२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

आफ्ना सांसद स्वतन्त्र तिब्बतसम्बन्धी कार्यक्रममा सहभागी भएकामा यादवले दिए प्रस्टीकरण

काठमाडौँ — आफ्नो पार्टीका सांसद 'स्वतन्त्र तिब्बत' सम्बन्धी कार्यक्रममा सहभागी भएपछि अप्ठ्यारोमा परेका समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले बुधबार प्रस्टीकरण दिएका छन् ।

आफ्ना सांसद स्वतन्त्र तिब्बतसम्बन्धी कार्यक्रममा सहभागी भएकामा यादवले दिए प्रस्टीकरण

यादवले प्रेस विज्ञप्तिमार्फत समाजवादी पार्टी एक चीन नीतिप्रति प्रतिबद्ध रहेको र चीनविरोधी गतिविधिको विपक्षमा उभिएको बताएका छन् । समाजवादी पार्टीका सांसद प्रदीप यादव र राजपाका सांसद एकवाल मियाँ लात्भियाको राजधानी रिगामा आयोजित स्वतन्त्र तिब्बत पक्षधर सांसदको भेलामा सहभागी भएको विषयलाई लिएर नेपालस्थित चिनियाँ दूतावासका अधिकारीले चासो प्रकट गरेपछि यादवले विज्ञप्ति निकालेर प्रस्टीकरण दिएका हुन् । अर्को पार्टी राजपाले भने भूलवश गएको टिप्पणी गरेको छ ।


'न पार्टीलाई सांसद यादवको त्यससम्बन्धी कार्यक्रममा हुने सहभागिताबारे थाहा थियो, न पार्टीले अनुमति नै दिएको थियो,' समाजवादी अध्यक्ष यादवले विज्ञप्तिमा भनेका छन्, 'उनको सहभागिता पार्टीको औपचारिक पोजिसनसँग मेल खाँदैन ।' उनले सांसद यादवसँग स्पष्टीकरण सोधिएको र त्यसमा चित्त नबुझे अनुशासनविपरीत कारबाही गर्ने प्रतिबद्धतासमेत जनाएका छन् ।


गत वैशाख २४ र २७ गते लात्भियाको राजधानी रिगामा स्वतन्त्र तिब्बत पक्षधर सांसदहरूको कार्यक्रम राखिएको थियो । जसमा सहभागी हुन यादव र मियाँ अघिल्लै दिन त्यहाँ पुगेका थिए । सांसद यादवले झुक्किएर आफूहरू त्यहाँ पुगेको बताएका छन् । 'साथी -एकवाल) ले इन्टरनेसनल पार्लियामेन्टेरियन प्रोग्राममा भाग लिन जाने र युरोप घुमेर आउने भन्नुभयो, हुन्छ भनें,' उनले कान्तिपुरसँग भने, 'कार्यक्रमभन्दा पनि घुम्ने रहरले गइयो । हामीलाई एउटा होटलमा राखियो, भोलिपल्ट नजिकैको कार्यक्रमस्थलमा पुग्दा यस्तो रहेछ भन्ने थाहा भयो ।'


त्यसपछि गलत कार्यक्रममा आइपुगेको महसुस भएको र बिरामीको बहाना बनाएर त्यहाँबाट निस्किएको उनले बताए । 'हामीले त्यहाँ केही बोलेनौं, कतै हस्ताक्षर पनि गरेनौं,' उनले भने, 'त्यहाँबाट निस्किएपछि होटल छाडेर ट्याक्सीमा हिँड्यौं । एयरपोर्ट गई हवाईजहाजको टिकट लिएर जुरिच पुग्यौं । आई त हालियो भनेर केही युरोपका मुलुक घुमेर फर्कियौं ।'


उनले सांसद एकवालका चिनेका साथीले युरोप घुम्न प्रस्ताव राखेका कारण गएको बताए । 'मैले पार्टीलाई जानकारी गराएको थिइनँ, अनुमति लिएको पनि होइन, घुम्नका लागि भनेर आफैं गएका हौं,' उनले भने, 'पार्टीको स्पष्टीकरण पत्र बुझ्न जाँदै छु । पार्टीलाई पनि यही कुरा भन्नेछु ।' उनलाई पार्टीले २४ घण्टाभित्र लिखित स्पष्टीकरण दिन बुधबारै पत्र थमाएको छ ।


अर्का सांसद मियाँ भने सम्पर्कमा आउन चाहेनन् । उनलाई पार्टी अध्यक्षमण्डलका सदस्यहरूले मौखिक स्पष्टीकरण सोधेका थिए । त्यसक्रममा उनले यादवको जस्तै जवाफ दिएका थिए । भिसा लिँदा दुवै सांसदले संसद् सचिवालयबाट सिफारिसपत्र भने लिएका थिए । नेपाल नीतिविपरीत आयोजित विवादास्पद कार्यक्रममा भएको सहभागितालाई लिएर सभामुख कृष्णबहादुर महराले समेत दुवै सांसदसँग सोधेका थिए ।


प्रकाशित : जेष्ठ १, २०७६ २०:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?