कामीरिता भन्छन् - '२५ पटक आरोहण गरेर मात्रै विश्राम'

कामीरिताको कीर्तिमान, सर्वोच्च शिखरमा २३ औं पटक
सुरज कुँवर

काठमाडौँ — सोलुखुम्बुको थामेका ४९ वर्षीय कामीरिता शेर्पाले आफ्नै रेकर्ड तोड्दै बुधबार २३ औं पटक सगरमाथा चुचुरोमा पुगेर नयाँ कीर्तिमान बनाएका छन् । गत वर्ष जेठ २ गते बुधबारकै दिन उनले २२ औं पटक सगरमाथा आरोहण गरेका थिए । 

कामीरिता भन्छन् - '२५ पटक आरोहण गरेर मात्रै विश्राम'

‘कामीरिता बुधबार बिहान ७:५० मा सगरमाथा चुचुरामा पुगेका हुन्,’ आधार शिविरबाट सम्पर्क अधिकृत मीरा आचार्यले कान्तिपुरसँग भनिन् । कामीरिता मंगलबार साँझ ८ बजे ८ हजार मिटर उचाइमा रहेको साउथकोलबाट चुचुराका लागि हिँडेका थिए । करिब १२ घण्टापछि उनी बिहान चुचुरामा पाइला राख्न सफल भएका हुन् ।


उनका साथमा निमा वाङदी शेर्पा पनि रहेको सम्पर्क अधिकृत आचार्यले बताइन् । ८८४८ मिटर उचाइको चुचुरोबाट उनी बुधबार दिउँसो ६ हजार २ सय मिटरको दोस्रो शिविरमा ओर्लिसकेको उनी आबद्ध नेपाली कम्पनी सेभेन समिट टे«क्सका अध्यक्ष मिग्मा शेर्पाले बताए । ‘उनी आधार शिविरमा फर्केर फेरि २४ औं पटक आरोहण गर्ने मुडमा छन्,’ अध्यक्ष मिग्माले कान्तिपुरसँग भने, ‘यसबारे बिहीबार टुंगो लगाउँछौं ।’


६६ वर्षअघि न्युजिल्यान्डका एडमन्ड हिलारी र नेपालका तेन्जिङ नोर्गे शेर्पाले पहिलोपटक आरोहण गरेको सगरमाथामा यस सिजनका लागि मंगलबार दिउँसो मात्रै चुचुरोसम्म डोरी टाँग्दै बाटो बनाइएको थियो । बुधबार कामीरितासहित १४ चिनियाँ र १० नेपाली शेर्पा चुचुरामा पुग्न सफल भएको कम्पनीका अध्यक्ष मिग्माले बताए ।

कामीरितालाई सेभेन समिटले दुई वर्षका लागि वार्षिक ३० हजार अमेरिकी डलरमा अनुबन्ध गरेको छ ।


‘यो रकममध्ये मैले सगरमाथा आरोहणका लागि २० हजार डलर (२२ लाख ५१ हजार हाराहारी) र बाँकी १० हजार (११ लाख २५ हजार रुपैयाँ) मनास्लु हिमाल अरोहण गरेबापत लिन्छु,’ सगरमाथातर्फ लाग्नुअघि कामीरिताले कान्तिपुरसँग भनेका थिए । उनका अनुसार दुई वर्षको समय अबको हिउँदयाममा सकिँदै छ ।


उनी यो कम्पनीमा अनुबन्ध हुनुअघि अमेरिकी कम्पनी अल्पाइन एसेन्टसँग आबद्ध थिए । कामीरितापछी सर्वाधिक सगरमाथा आरोहण गर्नेमा सोलुखुम्बुकै आप्पा शेर्पा, फुर्वातासी शेर्पा र ङिमा नुरु शेर्पा छन् । उनीहरूले २१ पटक चुचुरामा पाइला राखिसकेका छन् । सन् २०११ मा २१ औं पटकको कीर्तिमानी राखेर आप्पाले आरोहणबाट विश्राम लिइसकेका छन् । उनीपछि २०१३ मा फुर्वातासी आप्पाकै हाराहारीमा पुगेका थिए ।


२४ वर्षको उमेर छँदा २०५१ सालमा पहिलो पटक सगरमाथा आरोहण गरेका कामीरिताले २५ पटक आरोहण गरेर मात्रै विश्राम लिने सार्वजनिक गरेका छन् । एक पटक तिब्बततर्फको उत्तरी मोहोडाबाट चुचुरामा पुगेका कामीरिताले २२ पटक नेपालतर्फको दक्षिणी मोहोडाबाट सगरमाथा चुचुरामा पाइला राखेका हुन् । कामीरिता चाबहिल सरस्वतीनगरमा पत्नी, छोरा र छोरीका साथ बस्दै आएका छन् ।

प्रकाशित : जेष्ठ २, २०७६ ०७:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?