कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

युवतीमाथि किन प्रहार हुन्छ एसिड ?

५ वर्षमा एसिड प्रहारबाट १२ महिला र ३ पुरूष पीडित भएका छन् । प्रहरीका अनुसार धेरै घटनामा पीडित किशोरी छन् । घटनाको अन्तर्यमा प्रेमसम्बन्ध र प्रतिशोध मिसिएको छ 
जनकराज सापकोटा

काठमाडौँ — चार वर्षअघि काठमाडौंको वसन्तपुरमा भएको एसिड प्रहारको घटनालाई सम्झाउने गरी बुधबार राति कालोपुलमा २० वर्षीया जेनी खड्कामाथि एसिड प्रहार भयो । राति झन्डै साढे सात बजे डेराबाहिर बोलाएर विष्णु भुजेलले एसिड छ्यापेका थिए । प्रहरी परिसर काठमाडौंले उनलाई काँडाघारीस्थित एक भट्टीमा रक्सी पिइरहेको अवस्थामा राति १० बजे पक्राउ गरेको थियो ।

युवतीमाथि किन प्रहार हुन्छ एसिड ?

जेनीकी आमा कमलाका अनुसार गाला, घाँटी र काँध एसिडले जलेको छ । उनको कीर्तिपुरस्थित बर्न सेन्टरमा उपचार भइरहेको छ । पाँच वर्षअघि ८ कक्षा पढदै गर्दा जेनीले विष्णुसँग भागीविवाह गरेकी थिइन् । छोरा पाएपछि मात्रै जीवनले उनलाई काभ्रे, दाप्चास्थित घर लगे । त्यही बेला उनले श्रीमानले झुक्याएको र घरमा पहिली श्रीमती भएको थाहा पाएकी थिइन् । त्यस लगत्तै उनी माइती आएर कालोपुलस्थित डेरामा आमा र बैनीसँग बसिरहेकी थिइन् ।


पहिली श्रीमती वैदेशिक रोजगारीमा गएपछि एक्लै परेका विष्णुले उनलाई आफूसँगै बस्न कर गरिरहेका थिए । काभ्रेको पनौतीमा मोटरसाइकल वर्कसपमा कार्यरत उनी जेनीले आफनो कुरा नमानेपछि बुधबार पनौतीकै एक सुन पसलबाट रक्सीको सानो सिसीमा एसिड लिएर काठमाडौं आए । आमा घरमा नभएका बेला साँझ ७ बजेतिर विष्णुले डेरामा पुगेर जेनीलाई तान्दै बाटामा ल्याए र एसिड छ्यापेर फरार भए ।


प्रहरी परिसर काठमाडौंका डीएसपी होबिन्द्र बोगटीका अनुसार विष्णुले बनेपाको सुनचाँदी पसलबाट एसिड किनेका थिए । एसिड प्रहार लगत्तै जेनी चिच्याएपछि स्थानीयले उनलाई चाबहिलको ओम अस्पताल पुर्‍याएका थिए । त्यहाँ उपचार नहुने भएपछि कीर्तिपुरको बर्न सेन्टरमा पुर्‍याइएको थियो । डीएसपी बोगटीका अनुसार अस्पताल लगेपछि पनि जेनीको शरीरमा पोलेको गन्ध आइरहेको थियो भने एसिडले बेडको तन्नासमेत डढेको थियो । उनले भने, ‘एकदमै पीडादायक अवस्था थियो । मैले त हेर्न पनि सकिनँ ।’


महानगरीय प्रहरी वृत्त कमलपोखरीमा भेटदा जेनीकी आमा भावविहवल अवस्थामा थिइन् । शब्द पनि घाँटीमै अडकिएजस्तो उनी बोल्न सकिरहेकी थिइनन् । रातभर अस्पतालमा छोरीलाई रुँघेर थप कानुनी प्रक्रियाका लागि बिहीबार बिहानै कमलपोखरी वृत्त आएकी उनी अनिदो अनुहार र आँखाका डिलभरि आँसु लिएर टोलाइरहिन्, धेरै बेरसम्म बोलिनन् । कान्तिपुरको अनुरोधमा उनले आफैंलाई सम्हाल्दै आक्रोश पोखिन्, ‘बोलेर मात्रै के होला र ? खै निर्मला पन्तले न्याय पाएको ? त्यस्तै त होला ।’


यति भनेपछि उनी धेरैबेर रोकिइन् अनि आफैंलाई सम्हाल्दै भनिन्, ‘नहुने कुरा भइसक्यो । मलाई न्याय चाहियो । दोषीलाई यस्तो कारबाही होस्, भोलिका दिनमा मेरी छोरीलाई जस्तो कसैलाई नपरोस् ।’


कानुनी प्रक्रिया सकिएपछि उनले घटघटी चिसो पानी पिइन् । आफैंभित्रको छटपटीलाई शान्त पारिन् र घटनाबारे सुनाइन् । बुधबार घटना हुँदा उनी बालुवाटारस्थित एक घरमा काम गर्दै थिइन् । श्रीमानको मृत्युपछि सुत्केरी स्याहार र घरायसी काम गर्दै सानी छोरी र जेनीको हेरचाह गरिरहेकी थिइन् । ‘हुर्रिंदै घर आएपछि त मेरो होसै हरायो,’ उनले भनिन् ।


उनले कलिलैमा छोरीलाई विष्णुले मायाजालमा फसाएको सुनँइन् । ‘बिहेपछि पनि उसले अत्यधिक मदिरा सेवन गर्थ्यो, छोरीलाई कुटपिट गर्थ्यो,’ उनले भनिन् । केही समय विष्णु र जेनी ओखलढुंगामा बसेका थिए । त्यहाँ छँदा पनि मदिरा सेवन गर्ने र कुट्ने गरेपछि विष्णु प्रहरी नियन्त्रणमा पनि बस्दै, छुटदै गरेका थिए ।


कमलाले आफूसँग उपचार गर्ने खर्च पनि नभएको सुनाइन् । ‘काम गर्ने घरका मान्छेले केही रकम दिए, केही सापटी खोजेँ,’ उनले सुनाइन्, ‘हिजै मात्र आठ हजार खर्च भयो । अरू पैसा कहाँ खोज्ने ? न माइतीतिर दिन सक्ने अवस्था छ न घरमै खर्चने आधार छ ।’


यति भनेपछि उनी धेरबेर बोलिनन् । आँखाका डिलमा छचल्किएको आँसु हर्थुङ्गाले पुछिन् र भनिन्, ‘विष्णु नाम भएर के गर्नु, राक्षसजस्तो व्यवहार देखाएपछि । त्यसको नाम कहिल्यै सुन्न नपरोस् । जसरी हुन्छ मलाई न्याय चाहियो ।’ घटनापछि जेनीका छोरालाई पुष्पा बस्नेतको प्रारम्भिक बाल विकास केन्द्रमा राख्ने व्यवस्था मिलाइएको छ ।


एसिड प्रहारको शृंखला

चार वर्षअघि २०७१ फागुन १० गते ट्युसन सेन्टर जाँदै गरेका सीमा बस्नेत र संगीता मगरमाथि जीवन विकले एसिड छ्यापेका थिए । संगीताले प्रेम अस्वीकार गरेको प्रतिशोधमा जीवनले नयाँ सडकबाट एक सय २५ रुपैयाँमा एसिड किनेर ल्याई छ्यापेका थिए ।


यस्तै प्रकृतिको घटना चार वर्षपछि कालोपुलमा दोहोरियो । दुवै घटनामा प्रतिशोध साध्नकै लागि एसिड प्रहार भएको र आरोपितले सजिलैसँग एसिड किनेर ल्याएको देखिन्छ । प्रहरी प्रधान कार्यालयका अनुसार आर्थिक वर्ष २०७१/७२ पछिका ५ वर्षमा एसिड प्रहारका घटनाबाट १२ महिला र ३ पुरुष पीडित भएका छन् । प्रहरीका अनुसार अधिकांश यस्ता घटनामा किशोरी पीडित बन्ने गरेका छन् र घटनाको अन्तर्यमा प्रेमसम्बन्ध र प्रतिशोध मिसिएको भेटिन्छ ।


प्रहरीको तथ्यांकले पाँच वर्षयता एसिड प्रहारका घटनाबाट पीडित बन्ने महिलाको संख्या बढिरहेको देखाउँछ । जस्तो कि आर्थिक वर्ष २०७१/७२ मा एसिड प्रहारबाट ३ महिला पीडित बनेका थिए भने २०७५/७६ मा एसिड पीडित महिलाको संख्या ४ पुगेको छ ।


२०७५ असोज पहिला साता आफूभन्दा तेब्बर उमेरका ५० वर्षीय रामबाबु पासवानले रौतहट चन्द्रनिगाहपुर ६ की १८ वर्षीया सम्झनाकुमारी दासमाथि एसिड छ्यापेका थिए । एसिडबाट अनुहार जलेकी सम्झनाको कीर्तिपुरस्थित बर्न सेन्टरमा उपचारक्रममा मृत्यु भयो । प्रेम अस्वीकार गरेकै झोकमा रामबाबुले सम्झनामाथि आक्रमण गरेका थिए ।


२०७५ असोजको पहिलो साता नै नवलपरासीको कावासोती १६, डन्डा हरबासीकी २७ वर्षीया वसन्ती परियारमाथि छिमेकी ३७ वर्षीय विमल श्रीपालीले एसिड प्रहार गरेका थिए । वसन्तीको अहिले पनि उपचार चलिरहेको छ ।

पूर्वडीआईजी नवराज ढकाल क्षणिक प्रतिशोध साध्न पीडकले सहजै रूपमा उपलब्ध एसिड दुरुपयोग गरिरहेको बताउँछन् ।


उनले दक्षिण एसियाली देशमा युवतीमाथि एसिड प्रहार गर्ने घटना हुने गरेको बताउँदै एसिडको खुला किनबेच र सहज उपलब्धता प्रमुख समस्या रहेको बतँए । एसिड प्रहारका घटना समेटिएका फिल्म र एसिड प्रहारका घटनाबारे समाचार तन्नेरीहरूको अवचेतनमा रहने र प्रतिशोध साध्नकै लागि उनीहरूले सहज रूपमा पाइने एसिड प्रयोग गर्ने गरेको उनले बताए ।

प्रकाशित : जेष्ठ ३, २०७६ ०७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?