१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

डिभिजन प्रमुखसहित २० जनाविरुद्ध मुद्दा

काठमाडौँ — डिभिजन वन कार्यालय, मकवानपुरका प्रमुख प्रह्लादप्रसाद धितालसहित २० जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । सामुदायिक वनमा सालका २ सय ८ वटा रूख कटान गरी १ करोड ५८ लाख ७० हजार ७ सय ९० रुपैयाँ ३८ पैसा हानिनोक्सानी पुर्‍याएको पुष्टि भएपछि अख्तियारले बुधबार मुद्दा दायर गरेको हो ।

उपसचिव धिताल, सहायक वन अधिकृतहरू विशाल भट्टराई, टंकनारायण श्रेष्ठ, नारायणबहादुर कार्की, दशराम चौधरी र अवकाशप्राप्त सहायक वन अधिकृतद्वय मोहनबहादुर खड्का र राजेन्द्रमान राजभण्डारी, रेञ्जर राजु लामा, फरेस्टर ब्रह्मदेव यादव, वनरक्षक देवीप्रसाद गौतमलगायत विरुद्ध १ करोड ५८ लाख ७० हजार ७ सय ९० रुपैयाँ बिगोसहित कैद सजाय मागदाबी गरिएको छ ।


मकवानपुरको बकैया गाउँपालिका-२ मा पर्ने ब्रह्म सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष मर्दनसिंह थिङसहित ठेकेदार, वन समिति र वन कार्यालयसमेतको मिलेमतोमा डिभिजन प्रमुख धितालले १ लाख रुपैयाँसमेत घूस लिएर ११ हजार १ सय ५४.४९ हजार क्युबिक फिट काठ कटानी र संकलन अनुमति दिएको अख्तियारले जनाएको छ ।


मकवानपुरकै स्थायी बासिन्दा धिताल प्रदेश ३ को वन मन्त्रालयमा हाजिर भए पनि लामो बिदामा थिए । जंगलबाट काठ सहज ढंगले बेचबिखन गर्न सजिलो होस् भनेर ठेकेदार र सामुदायिक वनका पदाधिकारीले २० लाख रुपैयाँभन्दा बढी रकम विभिन्न निकायमा पहिल्यै बाँडेका थिए ।


हेटौंडास्थित होटल सामनाका सञ्चालक सानुकाजी आचार्य, सामना काष्ठ उद्योगका सञ्चालक सुरज आचार्य, सामुदायिक वनका अध्यक्ष थिङ, कोषाध्यक्ष शुक्रबहादुर भोलन, ब्रह्म आधारभूत विद्यालयका प्रधानाध्यापक राजन भन्ने रामबहादुर घोरसाइनी, सामुदायिक वनका सल्लाहकार जीवन भन्ने भीमबहादुर थिङ, ढलापडा काठदाउरा संकलन समितिका संयोजक बनेका भुटानी भन्ने बुद्धबहादुर लोप्चन, सदस्यद्वय सोमबहादुर तिमल्सिना र सुर्जबहादुर जिम्बा भन्ने सूर्यबहादुर जिम्बाविरुद्ध पनि बिगोदाबी गरिएको छ ।


उक्त सामुदायिक वनभित्रका २ सय ६२ वटा ढलापडा सालका रूख मात्र कटान गर्नका लागि छपान भएकामा ठेकेदारहरूले बदनियतपूर्वक छपान नगरेका सालका हरिया सग्ला २ सय ८ रूख कटान (९४९७.७८ क्युबिक फिट) गरेकाले उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐनअनुसार अदालतमा आरोपपत्र दायर गरिएको अख्तियारा प्रवक्ता प्रदीप कोइरालाले उल्लेख गरेका छन् ।

प्रकाशित : जेष्ठ ३, २०७६ ०८:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?