२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

प्राचीन सभ्यता ब्युँझाउँदै चीन

एसियाली सभ्यतालाई पुनः सशक्त पार्दै बीआरआई परियोजनालाई थप बलियो बनाउन चीनमा आजबाट सम्मेलन
लक्ष्मी लम्साल

बेइजिङ — प्राचीन रेशमी मार्गलाई पुनर्जीवन दिएका चीनका राष्ट्रपति सी चिनफिङले प्राचीन सभ्यता पनि ब्युँझाउने भएका छन् । यसका लागि चीनले बेइजिङमा बुधबारबाट तामझामका साथ प्रथम एसियाली सभ्यता संवाद सम्मेलन आयोजना गर्दै छ । 

प्राचीन सभ्यता ब्युँझाउँदै चीन

कुनै बेलाको समृद्ध एसियाली सभ्यतालाई पुनः सशक्त बनाएर बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनालाई थप बलियो बनाउन चीनले सम्मेलन आयोजना गरेको हो । चीनले सन् २०१३ मा ल्याएको बीआरआई अवधारणाअन्तर्गतका परियोजनामा १ सय २६ भन्दा बढी देश समेटिएका छन् ।


बीआरआईको दोस्रो शिखर सम्मेलन सकिएलगत्तै बेइजिङमा हुन लागेको सभ्यता सम्मेलनमा नेपालबाट पनि ठूलै संख्यामा प्रतिनिधित्व छ । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, चीन अध्ययन केन्द्रका कार्यवाहक अध्यक्ष सुन्दरनाथ भट्टराईलगायत प्राज्ञिक क्षेत्रबाट व्यक्तिहरू सम्मेलनमा सहभागी रहेको बेइजिङस्थित नेपाली दूतावासले जनाएको छ ।


नेपालका तर्फबाट राजनीतिक प्रतिनिधित्व भने निकै कम छ । मुख्य सम्मेलन २ दिन मात्रै चल्ने भए पनि अन्य कार्यक्रम लामो समयसम्म चल्नेछन् । नेपालले पर्यटन प्रदर्शनीलगायत कार्यक्रममा पनि भाग लिएको छ ।


राष्ट्रपति सी चिनफिङले उद्घाटन गर्ने सम्मेलनमा कम्बोडिया, ग्रिस, सिंगापुर, श्रीलंका, अर्मेनिया, मंगोलियालगायतका राष्ट्र वा सरकार प्रमुख सहभागी हुनेछन् । युनेस्कोलगायत एसियाली ४७ देशबाट समेत गरी संस्कृति, शिक्षा, थिंक ट्यांक, पर्यटन, सञ्चारलगायत क्षेत्रका २ हजार जनाले सम्मेलनमा भाग लिँदै छन् । चीनका लागि नेपाली राजदूत लीलामणि पौड्यालका अनुसार चीनले प्राचीन रेशमी मार्ग ब्युँताएजस्तै प्राचीन सभ्यताको पुनर्जागरणको विषय उठाएको बताए ।


‘सभ्यता पुनर्जागरणका लागि कसले पहल गर्‍यो, के उद्देश्य थियो भन्ने विषय महत्त्वपूर्ण हो,’ उनले भने, ‘जस्तो कि चीनले गरेको सभ्यता सम्मेलन समाजमा शान्ति स्थापना, समृद्धि र सद्भावका लागि हो, जुन सबैका लागि र समग्र मानवजातिकै लागि महत्त्वपूर्ण कुरा हो ।’


बीआरआई प्रवद्र्धनको एउटा हिस्साका रूपमा आयोजित सभ्यता सम्मेलनमा भारतले पनि प्रतिनिधि पठाएको छ । चीनका लागि भारतीय राजदूत विक्रम मिश्रीले बेइजिङमा भने, ‘सम्मेलनमा भाग लिनुको ध्येय जनस्तरीय मानवीय आदानप्रदानको बाटो खुकुलो बनाउनु हो । आगामी वर्ष चीन–भारत कूटनीतिक सम्बन्धको ७० औं वार्षिकोत्सव भव्य बनाउने पूर्वतयारी पनि हो ।’


३० हजारभन्दा बढीको सहभागिता हुने एसियाली सभ्यता सप्ताह तथा एसियाली कल्चरल कार्निवललगायतबाट चीनले विश्वको ध्यान तान्ने प्रयास गरेको छ । चिनियाँ तथा विदेशी नेता, विद्वान्, विचारकले सम्मेलनमा बहस गर्नेछन् । त्यति नै बेला एसियाली सभ्यता परेड, एसियाली सांस्कृतिक प्रदर्शनी, सांस्कृतिक पर्यटन प्रदर्शनी, एसियाली चलचित्र तथा टेलिभिजन सप्ताह, बेइजिङ, क्वाङौ, छङ्तुलगायत सहरमा एसियाली खाद्य सप्ताह गरिनेछ ।


‘बीआरआईपछि सिभिलाइजेसन रोडको खाका बनाउँदै चीनले राष्ट्रपति सीको प्रस्तावलाई साकार रूप दिन लागेको छ,’ बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा चिनियाँ उपविदेशमन्त्री खोङ सुआनयौले भने, ‘बीआरआई सारिएपछि सिभिलाइजेसन वार्ता र सांस्कृतिक आदानप्रदान सदैव महत्त्वपूर्ण र मुख्य दिशानिर्देशक बन्दै आएको छ । सभ्यता वार्ता बीआरआई प्रवद्र्धनको एउटा सकारात्मक प्रयास हो । सभ्यता मार्ग निर्माणका लागि यो प्रथम प्रयास हो ।’


सम्मेलनअन्तर्गत तयारी कमिटीका उपनिर्देशक स्वी लिनले एसियाली सभ्यता आदानप्रदान तथा मैत्रीपूर्ण बुझाइ र भाग्यसमुदायको प्रतीक रहेको बताए । ‘यसबाट चिनियाँ राष्ट्रपतिको एसिया तथा विश्वको आकांक्षालाई समेटिनेछ,’ उनले भने ।


सभ्यता सम्मेलनले सबै मुलुकबीच सम्पर्कको रूपरेखा तय गर्ने चिनियाँ नेताहरूले बताएका छन् । विश्व अर्थतन्त्रको नेतृत्व लिने होडमा रहेको चीनले साझा प्रगति तथा विविध सभ्यता नै समृद्धि र समावेशिताको माध्यम हुने बताउँदै आएको छ । यो सम्मेलनले विश्व समुदायबाट सर्वसाधारणको सहभागिताको ढोका खोलेको चिनियाँ विश्लेषकहरूको भनाइ छ ।


प्रकाशित : जेष्ठ १, २०७६ ०७:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?