१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

उखेलिएको ट्युबवेल तुरुन्त गाड्न मोरङ प्रहरीको निर्देशन, सनी र सिर्जनाको खोजी तीव्र

विनु तिम्सिना

काठमाडौँ — मोरङ प्रहरीले बुढीगंगा गाउँपालिका २ सख्मा टोलमा उखेलिएको ट्युबवेल तुरुन्त पुनस्थापनामा सहयोग गर्न इलाका प्रहरी कार्यालय नेमुवालाई निर्देशन दिएको छ । सख्मा टोलका सनी ऋषिदेव र सिर्जना थापामगर बेपत्ता चैत १८ गतेदेखि बेपत्ता छन् । यही घटनालाई लिएर वर्षौंदेखि एकापसमा मिलेर बसेका ऋषिदेव परिवार र थापा परिवारबीच दुस्मनी बढेपछि ऋषिदेव परिवारले प्रयोग गर्दै आएको सामूहिक ट्युबवेल थापा परिवारका सदस्यले उखेलिदिएका थिए । 

उखेलिएको ट्युबवेल तुरुन्त गाड्न मोरङ प्रहरीको निर्देशन, सनी र सिर्जनाको खोजी तीव्र

गाउँमा रहेको सामूहिक ट्युबवेल उखेलेर फ्याँकिएपछि ऋषिदेव समुदाय पिउने पानीका लागि गुहार माग्दै प्रहरी कार्यालय पुगेका थिए । प्रहरीले खासै चासो नदेखिएको गुनासो ऋषिदेव परिवारले गरेका थिए । सोही विषयमा सोमबार नेमुवा प्रहरीले थापा र ऋषिदेव दुवै परिवारसँग छलफल गराएको थियो । छलफलबाट कुनै निष्कर्ष आउन सकेन ।

करिब एक महिनादेखि ऋषिदेव परिवारले पानी खानकै लागि हारगुहार गरिरहेको समाचार प्रशासन भए पनि मंगलबार मोरङ प्रहरीले पुनः दुवै पक्षलाई बोलाएर घटनाका विषयमा जानकारी लिएको छ । साथै तुरुन्तै ट्युबवेल गाड्न निर्देशनसमेत दिएको छ ।

कुनै पनि बाहानामा अत्यावश्यक वस्तुमाथि बन्देज लगाउन खोज्नु वा दुःख दिनु कानुनी अपराध हुने मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक एसपी मनोज केसीले बताए ।

गाउँमा भएको सामूहिक ट्युवेल उखेलेर बस्तीलाई नै पिउनेपानीबाट बञ्चित गर्नु जघन्य अपराध भएको बताउँदै उनले यस्तो गर्ने जोसुकैलाई कारबाही गरिने बताए । तुरन्तै ट्युबवेल गाड्न, ट्युबवेल गाड्न कुनै अवरोध सिर्जना नगर्न निर्देशन गरिएको उनले जानकारी दिए । यसअघि कस्ले ट्युबवेल उखेलेको हो अनुसन्धानपछि कारबाही गर्ने उनले बताए ।


'सनी र सिर्जना बेपत्ता भएको केस अर्कै हो,' उनले भने, 'कुनै पनि बाहानामा पानीजस्तो अत्यावश्यक वस्तुमा प्रतिबन्ध लगाउन खोज्नु जघन्य अपराध हो, ट्युबवेल कसले उखेलेको अनुसन्धान गर्दैछौं, यस्तो अपराध गर्नेलाई सख्त कारबाही हुन्छ ।'

खोजी कार्य तीव्र

मोरङ प्रहरीले मोरङ सनी ऋषिदेव र सिर्जना थापामगरको खोजी कार्य तीव्र बनाएको छ । सिर्जनाका आफन्तले आफ्नी नाबालिक छोरी हराएको भन्दै जिल्ला प्रहरी कार्यालय मोरङमा निवेदन दिएका छन् । कम उमेर बालिका हराएको भन्दै अभिभावकले उजुरी दिएकाले खोजी भइरहेको प्रहरी उपरीक्षक केसीले बताए ।

सनी र सिर्जना दुवैजना कम उमेर भन्ने जानकारी आए पनि खोजी गर्न भने सिर्जनाका अभिभावकले मात्रै निवेदन दिएकाले बालिकाको खोजी भइरहेको उनले बताए । एउटै गाउँका सनी र सिर्जना एकै मितिबाट दुवैजना सँगसँगै बेपत्ता भएकोले सँगै भागेको भन्ने आशंका गरिएको उनले बताए । २० वर्ष उमेर नपुगेकालेले उनीहरुले विवाह नै गरेको भए पनि त्यसले कानुनी मान्यता नपाउने उनले बताए ।


सिर्जनाका बुबा रामु थापाले उनी १८ वर्षमात्रै पुगेको बताएका छन् । सनीका आफन्तले भने उनको उमेर २० वर्ष पुगेको बताए । सिर्जनाका आफन्तहरुले आफ्नी नाबालीक छोरीलाई फकाएर भगाएको र बेचबिखन गरेको आरोप लगाउँदै आएका छन् ।


सनी र सिर्जनाबीच प्रेमसम्बन्ध रहेको हल्ला पहिलेदेखि गाउँमा भएको र सिर्जनाका आफन्तलाई पनि यो विषयमा जानकारी रहेको सनीका आफन्तको दाबी छ । एसईई परीक्षा सकिएकै दिन चैत १८ मा गाउँ छाडेर दुवैजना सम्पर्कविहीन छन् ।


राष्ट्रिय जनगणना २०६८ का अनुसार ऋषिदेवहरुको संख्या नेपालभरमा २ लाख ३४ हजार ४ सय ९० छ । जुन कुल जनशंख्याको शुन्य दशमलव ८९ प्रतिशत हो । लामो समयदेखि मोरङमा रहेर मुसहरहरुको क्षेत्रमा काम गर्दै आएका गुरुचरण ऋषिदेवले अन्य समुदायभन्दा मुसहरहरु हरेक हिसाबले पछाडि परेको बताए । उनका अनुसार मोरङमा ऋषिदेवहरुको संख्या करिब ४० हजार छ ।

यो पनि पढ्नुहोस्ः

अन्तरजातीय बिहेपछि मुसहर समुदायले पानी पाएन

प्रकाशित : वैशाख ३१, २०७६ १८:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?