१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

उपराष्ट्रपतिलाई स्वागत गर्न बालबालिका ४० डिग्रीमा १ घण्टा पैदल

उपराष्ट्रपतिको स्वागतमा अनिवार्य उपस्थित हुन भनिएपछि सार्वजनिक बिदाका दिन बालबालिका हिँडेरै कार्यक्रमस्थलमा पुगे
शिव पुरी

रौतहट — कटहरियामा आयोजित जानकी जयन्ती समारोहमा सोमबार विद्यार्थीहरू पानी खोज्दै भौंतारिरहेका थिए । करिब ४० डिग्री सेन्टिग्रेडको गर्मीमा हिँडेर आइपुगेका उनीहरू कार्यक्रमस्थलमा खानेपानीको व्यवस्था नहुँदा आकुलब्याकुल देखिन्थे । उपराष्ट्रपति नन्दबहादुर पुनको स्वागतका लागि अनिवार्य उपस्थित हुन पत्र काटिएपछि विद्यालयहरूले उनीहरूलाई ल्याएका थिए । 

उपराष्ट्रपतिलाई स्वागत गर्न बालबालिका ४० डिग्रीमा १ घण्टा पैदल

कार्यक्रममा एक घण्टासम्म पैदल हिँडेर आएका विद्यार्थी पनि थिए । कतिपय विद्यार्थीले खाली खुट्टै हिँडेका थिए । कटहरिया-१ स्थित भषेडवा माविका प्रधानाध्यापक राममंगल राय यादवले नगरपालिकाले विद्यालयका सबै कर्मचारी र छात्रछात्रालाई अनिवार्य उपस्थित गराउन निर्देशन दिएकाले विद्यार्थीलाई ल्याउनुपरेको बताए । 'बालबालिकालाई बोलाएर न बस्ने ठाउँ दिइयो न खाजा,' उनले भने, 'चर्को घाममा बच्चाहरू भोकभोकै फर्किनुपरेको छ । यस्तो कार्यक्रममा बच्चाहरूलाई बोलाउनु हुँदैनथ्यो ।' भषेडवा माविबाट कार्यक्रमस्थल झन्डै ३ किलोमिटर दूरीमा पर्छ । उपराष्ट्रपति पुन आउनुभन्दा एक घण्टाअघि विद्यार्थी कार्यक्रमस्थल पुगिसकेका थिए ।


कटहरिया नगरपालिकाभित्र २३ वटा विद्यालय छन् । नगरपालिकाको शिक्षा शाखाले जानकी जयन्ती समारोहमा सबै संस्थागत तथा सामुदायिक विद्यालयका कर्मचारी र विद्यार्थीलाई आआफ्नो ब्यानरसहित उपस्थित हुन वैशाख २४ गते नै पत्र पठाएको थियो । समारोह नगरपालिकाले आयोजना गरेको हो ।


नगरपालिकाका शिक्षा शाखाका प्रतिनिधि सरेन्द्र ठाकुरले ठूला कक्षाका विद्यार्थीलाई मात्र बोलाइएको दाबी गरे । 'कार्यक्रममा धेरैजसो ठूला विद्यार्थी नै थिए,' उनले भने । उपराष्ट्रपति उपस्थित हुने कार्यक्रम भएकाले विद्यालयलाई आउन भनेको उनले बताए । सोमबार प्रदेश सरकारले सार्वजनिक बिदा दिएको थियो । विद्यालय बन्द भए पनि विद्यार्थीलाई पोसाकमै कार्यक्रम ल्याइएको थियो ।


कटहरिया नगरपालिकाका प्रमुख सियाराम कुशवाह हुन् । व्यक्ति हत्याको आरोपमा जेल परेका उनी केही महिनाअघि सर्वोच्च अदालतले सफाइ दिएर छुटेपछि हेलिकप्टरबाट गृहजिल्ला आएका थिए ।

प्रकाशित : जेष्ठ १, २०७६ ०७:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?