१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

सुनसान पुस्तकालय

झापा र सुनसरी — र्‍याकभरि पुस्तक । पढ्नलाई कुर्सी–बेन्च । बजारभित्रै छ पुस्तकालय । नियमित खुल्छ तर पढ्न कोही आउँदैनन् । गौरीगन्ज–६, खजुरगाछीस्थित ६५ वर्ष पुरानो त्रिभुवन आदर्श पुस्तकालय संरक्षण र व्यवस्थापन अभावमा लथालिंग छ । ऐतिहासिक दस्ताबेजहरू दुरुस्त छैनन् । भौतिक तथा चलअचल सम्पत्तिबारे खोजीनिती छैन । 

आठ सालमा स्थापित गौरीगन्ज मिडिल इङलिस स्कुल (हाल गौरीगन्ज मावि) को एउटा कोठामा सञ्चालित पुस्तकालयलाई ०११ सालदेखि खजुरगाछी बजारमा त्रिभुवन आदर्श नाम दिएर स्थापना गरिएको थियो । यसमा तत्कालीन कर्णेल झक्तबहादुर बस्नेत, साहित्यकार दौलतवित्रम विष्टलगायतले पहल गरेका थिए । दुईकोठे भवनमा रहेको पुस्तकालयका नाममा बैगुनधुरामा साढे चार बिघा जमिन छ । उक्त जग्गा विष्टले दान गरेका हुन् ।


सुरुमा दुई–चारवटा पुस्तक रहेकामा स्थानीयसँग चन्दा उठाएर ०१२ सालमा बनारसबाट २५ सय रुपैयाँका पुस्तक थपिएको पुस्तकालय स्थापनाकालमा व्यवस्थापक रहेका केशरबहादुर श्रेष्ठले बताए । ०५० सालपछि पुस्तकालयप्रति स्थानीयको चासो घटदै गएको छ । आम्दानी अहिले पनि वार्षिक करिब ५० हजार रुपैयाँ छ । पुस्तकालयसँगै जोडिएका चारवटा घुम्तीबाट करिब १८ हजार र बैगुनधुराको जमिनबाट ३० हजार रुपैयाँ आउँछ । ५ सय १९ नेपाली र ४ सय ९ हिन्दी पुस्तक संगृहीत छन् । विद्यालय स्तरका १ सय ५२, क्याम्पस स्तरका २ सय २५ तथा अन्य विविध विषयका ३ सय ६८ पुस्तक छन् ।


‘हामीले चाहेर पनि पुस्तकालय संरक्षण गर्न सकिरहेका छैनौं,’ पुस्तकालय सञ्चालक समिति सदस्य अर्जुन दंगालले भने, ‘पुस्तकालय गौरीगन्जको ऐतिहासिक धरोहर हो तर समयानुसार अघि बढाउन नसक्दा जीर्ण बन्दै गएको छ ।’ नयाँ पुस्तक नल्याइएकाले पनि पाठक आकर्षित हुन नसकेको उनको बुझाइ छ ।


पुस्तकालयमा पाठक छैनन्

राणाविरोधी आन्दोलन सशक्त बनाउन धरानको छाताचोकमा २००४ सालमा स्थापित पुस्तकालय पाठकविहीन हुन थालेको छ । पण्डित छविलाल पोखरेल, गणेशमान श्रेष्ठ, भागवत गोविन्द लाखेलगायत मिलेर स्थापना गरेको बीपी पुस्तकालयलाई ०७ सालको प्रजातन्त्र प्राप्तिपछि सार्वजनिक पुस्तकालय नामकरण गरियो ।


पञ्चायतकालमा क्षेत्रीय पुस्तकालय बनाइयो । करिब १५ धुर क्षेत्रफलमा फैलिएको पुस्तकालय अहिले धरान उपमहानगरपालिकामातहत छ । पूर्वकै पुरानोमध्येको पुस्तकालयमा ६० वर्षअघि किनिएका पुस्तक मात्र केही हजारको संख्यामा थुपारिएको छ । नयाँ पुस्तक थपिएका छैनन् ।


‘मैले त्यहाँ पढा धर्मसंस्कृति, इतिहासका पुराना पुस्तक थिए । अहिले कुनै भेटिन्न,’ भाषाविद् टंकप्रसाद न्यौपानेले भने । पुस्तकालय जोगाउन नयाँ पुस्तक राख्ने, कम्प्युटरमा ‘क्याटलगिङ’ गर्नुपर्ने न्यौपानेले बताए ।


जर्मन सरकारको सहयोगमा ०५० सालमा दुईतले भवन निर्माण गरिए पनि व्यवस्थित हुन सकेको छैन । पुस्तकालयको सम्पत्ति करिब ६ करोड रुपैयाँ बराबर हुन आउने स्थानीय गिरिराज आचार्यले बताए । ‘०३० सालदेखि यो पुस्तकालयमा पत्रपत्रिका र अन्य पुस्तक अध्ययन गर्न नियमित जाने गरेको छु तर कहिल्यै पनि समयसापेक्ष हुन सकेन । बजारमा आख्यान, इतिहास, दर्शनदेखि आधुनिक शिक्षा प्रणालीका नयाँ पुस्तक आएका छन् । ती कुनै यो पुस्तकालयमा भेटिन्नन् ।’


कवि राज माङ्लाकले युवा पुस्ताका पाठक चाहेजस्ता पुस्तक नपाएपछि निराश भएर फर्कने गरेको बताए । उपमहानगरपालिकाका प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाका अनुसार पुस्तकालयमा नेपाली भाषाका पुस्तक ४ हजार १ सय, अंग्रेजी भाषाका १ हजार ५ सय, हिन्दी भाषाका ७ सय गरी करिब ६ हजार पुस्तक छन् ।


‘पुस्तकालय थप व्यवस्थित बनाउन उपमहानगरपालिकाले तृतीय श्रेणीका एक, सुब्बा सरहका एक र कार्यालय सहयोगी एक गरी तीन जना कर्मचारी खटाएको छ । नयाँ पुस्तक थप्न वार्षिक तीनचार लाख रुपैयाँ खर्च पनि गर्दै आएको छ ।’ पुस्तकालयमा दैनिक सरदर २० जना पाठक पुग्ने गरेका छन् ।


०३२ सालदेखि पुस्तकालयमा कार्यालय सहयोगी भएर हालै अवकाश पाएका दीपक शाक्यले ०१७ सालयता कुनै पुस्तक थपिएको जानकारी नरहेको बताए ।

प्रकाशित : वैशाख ३१, २०७६ ०७:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?