कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दोहोरो नागरिकताको छानबिन सुरु

विनु तिम्सिना

विराटनगर — भारत र नेपाल दुवै देशको दोहोरो नागरिकता लिने सुनसरी इनरुवाका व्यापारी छगनलालको विषयमा प्रशासनले छानबिन सुरु गरेको छ । सुनसरीको सदरमुकाम इनरुवाका व्यापारी छगनलाल शर्माले नेपाल र भारतको दोहोरो नागरिकता लिएको समाचार प्रकाशन भएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले यस विषयमा छानबिन सुरु गरेको बताएको छ ।

दोहोरो नागरिकताको छानबिन सुरु

छगनलाललाई झिकाउन जिल्ला प्रशासन कार्यालयले सोमबार नै पत्र काटेर पठाइसकेको सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रतीले जानकारी दिए ।


छगनलालको दोहोरो नागरिकताको विषयमा अनुसन्धान भइरहेको बताउँदै उप्रेतीले उनको बयान पश्चात परराष्ट्र मन्त्रालय मार्फत् भारतमा देखिएका कागजपत्र झिकाउने बताए । 'कान्तिपुरमै समाचार आएपछि हामिले थाहा पायौँ,' प्रमुख जिल्ला अधिकारी उप्रतीले भने, 'हामिले छगनलाललाइ झिकाउन पत्र काटिसकेका छौँ, यो विषयमा उसको बयान लिइसकेपछि आवश्यक कारबाही हामी गर्छौँ ।'


इनरुवा बजारमा सुरज फेन्सी स्टोर कपडा पसल सञ्चालन गरेर बसेका छगनलालले ३४ वर्षको उमेरमा २०३४ सालमा नेपालमा वंशजको नागरिकता लिएको देखिन्छ । नेपालको नागरिकता नम्बर ६२५६/२७१९ रहेका उनको भारतको निर्वाचन आयोगको वेबसाइटमा ०३३०५१९ नम्बरको मतदाता परिचयपत्र भेटिएपछि उनले दोहोरो नागरिकता राखेको खुलेको हो ।


छगनलालका विरुद्धमा यस अघिपनि विभिन्न चरण उजुरीहरु नपरेका हैनन् । डकुमेन्ट नम्बर डीडी ७४००५२६८५ एनपीबाट सन् २०१७ जुलाई २३ तारिकमा गृहमन्त्रालयमा र डीडी ७४००५२६५४ एनपी नम्बरबाट सतर्कता केन्द्रमा समेत छगनलालको दोहोरो नागरिकताका विषयमा उजुरी परेको छ ।


त्यस्तै उनको दोहोरा नागरिकताको विषयमा २०७४ साउन ८ गते ९५१ दर्ता नम्बरको उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौंमापनि उजुरी दर्ता भएको छ । त्यस्तै अख्तियारको इटहरीस्थित कार्यालयमा पनि १६५ दर्ता नम्बरको उजुरी २०७४ साउन ९ गते नै परेको छ । जिल्ला प्रशासन कार्यालयका तत्कालीन प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीले भने त्यसबेला उजुरी लिन नमानेको स्रोतले बतायो । दर्ता भएका उजुरी उपरपनि अहिलेसम्म कुनै कारबाही हुन नसक्नुले पनि छगनलालको प्रभाव कति रहेछ भनेर प्रमाणित भएको स्रोतको भनाई छ ।


अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीमा छगनलालको दोहोरो नागरिकताका विषयमा उजुरी आएको भएपनि उक्त फायल गृह मन्त्रालय पठाइएको प्रवक्ता ज्ञानेन्द्र ढकालले बताए । कार्यालयको तर्फबाट आवश्यक कारबाही टुंग्याएर थप कारबाहीका लागि २०७५ साउन मै गृह मन्त्रालय पठाइसकेको उनले जानकारी दिए ।


२०००००८१०६८६ नम्बरको रासनकार्ड लिएका छगनलालले २०२९४ नम्बरको मगनलाल रामावतको पसलबाट भारत सरकारले दिने रासन लिने गरेको देखिएको छ । छगनलालले २०१७ मा राजस्थानको बिकानेर जिल्लामा विधानसभा निर्वाचन क्षेत्र नम्बर १३ मा मतदान गरेको देखिएको छ । भने नेपालमा १६७१९७१ नम्बर मतदाता परिचयपत्र लिएका उनले इनरुवाको भगवती माविमा रहेको निर्वाचन केन्द्रबाट समेत मतदान गरेको देखिएको छ ।


नेपालको संविधान अनुसार नेपालमा १५ वर्ष बसोबास गरेको र देशकालागि महत्वपूर्ण योगदान गरेको व्यक्तिलाई सरकारले आवश्यक ठानेको अवस्थामा मात्रै गृहमन्त्रालयले अंगीकृत नागरिकता दिने प्रावधान छ । भारतीय नागरिकले कुनैपनि अवस्थामा वंसजको नागरिकता भने नपाउने प्रमुख जिल्ला अधिकारी उप्रेतीले बताए ।


'जिल्ला प्रशासन कार्यालयले वंसज र वैवाहिक अंगीकृत नागरिकता मात्रै वितरण गर्छ,'अंगीकृत नागरिकता गृहमन्त्रालयले नै वितरण गर्छ, तर यसका लागि धेरै प्रक्रियाहरु छन् जो कोहिले लिन सक्दैन्, छगनलालको विषयमा अनुसन्धान भईरहेको छ, भारतको नागरिकता त्यागेको भएपनि उनले वंसजको नागरिता नपाउनुपर्ने हो ।'


छगनलालले मात्रै नभई उनका तीनजना छोरा र उनीहरुका श्रीमतीको समेत दोहोरो नागरिकता लिएका छन् । छगनलालका जेठा छोरा रमेशकुमार,सुरेशकुमार र आषिशको समेत दोहोरो नागरिकता लिएको देखिन्छ । इनरुवामा व्यापारगरी बस्दै आएका अन्यको धेरैले दोहोरो नागरिकता लिएको स्रोतको दाबी छ । नेपाल नागरिकता ऐनमा दोहोरो नागरिकता लिनेलाई ५ वर्षसम्म कैद र एक लाख रुपैयाँया जरिवानाको व्यवस्था गरिएको छ ।

यो पनि पढ्नुहोस्ः

भारतमा रासनकार्ड सुविधा, नेपालमा वृद्धभत्ता

प्रकाशित : जेष्ठ १, २०७६ १७:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?