चौकीमा भारतीयको आक्रमण, ६५ राउन्ड गोली चल्यो

बाँके — पाँच किलो चरेससहित पक्राउ परेका भारतीयलाई प्रहरीले छोड्न नमान्दा शुुक्रबार राति राप्तीपारिको नरेनापुरमा गोली चलेको छ । भारतीय नागरिकले आक्रमण गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले ६५ राउन्ड गोली चलाएको हो । 

चौकीमा भारतीयको आक्रमण, ६५ राउन्ड गोली चल्यो

भारतीय नागरिक देवीदिन विक शुक्रबार नरैनापुरमा चरेससहित पक्राउ परेका थिए । उनलाई छुटाउन सीमापारिका अधिकांश नागरिक आएर प्रहरी कार्यालय घेराउ गरेर गाडीमा ढुंगा र आगजनी गरेपछि गोली चलाउनुपरेको बाँके प्रहरीका निमित्त प्रमुख डीएसपी प्रकाश सापकोटाले बताए । देवीदिनलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको उनले बताए । गोली चलाइए पनि दुवैतर्फ कुनै क्षति नभएको प्रहरीले जनाएको छ ।

भारतीय नागरिक र प्रहरीको झडपले दिनभर त्यस क्षेत्रबाट प्रदेशसभामा निर्वाचित कृष्णा केसी पनि घेराबन्दीमा परिन् । सीमा क्षेत्रको स्थलगत अनुगमन गरेर फर्किने क्रममा सीमापारिका मान्छे आएर भारतीय नागरिक नछुटाएसम्म कतै जान नदिने धम्की दिँदै घेराबन्दीमा पारेको उनले बताइन् । उनलाई चार घण्टा घेराबन्दीमै राखिएको थियो । 'सबै घरेलु हतियारसहित थिए,' उनले भनिन्, 'अपराधी छुटाउने मेरो अधिकारको कुरा थिएन, त्यो प्रशासनले अनुसन्धान गर्ने हो भन्दा स्थिति झनै डरलाग्दो बन्यो ।'

राति पौने १० बजे जिल्लाबाट थप सुरक्षा गएपछि मात्र स्थिति नियन्त्रणमा आएको उनले बताइन् । नरैनापुर गाउँपालिका प्रमुख इस्तिहाक अहमद साहले भारतीय नागरिकको मनोमानीले यस क्षेत्रका सर्वसाधारणले असुरक्षित महसुस गरेको बताए ।

प्रकाशित : जेष्ठ ५, २०७६ ०७:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?