कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

भण्डारीका विचारलाई पार्टीले छाड्न मिल्दैन : ओली

रासस

काठमाडौँ — प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारीका विचारलाई पार्टीले छाड्न नमिल्ने बताएका छन् ।

भण्डारीका विचारलाई पार्टीले छाड्न मिल्दैन : ओली

२६ औं मदन-आश्रित स्मृति दिवस एवं पार्टी एकता वार्षिकोत्सवका अवसरमा नेकपाद्वारा मदननगरमा आयोजित कार्यक्रममा उनले भण्डारीले अगाडि सारेका विचार र सोचकै कारण आज बहुमतका साथ वर्तमान ठाउँमा रहेकाले उनको विचारलाई छाड्न नमिल्ने बताए।


'मदन भण्डारीले अगाडि सारेको विचारधारालाई पार्टीले छाड्दैन । त्यस विचारको धाराबाट पार्टी अगाडि बढ्छ,' उनले भने, 'मदनको विचारलाई छाड्न मिल्दैन । यस विचारलाई छाडेर जाने कता ? यसबाट अगाडि बढ्ने कुरामा सबै निश्चित हुनुहोस् ।'

भण्डारीको विचारधाराले पार्टीको एकतालाई अझ खँदिलो बनाउने समेत उनकाे भनाइ थियो । अध्यक्ष ओलीले भण्डारीले अगाडि सारेको विचारलाई मन्त्र र शास्त्रका रुपमा नभई मार्गदर्शकका रुपमा लिनुपर्ने विचार व्यक्त गरे । 'मदनको विचारलाई सूत्रका रुपमा घोक्ने, कण्ठ गर्ने होइन । हिजो मदन भण्डारीले जे जे भन्नुभयो, त्यही त्यही काम चल्छ भन्ने पनि होइन । समयानुकूल ढङ्गले यसको सिर्जनात्मक प्रयोग कसरी हुन्छ भन्ने हिसाबले हामी अगाडि बढ्दै आएका छौँ,' उनले भने ।


उनले बिहीबार मात्र जनवर्गीय संगठनको एकता गरिएको भन्दै पार्टी एकतालाई फराकिलो ढंगले लैजानुपर्नेमा जोड दिए। 'यतिबेला चित्त सानो पारेर होइन, मन दुखाउने होइन । फराकिलो मनले पार्टी एकता र एकीकरणको भावनालाई मिलाउनुपर्छू,' उनले भने । उनले दुई वैचारिक धारालाई मिलाएर एउटा पार्टी बनाइएको उल्लेख गर्दै त्यसलाई एक ठाउँमा अन्तरघुलित बनाउन थालिएको बताए ।


एकताका बाँकी काम (विभिन्न निकाय, विभागको कार्यविभाजन) केही दिनभित्र पूरा हुने समेत उनकाे भनाइ छ । अध्यक्ष ओलीले महान् आन्दोलनमा लागेकाले नेकपाका लागि परिस्थिति चुनौतीपूर्ण रहेको उल्लेख गर्दै पराजित प्रतिक्रियावादीले यथास्थितिलाई भत्काउन खोजेको समेत बताए । उनले भने, 'पराजित प्रक्रियावादीले सहजै पराजय स्वीकार गर्दैनन् । जनताको आन्दोलन र सफलता देख्न रुचाउँदैनन् । त्यसकारण उनीहरु यथास्थितिलाई भत्काउन खोज्दैछन् ।' उनले अनेक निराशा फैलाउने कोशिष भइरहेको छ भन्दै त्यस्ता निराशा कम्युनिष्टले राख्नु नपर्ने र निराश हुने अवस्थामा आउन नदिइने पनि बताए ।

सरकार देश र जनताका पक्षमा दृढदापूर्वक लागेर काम गरिरहेको भन्दै प्रधानमन्त्री ओलीले कहीँकतै कमजोरी भएमा तिनलाई सच्चाएर अगाडि बढ्ने बताए ।

–शरद शर्मा

प्रकाशित : जेष्ठ ३, २०७६ १४:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?