२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

डीएसपीको कुर्सीमा म्यानपावर व्यवसायी !

पर्वत पोर्तेल

बिर्तामोड — इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी सुवास खड्का अनौठो विवादमा तानिएका छन् । उनी बस्ने कुर्सीमा बिर्तामोडका म्यानपावर व्यवसायी हर्क गुरुङ बसेको तस्बिर सार्वजनिक भएपछि उनी विवादित बनेका हुन् ।

प्रदेश प्रहरी प्रमुख डीआईजी केदार रिजालले प्रहरीको मर्यादित कुर्सीमा अरू व्यक्तिलाई बस्ने अधिकार नभएको बताए । उनले भने, ‘डीएसपीले मर्यादा भुलेर तेस्रो व्यक्तिलाई कसरी कुर्सीमा बस्न दिए ?’ रिजालले पदीय मर्यादा भुलेको र आफ्नो कुर्सीको समेत सुरक्षा गर्न नसकेका कारण अनुसन्धानका लागि विराटनगर तानेको बताए ।


‘प्रहरीको मान्छे’ भन्दै बिर्तामोड क्षेत्रका होटल व्यवसायीलाई आतंकित पार्ने गुरुङलाई इलाका प्रहरीले आइतबार पक्राउ गरेको थियो । इलाका प्रहरी अनारमनीका डीएसपी खड्का बस्ने कुर्सीमा बसेको तस्बिर देखाउँदै गुरुङले सर्वसाधारणलाई आतंकित पार्दै आएका थिए ।


केही दिनअघि उनले आफ्नो फेसबुकमा डीएसपीको कुर्सीमा बसेको तस्बिर पोस्ट गरेका थिए । उनले आफू प्रहरीको मान्छे भएको र जे पनि गर्न सक्ने भन्दै सर्वसाधारणलाई धम्क्याउँथे । कुर्सीमा गुरुङ बसेको फोटो सार्वजनिक भएपछि डीएसपी खड्का पुनः विवादमा तानिएका हुन् । यसअघि गत वैशाख २ गते मेचीनगर ६ का १५ वर्षीय किशोर किरण कार्की डोलीको हिरासतमा मृत्यु घटनाका कारण खड्का विवादित थिए ।


डीआईजी रिजालले डीएसपी खड्कालाई थप अनुसन्धान र आन्तरिक कारणले विराटनगर बोलाइएको बताए । गत शुक्रबार राति गुरुङले बिर्तामोड शनिश्चरे रोडको तेह्रथुम सेकुवा कर्नरका सञ्चालक रुद्र कन्दङ्वालाई कुटपिट गरेका थिए । उनीसहितको एक टोलीले बर्थ डे पार्टी गर्ने भन्दै होटलमा खानपिन गरे । खानपिनकै क्रममा आपसी विवादपछि साथीबीच कुटाकुट भएको थियो ।


झगडा नगर्न आग्रह गर्दा होटल सञ्चालक कन्दङ्वामाथि पनि कुटपिट भयो । घाइते कन्दङ्वाको बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ । टाउकोमा चिसो पेयको बोतल प्रहार गरिएका कारण गहिरो चोट लागेको पारिवारिक स्रोतले जनाएको छ । गुरुङले होटलमा तोडफोडसमेत गरेका थिए ।


होटलनजिकै व्यवसाय गर्ने चरिन्द्रकुमार चोम्बाङ पनि पत्नीसहित कुटिएका थिए । गुरुङले उनीहरूलाई बिनाकारण कुटपिट गरेको बुझिएको छ । हिरासतमा रहेका म्यानपावर व्यवसायी गुरुङबारे समेत प्रहरीले थप अनुसन्धान सुरु गरेको छ ।

प्रकाशित : वैशाख ३१, २०७६ ०७:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?