१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

होमस्टे सञ्चालनमा पहुँचवालाकै 'हालिमुहाली'

एलपी देवकोटा

जुम्ला — कर्णाली प्रदेश सरकारले तीन स्थानीय तहका चार वडामा होमस्टे सञ्चालन गर्न बजेट विनियोजन गरे पनि सञ्चालन नहुँदै विवाद चर्किएको छ । तीन ठाउँमा त्यस्तो विवाद आएको हो ।

कनकासुन्दरीको बोतामालिका, हिमाको बडी, तातोपानी गाउँपालिकाको ऐरेनी र तातोपानीमा होमस्टे सञ्चालनका लागि सरकारले एक करोड रुपैयाँ विनियोजन गरेको छ ।


बडीका स्थानीयले भने होमस्टेबारे आफूहरूलाई जानकारी नै नदिई एकलौटी गरेको भन्दै भू तथा जलाधार व्यवस्थापन कार्यालयमा उजुरी दिएका छन् । झन्डै ६० जनाले सामूहिक दस्तखत गरेर होमस्टे निर्णय प्रक्रियामा सबैलाई समावेश नगर्दासम्म प्रक्रिया अघि नबढाउन आग्रह गर्दै उजुरी गरेका हुन् ।


भू तथा जलाधार व्यवस्थापन कार्यालयले होमस्टे सञ्चालनको लागि प्रस्ताव मागेको थियो । होमस्टे सञ्चालनका लागि पहुँचवालाकै हालीमुहाली देखिएको छ । तातोपानीको ऐरेनीमा सञ्चालन हुने भनिएको होमस्टे सञ्चालन गर्न गाउँपालिका उपाध्यक्ष गंगादेवी उपाध्यायका पति दीपकप्रसाद उपाध्याय अध्यक्ष र पूर्व पशुपन्छी राज्यमन्त्री गोमा कुँवर सचिव रहेको प्रस्ताव पेस गरिएको छ । आफू अनुकूलको समिति बनाएर कसैलाई जानकारी नदिएर प्रस्ताव पेस गरेपछि स्थानीय आक्रोशित छन् ।


केन्द्रको अधिकार गाउँमा आए पनि स्थानीयलाई जानकारी नदिएर बिचौलियाले बीचमै आफू अनुकूलको निर्णय गरेर कार्यक्रम सञ्चालन गर्न लागेको तातोपानी गाउँपालिका २ का गोविन्द दमाईले बताए । 'पहुँचवालाले यसरी नै आफू अनुकूल निर्णय र काम गर्न थाले भने कसरी सर्वसाधारणको दैनिकी बदलिन्छ ?' उनले भने, 'समाजको नेतृत्वकर्ताले नै आफ्नो अनुकूलमा काम गर्न थालेपछि गरिब विपन्न जनता जस्ताको तस्तै हुने भए ।'


सम्बन्धित स्थानीय तहमा दर्ता भएको होमस्टेले मात्रै प्रस्ताव दिन पाउने व्यवस्था छ । तातोपानीमा सञ्चालन हुने होमस्टेका अध्यक्ष तातोपानी पर्यटन विकास केन्द्रका अध्यक्ष नवराज बुढा छन् । उनले पनि आफ्नो अनुकूल समिति निर्माण गरेर प्रस्तावना दिएका छन् ।


चालु आर्थिक वर्षमा प्रदेश सरकारले होमस्टे सञ्चालनका लागि बजेट विनियोजन गरेको कुनै जानकारी नदिई निश्चित व्यक्तिले आफू अनुकूलको समिति दर्ता गराएर प्रस्ताव पेस गरेको भन्दै स्थानीयले आक्रोश पोखेका हुन् ।


गाउँमा आउने हरेक विकासको गाउँ भेलामार्फत प्रक्रिया अगाडि बढाइनुपर्ने स्थानीय हरिकेश दमाईले बताए । 'पहिले जस्तो गाउँमा नपुग्दै बिचौलियाले आफ्नो अनुकूलतामा ढाल्ने परम्पराको अन्त्य हुनुपर्छ,' उनले भने, 'होमस्टे सामान्य किसानको घरमा बन्नुपर्छ ।'


हिमा गाउँपालिकाको बडीमा पनि होमस्टे सञ्चालनको विषयमा विवाद छ । पहुँचका आधारमा एकलौटी रूपमा आफ्नो परिवारलाई मात्रै केन्दि्रत गरेर सरकारी रकमको दुरुपयोग गर्न खोजिएको भन्दै स्थानीयले दुई दिनदेखि वडा कार्यालयमा तालाबन्दी गरेका छन् ।


कनकासुन्दरी गाउँपालिकाको बोतामाबाहेक तीनवटै स्थानमा होमस्टे सञ्चालनका लागि पहुँचवालाकै हालीमुहाली रहेको गुनासो र उजुरी परेेको भू तथा जलाधार कार्यालयले जनाएको छ । तीन स्थानमा चर्को विवाद आइरहेको वरिष्ठ जलाधार व्यवस्थापन अधिकृत शेरबहादुर श्रेष्ठले बताए ।


'होमस्टे सञ्चालन गर्न सम्बन्धित स्थानीय तहमा दर्ता हुनुपर्छ, दर्ता भएपछि मात्रै योग्य ठहरिन्छ,' उनले भने, 'प्रत्येक स्थानीय तहमा प्रस्ताव पेस गर्नेबारे सूचना टाँस गरेका थियौं । पहुँचवालाले पेस गरे कि सामान्य किसानले भन्ने विषयमा कुनै छलफल भएको छैन ।'

प्रकाशित : जेष्ठ ५, २०७६ ०८:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?