प्रहरी समात्ने, अदालत छाड्ने

जनकराज सापकोटा

काठमाडौँ — सरकारले प्रतिबन्ध लगाएपछि पक्राउ परेका नेत्रविक्रम चन्द समूहका अधिकांश नेता-कार्यकर्ता अदालतबाट रिहा भएका छन् ।

काठमाडौंको अनामनगरबाट वैशाख २७ मा पक्राउ परेका अखिल क्रान्तिकारीका चिरञ्जीवी ढकाल सात दिनपछि शुक्रबार अदालतबाट छुटे । पक्राउ, अदालत पेस र रिहाइको शृंखलामा जोडिएका उनी पछिल्लो नेता हुन् । काठमाडौं जिल्ला अदालतले थुनछेक बहसपछि न्यायाधीश मोहनराज भट्टराईको इजलासले उनलाई साधारण तारेखमा छोडेको हो । वैशाख २ मा पक्राउ परेका ठाकुरप्रसाद तिम्सिना पनि २६ दिनपछि १० हजार धरौटी बुझाएर छुटेका थिए ।

मन्त्रिपरिषद् बैठकले फागुन २८ गते चन्द समूहमाथि प्रतिबन्ध लगाएलगत्तै सरकारले त्यसका नेता-कार्यकर्तामाथि निगरानी बढाउन र सार्वजनिक रूपमा कार्यक्रम गर्न नदिन सुरक्षा निकायलाई निर्देशन दिएको थियो । सरकारी निर्णयपछि प्रहरीले देशैभरि पक्राउ तीव्र पारेको थियो । यसरी पक्राउ गरिएका नेता-कार्यकतर्ा धमाधम छुटिरहेका छन् । प्रहरीले छुटेकालाई फेरि पक्रँदै फरक मुद्दा वा फरक जिल्लामा लगेर मुद्दा चलाएको पनि छ । पक्राउ पर्ने र छुट्ने क्रम भने रोकिएको छैन ।

प्रतिबन्ध लगाउने निर्णयको कानुनी जग नभएकै कारण पक्रने, अन्तिम दिनसम्म थुनामा राख्ने र अदालतबाट छुट्ने क्रम देखिएको छ । चैत दोस्रो साता सिन्धुपाल्चोक जिल्ला अदालतले राज्यविरुद्ध अपराध कसुरमा मुद्दा चलाइएका चन्द समूहका १७ नेता-कार्यकर्तामध्ये एक जनालाई २५ हजार धरौटी, १३ जनालाई जनही ६ हजार धरौटी र तीन जनालाई साधारण तारेखमा छाड्ने आदेश गर्‍यो ।

फागुन पहिलो साता पक्राउ परेका दाङ जिल्ला सचिवालय सदस्य प्रदीप वली, ईश्वरी पाण्डे र तुलसीपुर उपमहानगरपालिका सचिव रुद्र वलीलाई प्रहरीले सार्वजनिक अपराध मुद्दा लगाएको थियो । उनीहरू फागुन २८ मा उच्च अदालत दाङको आदेशपछि छुटे । गैरकानुनी रूपमा थुनामा राखेको भन्दै प्रदीपको परिवारले उच्च अदालत पाटनमा मुद्दा दायर गरेलगत्तै उनीहरू छुटेका हुन् ।

प्रहरीले पक्राउ गर्ने तर अदालतबाट सामान्य तारिख वा धरौटीमा छुट्ने क्रम देशैभरि जारी छ । कान्तिपुरसँग सम्पर्कमा आएका केही जिल्लाका मुद्दा शाखाका प्रहरी अधिकारीले सरकारी प्रतिबन्धलाई विद्यमान कानुनले नचिन्ने भएकाले समस्या निम्तिएको बताए ।

उनीहरूका अनुसार फौजदारी अपराध संहिता वा संगठित अपराध निवारण ऐन संशोधन नगरेसम्म पक्रने र छुट्ने शृंखला रोकिने देखिँदैन । कुनै हिंसात्मक घटनामा संलग्न भएको पुष्टि हुने आधारबाहेक घटनामा चन्द समूहका नेता-कार्यकर्ता सजिलै छुटेका देखिन्छन् ।

अदालतबाट छुटेका नेता-कार्यकर्तालाई प्रहरीले पुनः पक्राउ गर्ने र फरक मुद्दामा पक्राउ गरेर म्याद थप्दै थुन्ने काम गरेको देखिन्छ । केहीको हकमा भने छुटेलगत्तै फरक जिल्ला पुर्‍याएर पक्राउ गर्ने र फेरि मुद्दा चलाउँदै थुनामा राख्ने गरेको छ । चैत २४ गते शिक्षक संगठनका केन्द्रीय सल्लाहकार वीरबल वलीलाई जिल्ला प्रहरी कार्यालय दाङले पक्राउ गरेर सार्वजनिक अपराध मुद्दा चलायो । यस्तो मुद्दामा प्रहरीलाई जिल्ला अदालतबाट म्याद थप्दै २५ दिनसम्म थुनामा राखेर अनुसन्धान गर्ने अधिकार हुन्छ ।

म्याद सकिएपछि प्रहरीले उनलाई जिल्ला अदालतमा पेस गर्‍यो । उनी साधारण तारेखमा छुटे । लगत्तै प्रहरीले उनलाई फेरि समात्यो र जिल्ला प्रहरी कार्यालय रोल्पा पठाइदियो । अहिले रोल्पाले उसैगरी वलीलाई सार्वजनिक अपराधको मुद्दामा अनुसन्धानका लागि थुनामा राखेको छ ।

वलीमाथि विस्फोटक पदार्थ, टेलिफोन टावरमा आगजनी र पश्चिम रोल्पाको त्रिवेणी गाउँपालिकाको डोजरमा आगजनी गरेको भन्दै सार्वजनिक सम्पत्तिमाथिको आक्रमणसहित तीन फरक-फरक मुद्दा लगाइएको छ । चैत १२ मा चन्द समूहका तीन नेता टीकाराम परियार, नपेन्द्र सेन र लालबहादुर सुनुवारलाई जिल्ला अदालत रोल्पाले जनही ६० हजार धरौटीमा छोड्न आदेश थियो ।

यी तीनै जनाविरुद्ध प्रहरीले सार्वजनिक हितविरुद्ध अपराधमा मुद्दा चलाएर म्याद थप गर्दै थुनामा राखेको थियो । यस्तो मुद्दामा प्रहरीलाई २५ दिनसम्म थुनामा राख्ने अधिकार हुन्छ । थुनामा राख्ने अन्तिम समयपछि प्रहरीले उनीहरूलाई अदालतमा पेस गर्‍यो । लगत्तै उनीहरू धरौटीमा छुटे ।

जिल्ला प्रहरी कार्यालय दाङले वैशाख ६ मा चन्द समूहका मध्यपश्चिम सैन्य विभाग प्रमुख चूडामणि ओलीसहित चन्द्रबहादुर खडका र लालबहादुर ओलीलाई पक्राउ गर्‍यो । यी तीनै जनालाई प्रहरीले संगठित अपराधमा मुद्दा अगाडि बढाउने गरी म्याद थपेर थुनामा राखेको छ ।

संगठित अपराधमा ६० दिनसम्म थुनामा राखी अनुसन्धान गर्न पाइने भएकाले प्रहरीले यस्तो मुद्दा चलाएको हो । अदालतबाट छुट्ने डरले पक्राउ परेका नेता-कार्यकर्तालाई प्रहरीले अन्तिम दिनसम्म राखेर अदालत लैजाने गरेको देखिन्छ । ओली र खडकाको पक्राउमा पनि जिल्ला प्रहरी कार्यालय दाङले यही नीति लिएको छ ।

सरकारले प्रतिबन्धको घोषणा गरेपछि प्रहरीले चन्द समूहका नेता-कार्यकर्ता पक्राउको क्रम तीव्र बनाए पनि उनीहरू धमाधम छुटिरहेका छन् । पक्राउ परेकालाई प्रहरीले राज्यविरुद्ध अपराध, संगठित अपराध र सार्वजनिक अपराध गरी तीन प्रकृतिको मुद्दा दायर गरेको देखिन्छ । हिंसात्मक क्रियाकलापमा संलग्न भएको प्रमाण भेटे प्रहरीले राज्यविरुद्ध अपराध र संगठित अपराधमा संयुक्त मुद्दा चलाएको छ ।

पश्चिम पहाडमा जिल्ला प्रहरीको नेतृत्व सम्हालेका एक अधिकारीले आफूहरूले समात्ने र अदालतले छोड्ने दोहोरी कतिन्जेलसम्म चल्ने हो भन्ने प्रश्न गरे । उनले सरकारले प्रतिबन्धको घोषणा गरे पनि त्यसलाई टेक्ने बलियो कानुनी आधार नहुँदा पक्राउ परेका धेरैजसो छुट्ने गरेको बताए । 'हामीलाई पनि समस्या छ, बल्लतल्ल समात्छौं, अदालत छोडिदिन्छ,' उनले भने, 'यसरी त लुकामारी खेलेजस्तो भयो ।'

प्रकाशित : जेष्ठ ५, २०७६ ०७:३४
प्रतिक्रिया
पठाउनुहोस्

चौकीमा भारतीयको आक्रमण, ६५ राउन्ड गोली चल्यो

कान्तिपुर संवाददाता

बाँके — पाँच किलो चरेससहित पक्राउ परेका भारतीयलाई प्रहरीले छोड्न नमान्दा शुुक्रबार राति राप्तीपारिको नरेनापुरमा गोली चलेको छ । भारतीय नागरिकले आक्रमण गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले ६५ राउन्ड गोली चलाएको हो । 

प्रतिकात्मक तस्बिर

भारतीय नागरिक देवीदिन विक शुक्रबार नरैनापुरमा चरेससहित पक्राउ परेका थिए । उनलाई छुटाउन सीमापारिका अधिकांश नागरिक आएर प्रहरी कार्यालय घेराउ गरेर गाडीमा ढुंगा र आगजनी गरेपछि गोली चलाउनुपरेको बाँके प्रहरीका निमित्त प्रमुख डीएसपी प्रकाश सापकोटाले बताए । देवीदिनलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको उनले बताए । गोली चलाइए पनि दुवैतर्फ कुनै क्षति नभएको प्रहरीले जनाएको छ ।

भारतीय नागरिक र प्रहरीको झडपले दिनभर त्यस क्षेत्रबाट प्रदेशसभामा निर्वाचित कृष्णा केसी पनि घेराबन्दीमा परिन् । सीमा क्षेत्रको स्थलगत अनुगमन गरेर फर्किने क्रममा सीमापारिका मान्छे आएर भारतीय नागरिक नछुटाएसम्म कतै जान नदिने धम्की दिँदै घेराबन्दीमा पारेको उनले बताइन् । उनलाई चार घण्टा घेराबन्दीमै राखिएको थियो । 'सबै घरेलु हतियारसहित थिए,' उनले भनिन्, 'अपराधी छुटाउने मेरो अधिकारको कुरा थिएन, त्यो प्रशासनले अनुसन्धान गर्ने हो भन्दा स्थिति झनै डरलाग्दो बन्यो ।'

राति पौने १० बजे जिल्लाबाट थप सुरक्षा गएपछि मात्र स्थिति नियन्त्रणमा आएको उनले बताइन् । नरैनापुर गाउँपालिका प्रमुख इस्तिहाक अहमद साहले भारतीय नागरिकको मनोमानीले यस क्षेत्रका सर्वसाधारणले असुरक्षित महसुस गरेको बताए ।

प्रकाशित : जेष्ठ ५, २०७६ ०७:३३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्