१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

राजपा संयोजकमा झा

काठमाडौँ — राष्ट्रिय जनता पार्टीका अध्यक्षमण्डल सदस्य अनिल झा पार्टी संयोजक बनेका छन् । चक्रीय प्रणालीअनुसार उनले सोमबारबाट पार्टी संयोजकको कार्यभार सम्हाल्ने भएका हुन् । पार्टी नेतृत्वका लागि राजपाले दुई/दुई महिनाको चक्रीय प्रणाली लागू गरेको छ ।

राजपा संयोजकमा झा

यो निर्णयअनुसार यसअघि अध्यक्ष मण्डलका चार नेता पार्टी संयोजक भइसकेका छन् । झापछि राजकिशोर यादव पार्टी संयोजक हुनेछन् । उनीपछि यो क्रम दोहोरिएर महन्थ ठाकुरकै नेतृत्वमा पार्टी जानेछ ।


ठाकुरले नेतृत्व लिएकै बेला पार्टीको महाधिवेशन गर्ने तयारी छ । यादव असोज ५ गतेसम्म नेतृत्वमा रहेपछि ठाकुर पुनः पार्टी संयोजक हुनेछन् । पार्टीले कात्तिक २८ देखि ३० गते महाधिवेशन गर्ने तालिका सार्वजनिक गरेको छ ।


विधान संशोधन

मधेस केन्दि्रत ६ वटा दल एकीकरण गरेर बनेको राजपाले तीन वर्षभित्र महाधिवेशन गर्ने गरी विधान संशोधन गरेको छ । एकीकरणका बखत दुई वर्षमा एकीकृत पार्टीको महाधिवेशन गर्नेगरी विधान बनेको थियो । जसअनुसार पार्टीले असार मसान्तभित्र महाधिवेशन गरिसक्नुपर्ने थियो । असार मसान्तसम्म नसक्ने भएपछि विधानमै संशोधन गर्नुपरेको हो । राजपाले कात्तिकमा महाधिवेशन गर्ने तालिका यसअघि नै सार्वजनिक गरिसकेको छ । 'संवैधानिक संकट आउन नदिन पनि विधान संशोधन गर्नुपरेको हो,' राजपा महासचिव केशव झाले भने, 'संशोधित विधान मैले आइतबार निर्वाचन आयोगमा बुझाएको छु । अब कात्तिकमा महाधिवेशन हुनेछ ।'


महाधिवेशनपछि अध्यक्ष मण्डलको व्यवस्था भने नहुने भएको छ । महाधिवेशनबाट अध्यक्षीय प्रणालीमा जाने व्यवस्था पार्टी विधानमै थपिएको छ । तल्लो तहका निर्वाचित पदाधिकारी तथा सदस्यहरू माथिल्लो तहमा उम्मेदवार बन्दा पदबाट राजीनामा दिनुपर्ने गरी विधानमा संशोधन गरिएको छ । यसअघि माथिल्लो तहमा चुनावी प्रतिस्पर्धा गर्दा तल्लो तहको पदमा भए पनि राजीनामा दिनुनपर्ने व्यवस्था थियो । त्यस्तै, वडा समितिका निर्वाचित सदस्य, पदाधिकारी तथा वडाबाट निर्वाचित अन्य प्रतिनिधिले सक्रिय सदस्यता लिनुपर्ने नयाँ व्यवस्था गरिएको छ ।


विपक्षीहरूको मोर्चा

राजपाले विपक्षीहरूबीच लोकतान्त्रिक मोर्चा बनाउने निर्णय गरेको छ । अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले सरकारका गलत कामकारबाहीविरुद्ध एकजुट भएर सडक र संसदमा बलियो भूमिका निर्वाह गर्न लोकतान्त्रिक मोर्चा बनाउने पार्टीले शनिबार निर्णय गरेको बताए । 'अब हामी कांग्रेसलगायत विपक्षी पार्टीसँग छलफल गर्ने तयारीमा छौं,' उनले भने, 'सरकारको निरंकुश कार्यशैली प्रतिवाद गर्नका लागि पनि बृहत् लोकतान्त्रिक मोर्चा आवश्यक भएको छ ।'

प्रकाशित : जेष्ठ ५, २०७६ २०:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?