मिडिया काउन्सिल विधेयकविरुद्ध पत्रकार महासंघले भाेलि संसद् भवन अगाडि प्रदर्शन गर्ने

कान्तिपुर संवाददाता

काठमाडौँ — संसद्‌मा दर्ता भएकाे मिडिया काउन्सिलसम्बन्धी विधेयक पुनः मस्यौदा गर्नुपर्ने माग गर्दै आन्दाेलित बनेकाे नेपाल पत्रकार महासंघले शुक्रबार संसद् भवन बाहिर र जिल्ला सदरमुकामहरुमा प्रदर्शन गर्ने भएकाे छ ।

सरकारले ल्याएको विधेयकका प्रावधानहरुले मिडिया काउन्सिल सरकार नियन्त्रित अंगका रुपमा स्थापित गर्नुका साथै स्वतन्त्र पत्रकारितामाथि अंकुश लगाउने महासंघकाे निष्कर्ष छ।

पहिलो चरणको आन्दोलनका क्रममा शुक्रबार दिउँसाे १२ बजे काठमाडौंमा संसद भवन बाहिर र जिल्लाहरुमा सदरमुकाममा सञ्चार साधनसहित प्रदर्शन गर्ने कार्यक्रम रहेकोमहासंघका महासचिव रमेश बिष्टद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएकाे छ।

पहिलो चरणको आन्दोलन सुरु भएको एक सातासम्म पनि सम्बन्धित पक्षले मागको सुनुवाई नगरेकाले महासंघ थप आन्दोलित हुनुपर्ने परिस्थिति निर्माण भएको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित : जेष्ठ २, २०७६ १५:१९
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

कामीरिता शनिबार फेरि सगरमाथा चढ्ने !

सुरज कुँवर

काठमाडौँ — आफ्नै कीर्तिमान तोड्दै बुधबार २३ औं पटक सगरमाथा चुचुरोमा पुगेका सोलुखुम्बु थामेका ४९ वर्षीय कामीरिता शेर्पाले शनिबार पुनः सगरमाथा आरोहण गर्ने भएका छन् ।

२३ औं पटक सगरमाथा आरोहण गरेर बिहीबार बेस क्याम्प झरेका कमीरिता शेर्पा (दायाँ) । तस्बिर स्रोत : सेभेन समिट

अबको उनको आरोहण २४ औं हुने छ। ‘कामीरिता शनिबार फेरी विदेशी आरोहीका साथ सगरमाथा आरोहणमा जाँदै छन्,’ सेभेन समिट ट्रेक्सका अध्यक्ष मिग्मा शेर्पाले कान्तिपुरसँग भने, ‘शुक्रबार पर्यटन विभागमा दोस्रोपटकको अनुमतीका लागि पत्राचार गर्दै छौं।’

कामीरिता सेभेन समिटमा वरिष्ठ गाइडका रुपमा आवद्ध छन्।

कामीरिताले एकै सिजनमा दुईपटक सगरमाथा आरोहण गर्न लागेको यो चौथो पटक हो। उनले सन् २००९, २०१० र २०१३ मा एकै सिजनमा दुईपटक सगरमाथा आरोहण गरेका थिए।

कामीरितालाई सेभेन समिटले दुई वर्षका लागि वार्षिक ३० हजार अमेरिकी डलरमा अनुबन्ध गरेको छ। ‘यो रकममध्ये मैले सगरमाथा आरोहणका लागि २० हजार डलर (२२ लाख ५१ हजार हाराहारी) र बाँकी १० हजार (११ लाख २५ हजार रुपैयाँ) मनास्लु हिमाल अरोहण गरेवापत लिन्छु,’ सगरमाथातर्फ लाग्नुअघि कामीरिताले कान्तिपुरसँग भनेका थिए।

उनका अनुसार दुई वर्षको समय अबको हिउँदयाममा सकिँदै छ। उनी यो कम्पनीमा अनुबन्ध हुनुअघि अमेरिकी कम्पनी अल्पाइन एसेन्टसँग आवद्ध थिए।

कामीरितापछि सर्वाधिक सगरमाथा आरोहण गर्नेमा सोलुखुम्बुकै आप्पा शेर्पा, फुर्वातासी शेर्पा र ङिमा नुरु शेर्पा छन्। उनीहरूले २१ पटक चुचुरामा पाइला राखिसकेका छन्। सन् २०११ मा २१ औं पटकको कीर्तिमानी राखेर आप्पाले आरोहणबाट विश्राम लिइसकेका छन्।

उनीपछि २०१३ मा फुर्वातासी आप्पाकै हाराहारीमा पुगेका थिए। निमा नोरु शेर्पा भने २२
औं पटककालागि यस सिजनमा आरोहण गर्दै छन्।
२४ वर्षको उमेर छँदा २०५१ सालमा पहिलोपटक सगरमाथा आरोहण गरेका कामीरिताले २५ पटक आरोहण गरेर मात्रै विश्राम लिने सार्वजनिक घोषणा गरेका छन्।

एकपटक तिब्बततर्फको उत्तरी मोहोडाबाट चुचुरामा पुगेका कामीरिताले २२ पटक नेपालतर्फको दक्षिणी मोहोडाबाट सगरमाथा चुचुरामा पाइला राखेका हुन्। यीनले ८ हजारभन्दा अग्ला सगरमाथा बाहेक आठपटक चोयू, एकपटक ल्होत्से, दुईपटक मनास्लु र एकपटक पाकिस्तानमा रहेको केटू गरी ३५ पटक आरोहण गरीसकेका छन्।

प्रकाशित : जेष्ठ २, २०७६ १५:१०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT