कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

बीआरआईप्रति सजग रहन अमेरिकी आग्रह

घनश्याम खडका

काठमाडौँ — चीनको महत्त्वाकांक्षी योजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) मा नेपालको संलग्नताप्रति अमेरिकाले चासो देखाएको छ । दक्षिण तथा मध्य एसियाली मामिलाबारे कार्यवाहक अमेरिकी उपविदेशमन्त्री डेभिड रान्जले बीआरआईबारे आफूले अध्ययन गरेको र परिणाम आशाजनक फेला नपरेको उल्लेख गर्दै नेपाल यसबारे सचेत हुनुपर्ने बताए । 

बीआरआईप्रति सजग रहन अमेरिकी आग्रह

नेपाल भ्रमणमा आएका उनले मंगलबार सञ्चारकर्मीसँग भने, 'बीआरआईमाथि हामीले गरेको अध्ययन तपाईंहरूले पनि हेर्न सक्नु हुन्छ । चीनले गरेको सहयोगले कसैको हित भएको खासै देखिँदैन ।'


राष्ट्रपति विद्यादेवी भण्डारी बीआरआईको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी भएर नेपाल र्फकेको दुई सातामै यसबारे अमेरिकाले चासो देखाउँदै आफूले गरेको अध्ययन प्रतिवेदनबारे बोलेको हो । चीनले बीआरआईमार्फत विश्वव्यापी प्रभाव जमाउँदै गएपछि अमेरिकाले यसको विरोध गर्न थालेको टिप्पणी आइरहेका बेला नेपालको यसमा संलग्नतामाथि उच्च तहका अधिकारीहरूबाट यसअघि पनि प्रश्न उठाइएको थियो ।


हालै जारी अमेरिकी प्रतिवेदनमा बीआरआईमा संलग्न देशहरूमा भ्रष्टाचार बढेको, अधिनायकवाद हावी हुँदै गएको र राज्य नियन्त्रित अर्थतन्त्रले जरो गाडेको उल्लेख छ । नेपालमा पनि त्यो अवस्था नआओस् भन्ने अमेरिकाको सद्भाव रहेको उनको भनाइ थियो । 'कुनै पनि लगानी भित्र्याउनुअघि आफ्नो हितमा छ कि छैन र त्यसले पारदर्शिता प्रवर्द्धन गर्छ कि गर्दैन भनेर आफ्ना मित्रहरूले सोच्नुपर्छ भन्ने अमेरिकी धारणा छ,' रान्जले भने, 'बीआरआईले नेपालमा भित्र्याउने योजनामा पनि यी प्रश्न गरिनुपर्छ ।'


चीनले बीआरआईमार्फत एसियामा प्रभाव जमाउन खोजिरहेका बेला अमेरिकाले यस क्षेत्रमा 'इन्डो प्यासिफिक स्ट्राटेजी' अघि सारेको छ । जानकारहरूका अनुसार यो चीनको प्रभावलाई रोक्ने अमेरिकी रणनीति हो । रान्जले भने यो विश्लेषण सही नभएको दाबी गरे । 'इन्डो प्यासिफिक स्ट्राटेजी कुनै देशको विरुद्धमा नभएर लोकतन्त्र, पारदर्शिता र खुला समाजका पक्षमा हो,' उनले भने, 'समृद्धिका लागि यी कुरा मुख्य आधार हुन् ।'


रान्जले परराष्ट्रका समकक्षी अधिकारीहरू र गृहमन्त्री रामबहादुर थापासँग भेट गरी इन्डो प्यासिफिक स्ट्राटेजीबारे कुरा गरेका थिए । गत हिउँदमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको औपचारिक भ्रमणका बेला अमेरिकाले यस रणनीतिमा नेपाललाई एक मुख्य साझेदार भनी घोषणा गरेको थियो ।


इन्डो प्यासिफिक रणनीतिअन्तर्गतै नेपाललाई आफूले 'मिलेनियम च्यालेन्ज कर्पारेसन' मार्फत ५६ अर्ब सहयोग घोषणा गरेको र आउने पाँच वर्षमा परियोजनामार्फत बन्ने विद्युतीय प्रसारण लाइनले ठूलो परिवर्तन ल्याउने आशा गरेको समेत उनले बताए ।


'हामी नेपाललाई ऋण होइन, अनुदान दिन्छौं,' उनले थपे, 'यस्तो अनुदानको कुनै सर्त पनि राख्दैनौं ।' बीआरआईमार्फत बनाउने भनिएको अन्तरदेशीय रेल मार्गमा चीनसँग नेपालले ऋण सहयोग लिन हुने नहुनेबारे चर्चा चलिरहेका बेला अमेरिकाले नेपाललाई अनुदान घोषणा गरेको हो ।

प्रकाशित : वैशाख ३१, २०७६ २१:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?