कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

हिमालमा मर्ने ६ पुगे, ३ बेपत्ता

आरोहणमा ब्रेक लाग्यो
सुरज कुँवर

काठमाडौँ — चालु सिजनको हिमाल आरोहणका क्रममा हालसम्म सगरमाथा, ल्होत्से, मकालु र कञ्चनजंघामा ६ विदेशी आरोहीको मृत्यु भएको छ भने तीन विदेशी हराइरहेका छन् । पर्यटन विभागले यस सिजनमा आरोहण सुरु नहुँदै भएको मानवीय क्षति अघिल्ला वर्षका दाँजोमा बढेको जनाएको छ ।

हिमालमा मर्ने ६ पुगे, ३ बेपत्ता

विभागका एक अधिकारीले आरोहीहरूको मृत्यु हुनु र हराउनुको यकिन जानकारी भने अझै सम्पर्क अधिकृतहरूमार्फत प्राप्त भइनसकेको बताए ।


पर्यटन विभागका अनुसार विश्वकै तेस्रो अग्लो हिमाल कञ्चनजंघा आरोहण क्रममा गत बुधबार भारतीय आरोहीहरू पश्चिम बंगालको कोलकाताका ४८ वर्षीय विप्लव वैद्य र ४६ वर्षीय कुंतल करारको मृत्यु भएको थियो । काठमाडौंस्थित पिक प्रमोसन प्रालिको व्यवस्थापनमा त्यसतर्फ गएका उनीहरूको शव आइतबार हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको निर्देशक पासाङ शेर्पाले बताए ।


विभागले दुवै शवमा अत्यधिक हिमपातको असर रहेकाले मंगलबारमात्रै पोस्टमार्टम हुने जनाएको छ । पिक प्रमोसनमार्फत नै आरोहणमा गएका दक्षिण अमेरिकी मुलुक चिलीका रोडि्रगो भिभ्यान्को अझै हराइरहेका छन् । निर्देशक शेर्पाले आइतबारसम्म पनि उनको शव फेला नपरेको बताए । 'शेर्पाहरूले खोजी गर्दा भेटिएन । कञ्चनजंघाको चौथो शिविरदेखि माथि चुचुरोसम्मको क्षेत्रमा उनी हराएको अनुमान गरेका छौं,' निर्देशक शेर्पाले भने ।


सगरमाथामा बिहीबार आरोहण सकेर फर्किंदै गर्दा भारतीय सैनिक रवि ठाकुरको चौथो शिविरमा मृत्यु भएको थियो । एक्सपिडिसन कम्पनी सेभेन समिट ट्रेक्सका अध्यक्ष मिग्मा शेर्पाले उनको शव अझै ल्याउन नसकिएको बताए । त्यसैगरी आरोहण सकेर र्फकने क्रममा आइरिस प्राध्यापक ३९ वर्षीय सेमस सान चौथो शिविरबाट हराइरहेका छन् । यी आरोहीले फाल हानेको खबर विभागमा आइपुगेको एक सम्पर्क अधिकृतले जनाए ।


त्यसैगरी गत बुधबार मकालु हिमाल आरोहण गरेर फर्किएका पेरुका ५२ वर्षीय रिचर्ड हिडाल्गो सुतिरहेको अवस्थामा चौथो शिविरमा मृत फेला परेका थिए । शव आइतबार काठमाडौं ल्याइएको अध्यक्ष शेर्पाले बताए । मकालु हिमाल आरोहण सकेर र्फकंदै गर्दा अर्का भारतीय सैनिक नारायण सिंहको गत बिहीबार मृत्यु भएको थियो । आरोहण सकेर र्फकने क्रममा भारतको कोलकाताका अर्का आरोही दिपंकर घोष चौथो शिविरभन्दा माथि नै हराइरहेका छन् । सिंहको शव ल्याउन कठिन भइरहेको र घोष फेला नपरेको अध्यक्ष शेर्पाले बताए ।


यस्तै विश्वकै चौथो अग्लो हिमाल ल्होत्से आरोहण सकेर फकिर्ंदै गरेका बुल्गेरियाका आरोही इभान युरिभ टमभको शुक्रबार मृत्यु भएको छ । उनको पनि शव फेला परेको छैन । यी मकालु एक्स्ट्रीम कम्पनीबाट आरोहणमा गएका थिए ।


यसैबीच मौसमको खराबीका कारण शुक्रबारदेखि ७ हजार मिटरभन्दा अग्ला सबै हिमाल आरोहण तत्कालका लागि रोकिएको विभागले जनाएको छ । 'सोमबारसम्म मौसम प्रतिकूल भएकाले मंगलबारदेखि फेरि आरोहण सुरु हुने अनुमान गरेका छौं,' विभागका निर्देशक मीरा आचार्यले भनिन् । उनका अनुसार आरोहीहरू मौसम सुधार हुने अपेक्षा राखेर यतिबेला दोस्रो शिविरतर्फ उक्लिएका छन् ।

प्रकाशित : जेष्ठ ५, २०७६ २१:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?