'चिया गफ' राजनीतिक अन्तरक्रिया

लीलावल्लभ घिमिरे

विराटनगर — एक हुल मान्छेको बिचमा शुक्रवार बिहानै कांग्रेस केन्द्रीय सदस्य शेखर कोइराला घेरिएका थिए । सबैका हातमा चिया कप थिए । चियाको चुस्कीसँगै सबैले पालो गरी गरी जिज्ञासा राखिरहेका थिए । चियाको चुस्कीसँगै कोइराला जिज्ञासाको जवाफ दिइरहेका थिए ।

'चिया गफ' राजनीतिक अन्तरक्रिया

यो कुनै राजनीतिक दल वा संस्थाले आयोजना गरेको कार्यक्रम नभई 'चिया गफ' मात्र थियो । विराटनगरको बरगाछी चोकपूर्वको चिया पसलमा चिया पिउनैका लागि आएका कोइराला डेढ घण्टाभन्दा बढी त्यही गफिए ।

सडक छेउमा राखिएको कुर्सीमा बसेका कोइरालाले २ कप चिया पिए र लामो समय राजनीतिक गफ गरे । दैनिक १५/२० जना चिया पिएर राजनीतिक गफ गर्ने यो चोकमा कोइराला आएपछि वरिपरिका ५० जना जति भेला भएका थिए । जम्मा भएकाहरूले कोइरालालाई कांग्रेसले सदनमा खेला भूमिका नेताहरूका मात्र होइन उनकै आलोचना समेत गर्न भ्याए ।


कोइरालाले हाँसिहाँसी जिज्ञासालाई शान्त पर्ने कोसिस गर्दै पार्टी नेतृत्वको आलोचना समेत गरे । उनले कांग्रेसलाई के गर्नु पर्‍यो र आफूले के गर्दा ठिक हुन्छ भन्ने सल्लाह समेत लिएका थिए ।


तीन दिन अघि कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल त्यही पसलमा पुगेका थिए । रातो चिया खाएका पौडेललले करिब १ घण्टा त्यहाँ बिताए । ३० जनाभन्दा बढी भेला भएका स्थानीयले पौडेलसँगै बसेर चिया पिउँदै कांग्रेसको भविष्य वर्तमान सरकारको शासन शैलीका बारेमा छलफल गरे ।


बरगाछी मात्र होइन धेरै टोलमा हरेक दिन बिहान चिया गफसँग राजनीतिक बहस हुन्छ । कञ्चनबारिमा एका बिहानै भेला हुने एक समूहले यस्तै राजनीतिक बहस गर्ने गर्छ । हरेक दिन बिहान ६ बजेपछि वडानम्बर ४ का वडाअध्यक्ष देवेन्द्र पोखरेल सहितको टोली त्यहाँ जम्मा हुन्छ । 'हाम्रो चलन नै भइसक्यो,' उनले भने, 'देशको राजनीतिक अवस्था मात्र हैन हरेक नयाँ कुरा बिहानको चोकको चिया गफबाट थाहा हुन्छ ।' सँगै रहेका विरेन यादव चिया गफले साथी भाइ सँगको आत्मीयता मात्र हैन धेरै कुराको जानकारी पाउन सकिन्छ ।'


'आज बिहानको चिया गफमा सरकारले ल्याएको सूचना सम्बन्धी विधेयककै बारेमा छलफल भएको थियो,' देवकोटा चोकमा दैनिक चिया गफमा सहभागी हुने पिताम्बर दाहालले भने, 'यो विराटनगरको प्रचलन नै भएको छ ।' पञ्चायतकालमा समेत यसरी नै बिहान चोकमा भेला भएर चिया गफसँग राजनीतिक बहस हुने गरेको दाहालको भनाइ छ ।


विराटनगरकै वन कार्यालय चोकमा पनि हरेक बिहान यस्तै चिया गफ हुने गर्छ । चोकै पिच्छेका चिया गफमा निकै रस्साकसी समेत पर्ने गर्छ । चिया गफको विषय वस्तु प्राय राजनीतिक हुन्छ । सरकारका बारेमापनि यस्ता गफमा गहन छलफल हुने गर्छ भने प्रमुख राजनीतिक दल, तिनका नेता तथा उनीहरूले बोलेका कुरामा चिया गफमा चर्काचर्की नै पर्ने गर्छ ।

यो राजनीतिक सहर भएका कारण पनि यहाँका हरेक चोकमा बिहान जम्मा भएर देशमा भइरहेका कुराहरूको समीक्षा हुनु स्वाभाविक भएको पिताम्बर दाहालको भनाइ छ । 'एक समय थियो, देशले भोलि सोच्ने कुरा विराटनगरले आज सोच्छ' भनिन्थ्यो,' एलिट क्लबका अध्यक्ष विश्वनाथ रिजालले भने, 'त्यसको एउटा कारण यहाँका चिया गफमा हुने राजनीतिक मन्थन पनि हुन् ।'


चोकका चिया पसलका अलावा सबैभन्दा पुरानो एलिट क्लबमा समेत हरेक शुक्रवार देशका समसामयिक विषयवस्तुमा छलफल हुने गरेको छ ।

प्रकाशित : जेष्ठ ३, २०७६ २०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?