कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

संसद् तताउने कांग्रेसको तयारी

संविधानविपरीत रहेको भन्दै तीनवटा विधेयक फिर्ता लिन आग्रह

काठमाडौँ — कांग्रेसले संविधानविपरीतका प्रावधान समेटिएका विधेयक फिर्ता नलिए संसद्‌मा त्यसविरुद्ध कडा प्रतिरोध गर्ने जनाएको छ । त्यसका लागि आफ्ना सांसदसँग छलफल गर्न बुधबार संसदीय दलको बैठक बोलाएको छ । जागरण अभियानमार्फत सरकारका असंवैधानिक कामकारबाहीको विरोध गर्दै आएको कांग्रेसले सदन तताउने तयारी गरेको हो ।

संसद् तताउने कांग्रेसको तयारी

संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले संविधानविपरीत प्रस्ताव गरिएका मिडिया काउन्सिल विधेयक, मानवअधिकार आयोग विधेयक र राष्ट्रिय सुरक्षा परिषदको काम, कर्तव्य र अधिकारसम्बन्धी विधेयक फिर्ता नलिए संसदमा प्रतिरोध गर्ने बताए ।


'तीनवटै विधेयक संविधानका प्रस्ताव र भावनाविपरीत छन्, यिनलाई फिर्ता लिएर संविधानअनुकूल बनाउन सरकारलाई हाम्रो आग्रह छ,' उनले भने, 'संविधानविपरीत प्रावधान राखेर बलजफ्ती लैजाने प्रयास भए हामी पनि चुप लागेर बस्दैनौं ।' संसदमा कसरी प्रस्तुत हुने भन्नेबारे बुधबार बस्ने संसदीय दल बैठकले औपचारिक धारणा बनाउने उनले बताए ।


मिडियाको स्वायत्तता र स्वतन्त्रतामाथि अंकुश लगाउने गरी ल्याइएको विधेयक फिर्ता लिन कांग्रेसले सरकारलाई आग्रह गरिसकेको छ । सभापति शेरबहादुर देउवाले प्रस्तावित विधेयकलाई मिडियामाथि 'कु' को संज्ञा दिँदै त्यसलाई कुनै पनि हालतमा फिर्ता गराएरै छाड्ने बताएका थिए ।


मिडियामा जस्तै मानवअधिकार आयोगको स्वतन्त्रता र अधिकारलाई समेत खुम्च्याउन खोजेको कांग्रेसको आरोप छ । राष्ट्रिय सुरक्षा परिषदको काम, कर्तव्य र अधिकारसम्बन्धी विधेयकमार्फत सुरक्षा परिषदको भूमिकालाई निस्तेज पार्न खोजिएको कांग्रेसको आरोप छ ।


सुरक्षा परिषद् बैठकबिनै मन्त्रिपरिषदको निर्णयले सेना परिचालन गर्न सक्ने नयाँ प्रावधान विधेयकमा छ । संविधानअनुसार सुरक्षा परिषदको सिफारिसमा मन्त्रिपरिषदको निर्णयबाट सेना परिचालन हुन्छ । 'सुरक्षा परिषदको बैठक नबस्ने अवस्थामा मन्त्रिपरिषद् बैठक पनि बस्न सक्दैन, यो प्रावधान असंवैधानिक मात्रै छैन, सरकारको नियतमाथि समेत प्रश्न उठेको छ,' खाँणले थपे ।

प्रकाशित : वैशाख ३१, २०७६ २०:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?