रिन्छ । हेलिकप्टर उडान त्यसैअनुसार घट्दै जान्छन् । सोसाइटीका अनुसार असोज कात्तिकमा चल्ने पदयात्रा सिजनमा फेरि हेलिकप्टर उडान बढ्छन् ।
नेपालमा सबैभन्दा धेरै हेलिकप्टर कम्पनी र संख्या रहेको अहिले हो । महासचिव कँडेलका अनुसार मुस्ताङ र अन्नपूर्ण नामका दुइटा हेलिकप्टर कम्पनी अनुमति लिने प्रक्रियाको अन्तिम चरणमा छन् । यसबाहेक अबको एक वर्षमा कम्तीमा ५ वटा नयाँ हेलिकप्टर पनि थपिँदै छन् ।
प्रकाशित : वैशाख ३१, २०७६ ०७:१४