त्रिवि सेवा आयोगले सञ्चालन गरेको खुला परीक्षामा अनियमितता भएको निष्कर्ष

सुदीप कैनी

काठमाडौँ — त्रिभुवन विश्वविद्यालय सेवा आयोगले सञ्चालन गरेको खुला परीक्षामा अनियमितता भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रारम्भिक निष्कर्ष निकालेको छ । आयोगले सञ्चालन गरेको परीक्षामा पदाधिकारी र कर्मचारीका नातेदार तथा आफन्तलाई उत्तीर्ण गराइएको भन्दै उजुरी परेपछि अख्तियारले अनुसन्धान थालेको थियो ।

'भेटिएका केही तथ्यांकले गम्भीर अनियमितता संकेत गरेका छन्,' अख्तियार स्रोतले भन्यो, 'प्रारम्भिक छानबिनमा रहेको फाइल तत्काल विस्तृत अनुसन्धानमा गइहाल्छ । थप कागजपत्र हेरेर छानबिन गर्दै छौं ।' अख्तियार प्रवक्ता प्रदीप कोइरालाले त्रिभुवन विश्वविद्यालयबाट केही कागजात अख्तियारले नियन्त्रणमा लिएको जानकारी दिँदै छानबिन चलिरहेको बताए ।

Citizen

परीक्ष्ाामा त्रिविका उच्च पदाधिकारी, विद्यार्थी, कर्मचारी संघ/संगठन र राजनीतिक दलका पहुँचवाला नेताहरूका नातागोताको नाम निस्किएको भन्दै चौतर्फी विरोध हुँदै आएको छ । यस विषयमा अख्तियार र राष्ट्रिय सतर्कता केन्द्रमा उजुरी परेको थियो । केन्द्रले छानबिन टोली खटाइसकेको छ । 'उजुरीपछि टोली बनाएर खटाएका थियौं,' केन्द्रका प्रवक्ता विष्णुराज लामिछानेले भने, 'अख्तियारले फाइलहरू लिएको जानकारी आएको छ, उसको निर्णय कुरेर बसेका छौं ।' अख्तियारको छानबिन प्रक्रिया र निर्णयपछि केन्द्रले थप निर्णय लिने उनले जनाए ।

त्रिवि सेवा आयोग अध्यक्ष चैतन्य शर्मा, प्रमुख परशुराम कोइराला, त्रिवि केन्द्रीय क्याम्पसका प्रिन्सिपल कृष्ण आचार्य, पूर्वरजिस्ट्रार चन्द्रमणि पौडेललगायत उच्च पदाधिकारीका नातेदार परीक्षामा सफल भएका छन् । त्रिवि पदाधिकारीले आफन्तबाहेक पनि भनसुनका आधारमा थुप्र्रै पहुँचवालाका आफन्तलाई परीक्षामा पास गराएको स्रोतको दाबी छ । कुन पदाधिकारी, कुन विद्यार्थी/कर्मचारीका नेताले कुन प्रतिस्पर्धीलाई पास गराउन सिफारिस गरे भन्ने सूची सामाजिक सञ्जालमा समेत भाइरल भइरहेको छ ।

५० भन्दा बढी प्रतिस्पर्धीलाई पहुँच आधारमा उत्तीर्ण गराइएको उक्त सूचीमा उल्लेख छ । 'पहुँचवाला कर्मचारी, विद्यार्थी नेताका आफन्तलाई पास गराउन सेवा आयोगका पदाधिकारीले नतिजा आउनुअघि नै लिस्ट बोकेर हिँडेका थिए,' त्रिविस्रोतले भन्यो, 'भागबन्डा आधारमापरीक्षामा अनियमितता गरेर तिनैमध्येकालाई पास गराइयो ।'
उत्तरपुस्तिका परीक्षणमा गडबड गरेर आफूनिकटका व्यक्तिलाई पास गराइएको त्रिविका केही प्राध्यापकले कान्तिपुरसँग बताए । खुला प्रतिस्पर्धाको अन्तर्वार्ता भने बाँकी छ ।

आयोग अध्यक्ष शर्मा नेकपानिकट हुन् भने प्रमुख कोइराला कांग्रेसनिकट हुन् । उनीहरूको सेटिङमा पूर्वएमाले, कांग्रेस र पूर्वमाओवादीनिकट पदाधिकारी तथा विद्यार्थी संगठनका नेताको सिफारिसमा नतिजा प्रकाशित भएको एक प्रााध्यापकले बताए । शर्माको कार्यकाल सकिन दुई महिना मात्र बाँकी छ । उनी एमालेनिकट भएकै आधारमा अवकाशलगत्तै त्रिवि उपकुलपति बन्ने लबिइङ गर्दै हिँडेका छन् । त्यसका लागि पनि नेता कार्यकर्ता खुसी पार्न शर्माले लिस्ट तयार पारेर पहुँचवालालाई जागिर दिन लागिपरेको ती प्राध्यापकको दाबी छ ।

आयोगले विज्ञापन नम्बर १८/२०७३/२०७४ मा विभिन्न पदमा खुला विज्ञापन गरेको थियो । उपप्रशासक, आर्थिक नियन्त्रक, शाखा अधिकृत, लेखा अधिकृत, पुस्तकालय अधिकृत, प्राविधिक अधिकृत, मुख्य कार्यालय सहायक, कार्यालय सहायक, लेखा सहायकलगायत १६ पदमा विज्ञापन गरिएको थियो ।

तीमध्ये शाखा अधिकृत, लेखा अधिकृत कार्यालय सहायक, लेखा सहायकको पदमा अनियमितता गरेर नातेदारलाई पास गराइएको आशंका छ । नतिजा प्रकाशनमा बदमासी गरेको भन्दै प्राध्यापक र विद्यार्थी संघ/संगठनले छानबिन गरी कारबाही गर्न माग गरेका छन् ।

प्रकाशित : जेष्ठ २, २०७६ ०७:२०
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

१०० वर्षमा जोसिला जोशी

‘यो वास्तवमा संस्कृति, साहित्य, नेपाली भाषा र मेरो मातृभाषा नेपालभाषाको लागि मैले गरेको कामको सम्मान ठानेको छु’
बग्गीमा नगरपरिक्रमा
कान्तिपुर संवाददाता

ललितपुर — संस्कृतिविद् सत्यमोहन जोशी सोमबार एक सय वर्ष पूरा गरेका छन् । तर उनको सक्रिय जीवनले भने जोशी अझै जोसिला छन् । उमेर उनका लागि केवल संख्या मात्रै भएको छ ।


उनलाई नजिकबाट चिनेजानेका पनि जोशी उमेरले सय वर्ष पुगेभन्दा अनौठो मान्छन् । यस्तो दीर्घजीवन बाँच्ने रहर कसलाई नहोला ? वाङमय शताब्दी पुरुष जोशीको जीवन पनि सबैका निम्ति लोभ लाग्दो छ ।

सोमबार शतवार्षिकोत्सवको अवसर पारेर ललितपुर महानगरपालिकाले जोशीलाई बग्गीमा राखेर नगरपरिक्रमा गरेको छ । उक्त परिक्रमामा हजारौं सर्वसाधारणको लर्कोले जोशीलाई सम्मान गर्‍यो । जोशीले नगरपरिक्रमामा सहभागी, आफूप्रति सद्भाव राख्ने, स्नेह गर्ने सबैप्रति धन्यवाद व्यक्त गरे । भने, ‘यो वास्तवमा संस्कृति, साहित्य, नेपाली भाषा र मेरो मातृभाषा नेपालझाषाको लागि मैले गरेको कामको सम्मान ठानेको छु । व्यक्ति सत्यमोहन जोशीको सम्मान होइन । व्यत्ति सत्यमोहन त एक निमिक्त व्यत्ति न हो ।’

उनले चिन्तन गर्ने र चिन्ता नलिनाले दीर्घायु पाउने बताए । ‘आफूलाई प्राप्त भएको कुरामा सन्तुष्ट भएर सक्रियतापूर्वक जीवन बाँच्ने,’ उनले भने, ‘यो भएन, त्यो भएन भनेर धेरै गुनासो नगर्ने । छोरा, बुहारी, सन्तानबाट धेरै अपेक्षा नगर्ने नै जीवन जिउने कला हो ।’

सय वर्ष पार गर्दासम्म पनि जोशीले खासै औषधि खानुपरेको छैन । अझै हट्टाकट्टा नै छन् । दैनिक दालभात खान्छन् । साधारण जीवन बिताउँछन् । राति सुत्ने बेलामा घरमा नै बनाएको रक्सी एक पेग लिने गरेको उनले सुनाए । एक सय वर्षमा पनि स्वस्थ र सक्रिय जीवन जोशीका लागि वरदान सावित भएको छ ।

जोशीको जीवनलाई नेकपाकी नेतृ एवं ललितपुर क्षेत्र नं ३ की सांसद् पम्फा भुसालले लोभलाग्दो भनी टिप्पणी गरिन् । ‘म पनि सत्यमोहन दाइजस्तो दीर्घ र सक्रिय जीवन जिउन पाऊँ । मलाई पनि यस्तो जीवनप्रति लोभ छ,’ नगरपरिक्रमापछि महानगरको परिसरमा आयोजित विशेष सम्मान समारोहमा सांसद् भुसालले भनिन्, ‘अहिले अधिकांश संस्कृति हराउँदै गएका छन् । रातो मत्स्छेन्द्रनाथको जात्रा पाटनमा चलिरहेको छ । यस्तो जात्रा चलाउन दिनानुदिन कठिन हुँदै छ । यस्तो जात्रा बचाउन जोशीको सक्रियताबाट प्रेरणा लिनुपर्दछ ।’

भुसालले मात्र नभई नेपालका लागि भारतीय राजदूत मञ्जित सिंहले जोशीको जस्तो जीवन जीउन रहर भएको बताए । समारोहमा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति जगतमान गुरुङको भनाइ पनि भुसाल र राजदूत सिंहको भन्दा फरक छैन । समारोहमा जोशीलाई नेपाल सरकार, काठमाडौं उपत्यकाका १८ स्थानीय तहका मयेरको संयुक्त फोरम र ललितपुर महानगरसँगै विभिन्न संघसंस्थाले जोशीको योगदानको कदर गर्दै सम्मान प्रदान गरियो । कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले जोशीको जीवन सबैका लागि प्रेरणादायी रहेको बताए । ‘जोशीलाई सम्मान गर्न पाउँदा आफूलाई भाग्यमानी महसुस गरेको छु,’ पोखरेलले भने ।

उनी बाबु शंकरदास (शंकरराज) र आमा राजकुमारी (नोगलदेवी) का सुपुत्रका रूपमा १९७७ साल वैशाखमा बखुम्बहालमा जन्मेका हुन् । जोशीले ‘हाम्रो लोकसंस्कृति’ का लागि पहिलो पटक २०१३ मा, ‘नेपाली राष्ट्रिय मुद्रा’ नामक ग्रन्थका लागि दोस्रो पटक २०१७ मा र ‘कर्णाली लोकसंस्कृति’ नामक ग्रन्थका लागि तेस्रो पटक २०२८ मा मदन पुरस्कार प्राप्त गरेका थिए । जोशी साहित्यकार पनि हुन् ।

उनले त्रिचन्द्र कलेजबाट बीएसम्म अध्ययन गरेका छन् । नेपाली भाषा, कला, संस्कृतिको संरक्षण, संस्कृतिको संरक्षण, सम्वर्द्धन र विकासमा गरेको योगदानको कदर स्वरूप जोशीलाई सुप्रबल गोर्खा दक्षिणबाहु, विख्यात क्रिशत्ति पट्ट, आदिकवि भानुभक्त पुरस्कार, काठमाडौं विश्वविद्यालयले विद्यावारिधिको मानार्थ प्रमाणपत्र प्रदान गरेको छ ।

नेपाल सरकारले पनि उज्ज्वल कीर्तिमान राष्ट्रदीपले सम्मानित गरेको छ । उनका अनुसन्धानात्मक कृति नेपालीमा १०, नाटक पाँच, काव्य दुई र कथा संग्रह पाँच तथा नेवारी भाषामा गरी करिब ५० कृति प्रकाशित भइसकेका छन् । जोशी पुरातत्त्व विभागका पहिलो निर्देशक पनि हुन् ।

प्रकाशित : जेष्ठ १, २०७६ २२:००
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT