कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कामीरिता शनिबार फेरि सगरमाथा चढ्ने !

सुरज कुँवर

काठमाडौँ — आफ्नै कीर्तिमान तोड्दै बुधबार २३ औं पटक सगरमाथा चुचुरोमा पुगेका सोलुखुम्बु थामेका ४९ वर्षीय कामीरिता शेर्पाले शनिबार पुनः सगरमाथा आरोहण गर्ने भएका छन् ।

कामीरिता शनिबार फेरि सगरमाथा चढ्ने !

अबको उनको आरोहण २४ औं हुने छ । ‘कामीरिता शनिबार फेरी विदेशी आरोहीका साथ सगरमाथा आरोहणमा जाँदै छन्,’ सेभेन समिट ट्रेक्सका अध्यक्ष मिग्मा शेर्पाले कान्तिपुरसँग भने, ‘शुक्रबार पर्यटन विभागमा दोस्रोपटकको अनुमतीका लागि पत्राचार गर्दै छौं ।’


कामीरिता सेभेन समिटमा वरिष्ठ गाइडका रुपमा आवद्ध छन् ।


कामीरिताले एकै सिजनमा दुईपटक सगरमाथा आरोहण गर्न लागेको यो चौथो पटक हो । उनले सन् २००९, २०१० र २०१३ मा एकै सिजनमा दुईपटक सगरमाथा आरोहण गरेका थिए ।


कामीरितालाई सेभेन समिटले दुई वर्षका लागि वार्षिक ३० हजार अमेरिकी डलरमा अनुबन्ध गरेको छ । ‘यो रकममध्ये मैले सगरमाथा आरोहणका लागि २० हजार डलर (२२ लाख ५१ हजार हाराहारी) र बाँकी १० हजार (११ लाख २५ हजार रुपैयाँ) मनास्लु हिमाल अरोहण गरेवापत लिन्छु,’ सगरमाथातर्फ लाग्नुअघि कामीरिताले कान्तिपुरसँग भनेका थिए ।


उनका अनुसार दुई वर्षको समय अबको हिउँदयाममा सकिँदै छ । उनी यो कम्पनीमा अनुबन्ध हुनुअघि अमेरिकी कम्पनी अल्पाइन एसेन्टसँग आवद्ध थिए ।


कामीरितापछि सर्वाधिक सगरमाथा आरोहण गर्नेमा सोलुखुम्बुकै आप्पा शेर्पा, फुर्वातासी शेर्पा र ङिमा नुरु शेर्पा छन् । उनीहरूले २१ पटक चुचुरामा पाइला राखिसकेका छन् । सन् २०११ मा २१ औं पटकको कीर्तिमानी राखेर आप्पाले आरोहणबाट विश्राम लिइसकेका छन् ।


उनीपछि २०१३ मा फुर्वातासी आप्पाकै हाराहारीमा पुगेका थिए । निमा नोरु शेर्पा भने २२

औं पटककालागि यस सिजनमा आरोहण गर्दै छन् ।

२४ वर्षको उमेर छँदा २०५१ सालमा पहिलोपटक सगरमाथा आरोहण गरेका कामीरिताले २५ पटक आरोहण गरेर मात्रै विश्राम लिने सार्वजनिक घोषणा गरेका छन् ।


एकपटक तिब्बततर्फको उत्तरी मोहोडाबाट चुचुरामा पुगेका कामीरिताले २२ पटक नेपालतर्फको दक्षिणी मोहोडाबाट सगरमाथा चुचुरामा पाइला राखेका हुन् । यीनले ८ हजारभन्दा अग्ला सगरमाथा बाहेक आठपटक चोयू, एकपटक ल्होत्से, दुईपटक मनास्लु र एकपटक पाकिस्तानमा रहेको केटू गरी ३५ पटक आरोहण गरीसकेका छन् ।

प्रकाशित : जेष्ठ २, २०७६ १५:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?