१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

अनुशासनहीनताले कांग्रेस पछि पर्‍यो : देउवा

विनोद भण्डारी

विराटनगर — कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीभित्र असहिष्णुता, आन्तरिक किचलो र अनुशासनहीनता हुँदा कांग्रेसले पछि परेको बताएका छन् । कृष्णप्रसाद कोइराला स्मृति परिषद्ले शनिबार राजनीतिक विश्लेषक नरहरि आचार्यलाई गरेको सम्मान कार्यक्रममा देउवाले गएको निर्वाचनमा अन्तरघातीहरूले पार्टीका उम्मेदवारलाई हराएको बताए । 

अनुशासनहीनताले कांग्रेस पछि पर्‍यो : देउवा

आफ्ना आलोचक पार्टीका केन्द्रीय सदस्य शेखर कोइरालाप्रति इंगित गर्दै देउवाले मोरङमै अन्तरघातीले 'केला' र 'चुला' को नारा सार्वजनिक गर्दै उम्मेदवारलाई हराएको बताए । 'मोरङबाटै अनुशासन र मर्यादाको सुरुवात भए मुलुकभरिका कार्यकर्ताले पाठ सिक्छन्,' उनले भने ।


गएको संसदीय निर्वाचनमा मोरङको क्षेत्र नं. ६ मा कांग्रेसबाट संघीय संसद् सदस्यमा शेखर कोइराला तथा प्रदेश सदस्यमा केदार कार्की र चुमनारायण तवदार उम्मेदवार थिए । कोइरालालाई तत्कालीन एमालेका लालबाबु पण्डितले हराएका थिए । चुनावका बेला यो क्षेत्रमा केदार लालबाबु (केला), चुमनारायण लालबाबु (चुला) अभियान सञ्चालन भएको सबैलाई जानकारी भएको उल्लेख गर्दै देउवाले भने, 'जित्दा आफूले जितेको भन्ने र हार्दा सभापतिलाई दोष दिने प्रवृत्ति सुरु भयो । हार्नेहरू जित्नेसँग बोल्न पनि छाडेका छन् ।'


पार्टीभित्र अनुशासन नहुँदा मुलुकभर अन्तरघातीको संगठन बलियो बनेको उनको भनाइ थियो । 'उनीहरू पार्टीका उम्मेदवारलाई हराउँदा सबैभन्दा ठूलो सफलता हासिल भएको ठान्दै हिँड्ने गरेका छन्,' देउवाले भने, 'अन्तरघातीलाई कारबाही गर्दा पार्टी नै सिद्धिने स्थिति छ ।'


देउवाले अहिले पार्टीभित्र जोकोहीलाई बोल्न छुट रहेको बताए । 'म सभापति हुनुभन्दा पहिला पार्टीमा डरले कोही पनि बोल्ने प्रयास गर्दैनथे,' उनले भने । पार्टीको महाधिवेशन समयमै हुने बताउँदै उनले कांग्रेसको जागरण अभियानले देशभर राम्रो सन्देश गएको दाबी गरे । 'जागरण अभियानले पार्टीलाई नयाँ ऊर्जा मिल्छ,' उनले भने ।


प्रकाशित : जेष्ठ ४, २०७६ २१:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?