भीरको बाटो अटो...

विप्लव महर्जन

सल्यान — हातमा ‘प्लस टु’ को प्रमाणपत्र बोकेर निर्मला कार्की जागिरका लागि धेरै ठाउँ धाइन् । कतै पाइनन् । त्यसपछि रोजिन्, स्वरोजगारको विकल्प छ । उनले ऋण लिएर अटोरिक्सा किनिन् । अहिले सामान्य जागिरेभन्दा राम्रो कमाइ गरिरहेकी छन् । कामले राम्रो दाम दियो, उनी खुसी छन् ।

२० वर्षीया निर्मलाले १ वर्षदेखि सल्लीबजार क्षेत्रमा अटो चलाइरहेकी छन् । जिल्लामा अटोचालक महिला छैनन् । अटो चलाएर दैनिक सरदर ४ हजार कमाउँछिन् । इन्धन, मर्मतखर्च, ऋणको किस्ता र घरखर्च कटाएर करिब हजार रुपैयाँ बचत हुने गरेको उनले बताइन् । ‘सुरुमा त छोरीले पनि अटो चलाउने हो ?’ भन्दै जिस्काउँथे, कतिपयले होच्याएर बोल्थे,’ उनले भनिन्, ‘अचेल त सबै बानी परिसके, मलाई पनि यसमै रमाइलो लाग्न थालिसक्यो ।’

Citizen


सुरुमा उनलाई अटो चलाउन लाज लाग्थ्यो । पुरुषहरू वरिपरि झुम्मिएर हेर्दा त झन् सकस हुन्थ्यो । त्यसमाथि कतिपय महिलाले समेत उनलाई जिस्काउँदै भन्थे, ‘हेर त यो केटीले अटो चलाएकी !’ आजभोलि उनलाई सामान्य लाग्छन् । ‘आपूmले जानेको सीप गरी खानलाई के को लाज ?’ उनले भनिन्, ‘हिजो जिस्काउनेहरू अहिले मेरो अटोमा यात्रासमेत गर्छन् ।’ जाजरकोटको अटो सल्यानमा ल्याएको भन्दै केही व्यक्तिले विरोध गरे पनि अहिलेसमस्या नरहेको उनले बताइन् ।

निर्मलाले लिएको ४ लाख रुपैयाँ ऋण आधा तिरिसकिन् । बाँकी १ वर्षभित्र तिरिसक्ने उनको योजना छ । बिहानदेखि बेलुकीसम्म अटो चलाउनुपर्दा केही गाह्रो भए पनि बेरोजगार बस्नुपरेको छैन । उच्च शिक्षा अध्ययनको धोको पनि मनमै मरेको उनले सुनाइन् । ‘पढ्ने मन त कसको पो हुँदैन र ?’ उनले भनिन्, ‘जागिर पाइएन, घरपरिवारको जिम्मेवारी आफैंमाथि छ, कसरी पढ्नु ?’
जाजरकोटकी निर्मलाको विवाह भएको छैन । बुवा-आमा र दुई भाइबहिनी उनकै कमाइमा आश्रित छन् ।

नेपालगन्ज गएर अटो ड्राइभिङ सिकेकी उनले सुरुमा जाजरकोटमै अटो चलाइन् । सुरक्षाका कारण भन्दै त्यहाँ अटो चलाउन स्थानीय प्रशासनले रोक लगायो । उनको कार्यक्षेत्र बन्यो- सल्यानको सल्लीबजार । ‘यहाँ सडक पनि रामो छ, यात्रु पनि पाइन्छन्,’ उनले भनिन्, ‘आम्दानी पनि राम्रै भइरहेको छ ।’ यात्रु पाइए जाजरकोट, सल्यानको खलंगा र सुर्खेतसमेत पुग्ने गरेको उनले सुनाइन् ।

प्रकाशित : जेष्ठ १, २०७६ ०९:४६
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

स्थानीय तहले संयुक्त योजना चलाउने

कान्तिपुर संवाददाता

नवलपुर — पूर्वी नवलपरासीको तीनवटा गाउँपालिकाले विकास निर्माणको योजना संयुक्त रूपमा संचालन गर्ने भएका छन् । पहाडी भेगमा पर्ने हुप्सेकोट, बौदीकाली र बुलिङटारको संयुक्त कार्यपालिका बैठकले यस्तो निर्णय गरेको हो । 

हुप्सेकोट ५ को रुद्रपुरमा बसेको संयुक्त कार्यपालिका बैठकले विभिन्न ११ निर्णय गरेको हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मी पाण्डेले बताइन् । उनका अनुसार तीनवटै गाउँपालिकाको सिमाना निर्धारणका लागि प्राविधिकसहितको टोली गठन गर्ने निर्णय भएको छ । गापाको सिमाना यकिन नहुँदा थुप्रै विकास निर्माण र अन्य योजना सञ्चालनका लागि समस्या परेको छ ।

यसैगरी गापाले धार्मिक र ऐतिहासिक पर्यटकीय स्थलको भौतिक पूर्वाधार निर्माणका लागि आवश्यक वजेट विनियोजन गर्ने भएका छन् । तीन गाउँपालिकाभित्र संयुक्त रूपमा पर्यटकीय स्थल निर्माणका लागि संयुक्त योजना सञ्चालन हुनेछ ।

हुप्सेकोट र बौदीकालीले उच्च भूभागमा गुराँस र जडीबुटी संरक्षण क्षेत्रका रूपमा कार्ययोजना बनाएरसंयुक्त रूपमा बजेट विनियोजन गर्ने भएका छन । यस क्षेत्रमा लोपोन्मुख घोरल संरक्षणको योजना पनि पारित भएको छ ।

प्रकाशित : जेष्ठ १, २०७६ ०९:४५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT