कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

खुल्यो हिल्सा नाका 

हुम्ला — हिमपातले बन्द भएको उत्तरी हिल्सा नाका खुलेको छ  । झन्डै पाँच सय मिटर उचाइको नारा लेकमा जमेको हिउँ पग्लेर स्थानीय आउजाउ गर्न थालेपछि नाका खुलेको हो  ।

चीनसँग सीमा जोडिएको हिल्सा नाका बर्सेनि हिउँदमा बन्द हुने र हिउँ पग्लेपछि खुल्ने गरेको छ । नाम्खा गाउँपालिका–६ को लिमीका बासिन्दाले घर फर्कने क्रममा यही मार्ग प्रयोग गरेपछि नाका खुल्न सहज भएको हो ।

लिमी आवतजावत गर्न दुई बाटा छन् । हिउँ कम हुने भएकाले हिउँदमा घर छाडेर गएका लिमीमा बासिन्दाले घर फर्कंदा जमेको हिउँ छिचोल्दै हिल्साको मार्ग प्रयोग गरपछि अरू पनि आवतजावत गर्न थालेका हुन् । नाका खुलेपछि हिल्सामा चौकी पनि पुनःस्थापना भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी हरिहर खडकाले बताए । वर्षाको समयमा चौकी स्थापना हुने र हिउँदमा आउजाउ बन्द भएपछि तलतिर सार्ने गरिन्छ । बाटो खुलेपछि कतिपय युवा रोजगारीका लागि तिब्बतको ताक्लाकोट गइसकेका छन् ।


नाका खुलेपछि हुम्लाको मार्ग भएर मानसरोवर कैलाश तीर्थ यात्राका लागि भारतीय तीर्थालु आउन थालेका छन् । भारतीय तीर्थयात्रीको व्यवस्थापनका लागि नेपाली गाइड तथा ट्राभल एजेन्सीका कर्मचारी सिमकोट पुगिसकेका छन् । सिमकोटका मध्यमस्तरका होटल पनि सञ्चालकहरूले सरसफाइ गरेर चिटिक्क बनाउन थालेका छन् ।

निजी हवाई कम्पनीले पनि उडान संख्या बढाउन थालेका छन् । स्थानीयका अनुसार कर्णाली करिडोरको हिल्सा सडक खण्डमा ७३ किलोमिटर सडकको ट्र्याक छ । नारालेकको हिउँ पूरै नपग्लेकाले यतिखेर गाडी भने सबैतिर गुड्न थालेका छैनन् । जमेको हिउँ छिचोलेर मानिस मात्र आवतजावत गर्ने गरेका हुन् । नाम्खा गाउँपालिकाका बासिन्दा पूरै तिब्बती बजारमा निर्भर छन् । हिउँदपछि बर्सेनि तिब्बतको मार्ग खुल्ने प्रतीक्षा गर्ने र मार्ग खुल्नेबित्तिकै तिब्बत गएर आफ्ना आवश्यक सामान खरिद गर्ने गर्छन् ।


हिल्सा नाकामा गत वर्ष अध्यागमन कार्यालय स्थापना भइसकेको छ । हिउँदमा बन्द भए पनि नाका खुलेपछि भारतीय तीर्थयात्रु आउनुअगाडि नै कार्यालय पुनःस्थापना हुनुपर्ने हो तर नाका खुले पनि भन्सार र अध्यागमन दुवै कार्यालय पुनःस्थापना भएका छैनन् ।

प्रकाशित : जेष्ठ २, २०७६ ०८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?