कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

नर्सिङ होमका उपकरण फेरिए

विनोद भण्डारी

विराटनगर — दूरबिनद्वारा शल्यक्रिया गर्दा बिरामीमा संक्रमण देखिएपछि यहाँको विराट नर्सिङ होमले आफ्नो अप्रेसन थिएटरका उपकरण परिवर्तन गरेको छ । शल्यक्रियापछि देखिएको संक्रमण नियन्त्रणमा आएको नर्सिङ होमले दाबी गरेको छ ।

असोजदेखि फागुनसम्ममा दूरबिनबाट शल्यक्रिया गरिएका दर्जनौं बिरामीमा संक्रमण देखिएपछि नर्सिङ होमले अप्रेसन थिएटरका सबै उपकरण फेरेको हो । शल्यक्रियापछि भएको संक्रमण 'अ टिपिकल म्याइक्रोब्याक्टेरियम इन्फेक्सन' भएको जनाइएको छ । दूरबिनबाट पित्तथैली, एपेन्डिसाइटिस र पाठेघरको शल्यक्रिया गर्दा दर्जनौं बिरामीमा संक्रमण देखापरेको थियो । तीमध्ये अधिकांशको संक्रमण निको भइसकेको दाबी गर्दै केही बिरामी निरन्तर उपचारमा रहेको नर्सिङ होमले जनाएको छ ।


संक्रमण देखापरेपछि अस्पतालले नाटा, जनस्वास्थ्य र टेकु अस्पताललगायत विभिन्न स्वास्थ्य संस्थाका प्रतिनिधि, प्रभावित केही बिरामीसँग समेत छलफल गरेको थियो । विज्ञहरूसँग परामर्श गर्दा 'अ टिपिकल म्याइक्रोब्याक्टेरियम इन्फेक्सन' भएको पुष्टि भएको नर्सिङ होम सञ्चालक तथा वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. ज्ञानेन्द्र कार्कीले बताए ।


त्यसपछि थप औषधि प्रयोग गरिएको उनले जनाए । असोजदेखि फागुनसम्म दूरबिनबाट २ हजार १ सय शल्यक्रिया गरिएको थियो । तीमध्ये २१ जनामा संक्रमण देखिएको कार्कीको दाबी छ । उनका अनुसार संक्रमितमध्ये १५ जना उपचारपछि फर्किइसकेका छन् । ६ जना भने फलोअप उपचारमा छन् । संक्रमण सिप्रो र ट्यालेन्थ्रो नामका औषधिले नियन्त्रणमा आएको वरिष्ठ सर्जन डा. आरके साबुले बताए ।


यस्तो संक्रमण छालामा मात्र देखिएको र भित्री भागमा कुनै असर नगरेको उनको भनाइ छ । 'पानी वा अप्रेसन उपकरणका कारण इन्फेक्सन देखापरेको हुन सक्ने मेडिकल क्षेत्रका प्रोफेसरहरूले आशंका गरे,' डा. कार्कीले भने, 'अप्रेसन थिएटरका सबै उपकरण झिकेर प्लाज्मा ग्यास स्टरलाइजेसन मेसिनमार्फत शल्यक्रिया गर्न सुरु गरेपछि समस्या देखिएको छैन ।' उनका अनुसार चिरेर गरिएको शल्यक्रियामा भने यस्तो समस्या देखिएन । दूरबिनबाट गरिएको शल्यक्रियामा मात्र समस्या देखापरेपछि अपरेसनका सबै उपकरण परिवर्तन गरिएको उनले बताए ।


उक्त नर्सिङ होममा असोजमा दूरबिनबाट एपेन्डिसाइट्सको शल्यक्रिया गरेका दुर्गाबहादुर कार्की र २ महिनाअघि पित्तथैलीको शल्यक्रिया गराएका चिकित्सक भानु साह यो संक्रमणपछि अहिले काठमाडौंको मेडिसिटी अस्पतालमा थप उपचार गराइरहेका छन् ।


मेडिसिटीको सर्जिकल डिपार्टमेन्टले विराट नर्सिङ होमको अपरेसन थिएटरका सामग्रीका कारण संक्रमण भएको दाबी गरेको उनीहरूको भनाइ छ । डा. साह १ सातादेखि मेडिसिटीमै उपचार गराइरहेका छन् । त्यसैगरी संक्रमण फैलिएपछि कार्की दिल्ली पुगेर थप उपचार गराई फर्केका छन् ।

प्रकाशित : जेष्ठ ६, २०७६ ०८:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?