१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

यो सिजनमा पहिलोपटक ८ नेपाली सगरमाथा चुचुरोमा पुगे

सुरज कुँवर

काठमाडौँ — यस वर्षको वसन्तकालीन सगरमाथा आरोहण अभियान अन्तर्गत ८ जना नेपालीको टोली मंगलबार दिउँसो सगरमाथा चुचुरोमा पुगेको छ । आधारशिविरमा रहेकी पर्यटन विभागकी सम्पर्क अधिकृत मिरा आचार्यले यो कुरा पुष्टि गरेकी हुन । '८ जना नेपाली अहिले १ बजेर ४५ मिनेटमा चुचुरोमा पुगे,' उनले आधारशिविरबाट कान्तिपुरसग भनिन् । 

यो सिजनमा पहिलोपटक ८ नेपाली सगरमाथा चुचुरोमा पुगे

टोलीमा लामाबगर दोलखाका सिद्ध बहादुर तामाङ, मकालु संखुवासभाका पासदावा शेर्पा, दावा नोर्बु शेर्पा, मिङदोर्ची शेर्पा, साङबु भोटे, आङ फुर्वा शेर्पा थिए । त्यस्तै सोलुखुम्बुको खुम्जुङका दोर्जी ग्यालजेन शेर्पा र पासाङ दावा शेर्पा छन् ।


यी सबै काठमाडौंमा रहेको हिमालयन गाइड्स नामक एक्सपिडीसन कम्पनीमा आवद्ध हाई-अल्टिच्यूट गाइड हुन् ।


कम्पनीका सञ्चालक इश्वरी पौडेलका अनुसार, अन्य विदेशी तथा स्वदेशी आरोहीहरुकालागि डोरीको सहायताले बाटो बनाउँदै यो टोली चुचुरोमा पुगेको हो । यो टोलीसँगै अब आरोहणकालागि बाटो खुला भएको छ ।


गाइड सिद्धबहादुर तामाङको नेतृत्वको टोलीले ६२ सय मिटर उचाइमा रहेको दोस्रो शिविरदेखि माथि डोरीले बाटो बनाउने जिम्मा लिएको थियो । ५२ सय मिटर उचाइमा रहेको आधारशिविदेखि दोस्रो क्याम्पसम्म अत्याधिक भर्‍याङ राख्नु पर्ने भएकाले त्यो खण्डको जिम्मा सगरमाथा पोलुसन कन्ट्रोल कमिटीले लिएको थियो ।


यस सिजनकालागि शुक्रबार चुचुरोमा बाटो बनाइसक्ने योजना थियो । तर, मौसमी बदलीका कारण नेपाली टोली ५ दिन ढिलो भएको सञ्चालक पौडेलले कान्तिपुरसँग बताए । यो टोली १३ दिनअघि ८ हजार मिटर उचाइमा पर्ने साउथकोलसम्म बाटो बनाउँदै पुगेको थियो ।


सगरमाथा आरोहणमा हरेकपटक बाटो बनाउनु पर्छ । नेपाल सरकारले वर्षमा चार सिजन हिमाल आरोहण खुला गर्छ ।


आजै बिहान यस सिजनको पहिलो नेपाली टोली पनि संसारकै चौथो अग्लो हिमाल ल्होत्सेमा बाटो बनाउँदै पुगेको थियो । साउथकोलबाटै ल्होत्से सगरमाथा उक्लिने बाटो छुट्टिन्टछ ।


यसपटक सगरमाथा आरोहणकालागि ३ सय ७७ जनाले अनुमति लिएका छन् । नेपाल सरकारका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठका अनुसार, यीसहित आधारशिविरमा गाइड, भरिया, कुल्ली, किचन, हेल्पर, सम्पर्क अधिकृतसहित करिब १५ सय हाराहारी छन् ।



तस्बिर: पासाङ रिन्जे शेर्पा

प्रकाशित : वैशाख ३१, २०७६ १४:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?