कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

पायल्सको उपचार, आन्द्रामा प्वाल

दीपक परियार

लेखनाथ — भारतीय सेना बन्ने सपना बोकेका पोखरा अर्चलबोटका १९ वर्षीय श्रीप्रसाद पुन यतिखेर अस्पतालको बेडमा छन् । पायल्सको उपचार गर्दा आन्द्रामा प्वाल परेपछि उनले मणिपाल शिक्षण अस्पतालमा उपचार गराइरहेका हुन् । पायल्स र फिस्टुलाको उपचार गर्ने क्रममा चिकित्सकको लापरबाहीले आन्द्रामा प्वाल परेको आफन्तको आरोप छ । 

पायल्सको उपचार, आन्द्रामा प्वाल

भारतमै दस जोड दुई उत्तीर्ण गरी पोखरा फर्किएका उनी भारतीय सेनामा भर्ती हुने तयारीमा थिए । बुबा चामबहादुर पुन अवकाशप्राप्त भारतीय सेना भएकैले उनमा पनि मोह थियो । अकस्मात गुदद्वारमा समस्या देखियो । घर नजिकै बागलुङ बसपार्कमा रहेको निदान आयुर्वेद क्लिनिक प्रालिमा उपचारका लागि पुगे । वैशाख ३ मा चिकित्सक प्रफुल्लाचन्द्र यादवले क्षारसूत्र विधिबाट उनको उपचार गरे ।


दुई-दुई दिनमा डे्रसिङ गरिरहे । वैशाख १० मा श्रीप्रसादको पेट बेस्सरी दुख्न थाल्यो । उनले डा. प्रफुल्लालाई नै देखाए । चिकित्सकले मणिपाल अस्पताल रेफर गरे । मणिपाल पुग्दा आन्द्रामा प्वाल परेको पत्ता लाग्यो । अर्को दिन मणिपालमा शल्यक्रिया भयो ।


उनको अवस्था चिन्ताजनक रहेको बुबा चामबहादुर बताउँछन् । 'पहिला पायल्सको उपचार गरियो, फिस्टुला पनि छ भनेपछि त्यसको पनि उपचार भयो,' उनले भने, 'एक सातापछि आन्द्रामा प्वाल देखिनु डाक्टरकै लापरबाही हो ।' अपरेसन गरेपछि ठीक हुनेभन्दा झन् सिकिस्त हुँदै गएको उनले सुनाए । उनले क्लिनिकमा मात्रै १ लाख ३५ हजार रुपैयाँ र मणिपालमा ६ लाख रुपैयाँ उपचारमा खर्च भइसकेको बताए । भने, 'क्लिनिकले पैसा तिरेको रसिदसमेत दिएको छैन ।' क्लिनिकले गल्ती स्वीकारेर सुरुमा उपचार खर्च व्यहोर्ने भने पनि अहिले तर्किएको उनको दाबी छ ।


चिकित्सक प्रफुल्लाचन्द्र यादव भने पायल्स र आन्द्राको प्वालबीच कुनै सम्बन्ध नभएको बताउँछन् । 'हामीले गर्ने क्षारसूत्र विधिबाट, जहाँ मासुको डल्लो धागोले बाँधिन्छ,' उनी भन्छन्, 'गुदद्वार र ठूलो आन्द्राबीच धेरै दूरी हुन्छ, हामीले प्रयोग गर्ने सियोले भेट्दैन ।' उनले मानवीय नाताले केही उपचार खर्च व्यहोर्ने भने पनि सम्पूर्ण खर्च व्यहोर्ने नभनेको दाबी गरे ।


श्रीप्रसादका आफन्तले चिकित्सकलाई कारबाही र क्षतिपूर्तिको माग गर्दै आइतबार प्रदर्शन गरेका छन् । नेपाल पुनमगर समाज कास्कीले क्लिनिक र चिकित्सकविरुद्ध नाराबाजी गर्दै र्‍याली गरेको हो । उनीहरूले क्लिनिकमा तालाबन्दीसमेत गरे । आइतबारै सामाजिक विकासमन्त्री नरदेवी पुनलाई ज्ञापनपत्र बुझाएका छन् ।

प्रकाशित : जेष्ठ ६, २०७६ ०८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?