यसरी समातिए अनामनगर बलात्कार प्रकरणका प्रतिवादी

जनकराज सापकोटा

काठमाडौँ — सात वर्षीय बालिका बलात्कारका आरोपी राजु खरेल फरार बनेपछि प्रहरी चर्को दबाबमा परिरहेको थियो । खरेल विरुद्ध १८ बैशाखमा बालिकाकी आमाले महानगरिय प्रहरी वृत्त बानेश्वरमा किटानी जाहेरी दिएकी थिइन् । किटानी जाहेरीको दुई साता बितिसक्दा पनि आरोपी पक्राउ नसकेपछि शान्तिनगरका स्थानिय महिलाहरुले पनि प्रहरीमाथी दबाब बढाइरहेका थिए ।

यसरी समातिए अनामनगर बलात्कार प्रकरणका प्रतिवादी

घरमा काम गर्ने महिला छतमा कपडा धुने समय पारेर उनले सात वर्षीय बालिकालाई चकलेटको प्रलोभनमा बलात्कार गरेको बालिकाकी आमाको आरोप छ । उजुरी लगत्तै प्रहरीले बालिकालाई परोपकार प्रसुती गृहमा स्वास्थ्य परीक्षण गरेको थियो । स्रोतका अनुसार बालिकाको योनीमा केही पुरानो घाउ देखिन्छ ।


आरोपी आफ्नो पुर्ख्यौंली गाउँ काभ्रेतिर लुकेको आशंकामा प्रहरीले काभ्रेका विभिन्न ठाउँमा छापा मारेको थियो । तर आरोपी भगौडा प्रहरीका असई खरेल पक्राउ परेनन् । सोमबार प्रहरीले उनकी श्रीमतीलाई महानगरीय प्रहरी वृत्त बानेश्वरमा लगेर राखेको थियो । श्रीमती र छोराको मोबाईल पनि प्रहरीले नियन्त्रणमा लिएको थियो । भागेर जहाँ गएपनि आफ्नो लोकेशन बताउन खरेलले परिवारका सदस्यलाई फोन गर्लान् र त्यसैका आधारमा उनको लोकेशन पत्ता लगाएर पक्राउ गर्न सकिएला भन्ने आशा प्रहरीको थियो ।


भयो पनि त्यस्तै । सोमबार बिहान ११ बजेर ५८ मिनेटमा सेभ नभएको नयाँ नम्बरबाट खरेल पत्नीको मोबाइलमा फोन आयो । प्रहरीले नै उक्त फोन उठायो । तर तीन सकेन्डमै फोन काटियो । फोन फरार आरोपी राजुकै थियो । उनले तीन सेकन्डमा यतिमात्रै भने, 'मेरो कारणले तिमीहरुलाई दुःख भयो है म...।' यति के भनेका थिए फोन अचानक काटियो । त्यसपछि प्रहरीले सोही नम्बरका कल ब्याक गर्‍यो । तर फोन लाग्दै लागेन । प्रहरीले सम्पर्कको निरन्तर प्रयास गरिराख्यो ।

धेरैबेरपछि उक्त नम्बरमा फोन त गयो तर उठेन । प्रहरीले तुरुन्तै नेपाल टेलीकम स्रोत संग सम्र्पक राखेर उक्त कलको लोकेशन झिकायो । त्यसपछि प्रस्ट भयो, आरोपी कंचनपुरको बेलौरीमा छन र उनी भारत पस्ने तयारीमा छन् । किनकी सुरुमा जुन लोकेशनबाट फोन आएको थियो त्यसपछि फोन गर्दा मोबाइलले भारतको सिमावर्ती क्षेत्रको लोकेशन देखाएको थियो । यसको सोझो अर्थ थियो, सुरुमा फोन गर्दा उनी बेलौरीमा थिए । फोनको घन्टी जाँदा उनी भारत प्रवेश गर्ने सीमा नजिक देखिन्थे ।


प्रहरीले यसको सूचना जिल्ला प्रहरी कार्यालय कञ्चनपुरलाई दियो । सीमा पार गरेर भारत जानेमाथि व्यक्तिगत रुपमा खानतलासी लिने र सोधपुछ गर्ने काम सुरु भयो । त्यहीबेला खरेल पक्राउ परे । त्यतिबेला दिउँसो साढे २ बजेको थियो । प्रहरी स्रोतले भने, 'पक्राउ पर्दा उनी आलसतालस देखिन्थे । सायद उनले सोचेका थिए, भारत छिरेपछि प्रहरीले केही भेउ पाउनेवाला छैन ।'


पक्राउ परेका खरेललाई सोमबार नै विमानमार्फत काठमाडौं ल्याउने प्रहरीले तयारी थालेको थियो । तर कागजपत्रको काम नसकिएकाले पठाएन् । प्रहरी स्रोतका अनुसार आज मध्यान्हसम्म उनलाई काठमाडौं ल्याईनेछ । त्यसपछि उनीमाथी प्रहरीले बयान थाल्नेछ ।

प्रकाशित : वैशाख ३१, २०७६ १३:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?