कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चरेससहित पक्राउ परेका युवालाई छुटाउन भारतीयले गरे प्रहरी कार्यालय घेराउ, स्थिति नियन्त्रणमा लिन दर्जनौं राउण्ड हवाई फायर

सांसद कृष्णा केसी पनि ४ घण्टा प्रदर्शनकारीको घेरा परिन्
मधु शाही

बाँके — ५ किलो चरेससहित पक्राउ परेका भारतीय नागरिकलाई प्रहरी हिरासतबाट मुक्त गर्न शुक्रबार बाँकेको राप्तीपारी तनावग्रस्त बन्यो । प्रहरीले स्थिति नियन्त्रणमा लिन ६५ राउन्ड गोली चलाउनु परेको थियो । देवीदिन बिक नाम गरेका भारतीय नागरिक राप्तीपारी नरैनापुरमा चरेससहित पक्राउ परेपछि उनलाई छुटाउन भन्दै सीमापारिका अधिकांश नागरिक नेपाल छिरेर प्रहरी कार्यालयलाई घेराउ गरेसँगै स्थिति तनावग्रस्त बनेको थियो ।

चरेससहित पक्राउ परेका युवालाई छुटाउन भारतीयले गरे प्रहरी कार्यालय घेराउ, स्थिति नियन्त्रणमा लिन दर्जनौं राउण्ड हवाई फायर

प्रहरीका गाडीमा ढुङ्गामुढा र आगजनी भएपछि स्थिति नियन्त्रण गर्न गोली चलाउनु परेको प्रहरीले बताएको छ ।

आफ्नो निर्वाचन क्षेत्रमा पर्ने सीमा क्षेत्रको स्थलगत अनुगमन गरेर फर्किएकी प्रदेश ५ की सांसद कृष्णा केसी पनि ६ बजे प्रहरी कार्यालयमा पुगेकी थिइन् । त्यसैबेला उनी पनि भारतीयहरुको घेराबन्दीमा परेकी थिइन् । 'मलाई सीमा क्षेत्रका मान्छेले घेरेर पक्राउ परेका भारतीय नागरिक नछुटाएसम्म कतै जान नदिने धम्की दिए ' उनले भनिन् । उनका अनुसार ४ घण्टासम्म प्रहरी कार्यालयमा उनलाई घेरा हालेर बार्गेनिङ गरिएको थियो ।


'सबै घरेलु हातहतियारसहित थिए,' उनले भनिन्, 'अपराधी छुटाउने मेरो अधिकारको कुरो थिएन । त्यो प्रशासनले अनुसन्धान गर्ने हो भन्दा स्थिति झनै डरलाग्दो बन्यो ।'


राती पौने दश बजे मात्रै जिल्लाबाट थप प्रहरी सुरक्षाका लागि आयो । प्रशासनले थप सुरक्षा बल बेलैमा पठाइदिएको स्थिति नियन्त्रणमा लिन सहज पर्ने उनले तर्क गरिन् ।


शनिबार पत्रकार सम्मेलन मार्फत सांसद् केसीले जानकारी गराउँदै भनिन्, 'यस्तो बेला आफ्नै मुलुक बिरानो भएको महसुस गरेँ ।' उनले सीमावर्ती क्षेत्रमा असुरक्षा बढ्दो देखिएकाले राज्यले यहाँ सुरक्षा शक्ति बढाउनुपर्ने बताइन् । आफूले यस विषयमा सरकार समक्ष कुरा राख्ने उनले बताइन् ।


नरैनापुर गाउँपालिका प्रमुख इस्तिहाक अहमद शाहले भारतीय नागरिकको मनोमानीले असुरक्षित महसुस भएको बताए । अचानक भएको यस्तो घटनाबाट स्थानीय त्रसित भएका छन् ।


नेकपाका सचिव अशोक कोइरालाले यो घटनाले राज्यकै अस्मितामा आँच आउने संकेत गरेको बताउँदै दोषीलाई कुनै पनि हालतमा उम्किन नदिने बताए । 'यहाँका आम मानिस पनि सुरक्षित छैनन्', उनले भने, 'राज्य सुरक्षामा गम्भीर हुन जरुरी छ ।'


सीमापारिबाट आएका भारतीय युवाले देवीदिन विक नछोडेसम्म घेरा हाल्दै प्रहरीका गाडीमाथि ढुङ्गा मुढा र आगजनी गरेको बाँके प्रहरीका निमित्त प्रमुख डिएसपी प्रकाश सापकोटाले बताए । प्रहरीका अनुसार स्थानीय हाटबजारमा पसल थाप्दै आएका देवीदिनले तस्करी गरेको लागूपदार्थ सहित नेपालमा प्रहरीले उनलाई पक्रिएको हो ।देवीदिनमाथि प्रहरीले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : जेष्ठ ४, २०७६ १४:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?