प्रहरीको खोजीमा रहेका बम्जन सिन्धुलीमा

सिन्धुली — प्रहरीको खोजीमा रहेका रामबहादुर बम्जन सिन्धुलीको कमलामाई नगरपालिका-८, पैरेस्थित आश्रममा सार्वजनिक भएका छन् । आश्रमबाटै अनुयायी बेपत्ता र बलात्कारको आरोप लाग्दै आएका उनीविरुद्ध प्रहरीमा उजुरी परेपछि भूमिगतजस्तै थिए ।

प्रहरीको खोजीमा रहेका बम्जन सिन्धुलीमा

विभिन्न व्यक्तिको उजुरीपछि चार महिनाअघि प्रहरीले सिन्धुपाल्चोकको बाँडेगाउँस्थित आश्रममा खानतलासी गर्नुका साथै पैरेमा समेत सोधपुछ गरेको थियो । त्यतिखेर प्रहरीले बम्जनलाई भेट्टाएन । प्रहरीको छानबिन पनि त्यसै सेलाएको छ ।

केही नबोल्ने बम्जनले शुक्रबार दिनभर टाउकोमा हात राखेर अनुयायीलाई आशीर्वाद दिएको आयोजक बोधीश्रवण धर्म संघले जनाएको छ । संघका अनुसार १४ औं विश्वशान्ति मैत्रीपूजाका अवसरमा ७७ जिल्लाबाटै आएका अनुयायीलाई तपस्वी बम्जनले दर्शन दिने कार्यक्रम छ ।

आश्रममा तपस्वी बम्जनकै अनुयायीले कडा निगरानी गर्नुका साथै सुरक्षासमेत दिएका छन् । गेटमा नाम लेखाएर मात्र प्रवेश दिइएको छ । छालाबाट निर्मित वस्तु र धातुबाट बनेका सरसामान लगाएर जानेलाई छिर्न दिइएको छैन । फोटो खिच्न रोक लगाइएको छ । विदेशीसमेत दर्शनका लागि लाम बसेका छन् ।


५ हजार बढी अनुयायीको नाम गेटमा इन्ट्री भएको बोधीश्रवण धर्म संघका केन्द्रीय सदस्य छत्र घिसिङले जानकारी दिए । करिब ४२ बिघा जमिनमा बम्जनको आश्रम छ । त्यसमध्ये २४ बिघा लालपुर्जा भएको र बाँकी सामुदायिक वनको जग्गा हो । बम्जनको आवास भने चाइनिज शैलीको आलिसान भवनमा छ ।

उक्त भवनमा प्रवेश निषेध गरिएको छ । ठूलो पर्खाल र चारैतिर काँडेतार लगाइएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी चक्रबहादुर सिंहले बम्जनका विषयमा यतिखेर कुनै आदेश नआएको बताए । 'माथिबाटै छानबिन भएको हो, अहिले केही छैन,' उनले थपे ।

लिटिल बुद्धको उपनामले चिनिएका बम्जनमाथि जिल्ला प्रहरी कार्यालय मकवानपुर, नुवाकोट र बारामा चारवटा उजुरी छन् । मकवानपुर हेटौंडा १४ का महेन्द्र वाइबाले बम्जनको आश्रमबाट ४ वर्षदेखि बुबा सञ्चलाल हराएको भन्दै उजुरी दर्ता गराएका छन् । त्यस्तै बाराका हस्तबहादुर आलेमगरले बम्जनको आश्रमबाट छोरा हराएको भन्दै, मकवानपुरकै विजय रुम्बाले दिदी खोज्न भन्दै र नुवाकोटकी गंगामाया तामाङले बहिनी खोजिदिन भन्दै उजुरी दर्ता गराएका छन् ।

महेन्द्रले २०७२ को भूकम्पका बेला बुबा सञ्चलाल सिन्धुपाल्चोकस्थित आश्रममा रहेको, त्यसपछि फर्केर नआएको बताएका छन् । उनकै उजुरीपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बम्जनको सिन्धुपाल्चोकस्थित आश्रममा खानतलासी गरेको थियो । बम्जनको आश्रममा बसेका केही अनुयायीले भने सञ्चलालको हत्या गरिएको र शव गाडिएको हुन सक्ने बताएका थिए । त्यही शंकाका आधारमा प्रहरीले आश्रमभित्रको केही शंकास्पद स्थानमा खाडल खनेको थियो । त्यहाँ प्रहरीले नुनको पोकाको खोलबाहेक अन्य प्रमाण फेला पारेन ।

अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले शव गलाउन नुन प्रयोग गरिएको हुन सक्ने आशंका गरिए पनि पुष्टि हुने आधार नभेटिएको बताए ।

बम्जनको आश्रममा बस्दा आफूमाथि यौन हिंसा र बलात्कार गरेको आरोपमा महानगरीय प्रहरी अपराध महाशाखामा पनि उजुरी दर्ता भएको छ । उजुरीकर्ताले बम्जनको आश्रमभित्र आनीहरूमाथि यौन शोषण हुने गरेको र आफूमाथि पनि पटक-पटक बलात्कार गरेको बताउँदै आएकी छन् ।

प्रकाशित : जेष्ठ ५, २०७६ ०७:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?