सर्वोच्चमा लर्को

सगरमाथाको राजस्व ४४ करोड     
कामीरिता दोस्रो शिविरमा 
सर्वेक्षण टोली तेस्रो शिविरमा

सोलुखुम्बु — सगरमाथा आधारशिविर आइतबार सुनसान बनेको छ । अधिकांश आरोही राति नै सगरमाथातिर उक्लेपछि आधारशिविर सुनसान बनेको हो । 'काग कराएको र बेलाबेला हेलिकप्टर मात्र सुनिएको छ आज,' आरोहण दल लिएर आधारशिविर पुगेकी पिक प्रमोसन प्रालिकी आधारशिविर प्रबन्धक दिकी शेर्पाले भनिन् । 

सर्वोच्चमा लर्को

पर्यटन विभागबाट सम्पर्क अधिकृतका रूपमा आधारशिविरमा रहेका ज्ञानेन्द्र श्रेष्ठले फेसबुकमा 'साइलेन्ट इबीसी' भनेर फोटो पोस्ट गरेका छन् । श्रेष्ठले एक सय हाराहारी आरोही आरोहणका लागि शिखर गइसकेको जानकारी दिए । 'सबैको सफल आरोहण भइसकेको छैन । बाँकीले २४ तारिखभित्र आरोहण गर्नेछन् ।'


शनिबार रातभरि खुम्बु आइसफलको उकालोको राजमार्गमा राति सवारी गुडिरहेको झल्को दिने गरी टर्चको उज्यालो लहरै देखिन्थ्यो । सगरमाथा आरोहणका लागि गएका नेपाली र विदेशी गरी कुल ३ सय ७९ आरोहीमध्ये ८५ प्रतिशत आरोही उकालो लागेका हुन् । यसले ठाउँठाउँमा ट्राफिक जाम हुने गरेको छ । शुक्रबार र शनिबार राति उकालो लागेका आरोहीले मंगलबारदेखि शिखर चुम्ने लक्ष्य लिएका छन् ।


उकालो जाने आरोहीका साथमा एक जनादेखि तीन जनासम्म सहयोगी शेर्पा रहन्छन् । त्यसैले आधारशिविरदेखि माथि ५ सयभन्दा बढीको संख्यामा आरोही र शेर्पा छन् । दोस्रो शिविरसम्म उनीहरूले आल्मुनियमका भर्‍याङ र डोरीमा झुन्डिएर जानुपर्छ । त्यहाँभन्दा माथि डोरीको भरमा जानुपर्छ ।


चौथो शिविरमा अन्तिम आराम गरेपछि शिखरमा पुगेर कम्तीमा चौथो शिविरमै आइपुग्नुपर्छ । आरोहीको भीड भएपछि बाटोमा ट्राफिक जाम हुने गर्छ । ट्राफिक जाम भएका बेला ज्यान जाने जोखिम बढ्ने शेर्पाहरू बताउँछन् । बाटामा रोकिएका अरू आरोहीलाई सजिलै छिचोलेर जान मिल्दैन । 'डोरीको माध्यमबाट सबैले हिँड्नुपर्ने हुनाले जोखिम उच्च हुन्छ,' नेपाल माउन्टेन एकेडेमीका गाइड छिरिङ जाङबु शेर्पाले भने । जनघनत्व ह्वात्तै बढेका बेला सगरमाथामा फोहोरसमेत बढ्ने गरेको छ ।


यस सिजनमा सगरमाथामा एक जना बेपत्ता र दुई जनाको मृत्यु भइसकेको छ । पर्यटन विभागले यसको विस्तृत जानकारी उपलब्ध गराइसकेको छैन ।


शनिबार राति आधारशिविर छाडेको नापी विभागको टोली आइतबार साँझ तेस्रो शिविर पुगेका छन् । दोस्रो शिविरमा खाना खाएर उकालो लागेका उनीहरू आइतबार तेस्रो शिविर बसेर सोमबार चौथो शिविर हुँदै मंगलबार राति शिखर चुम्ने तयारीमा छन् । 'हाम्रो लक्ष्य मंगलबारदेखि ढिलोमा बुधबार राति शिखर पुग्ने हो,' विभागका उपसचिव तथा टिम लिडर खिमलाल गौतमले भने, 'हामी उज्यालो हुने बेला शिखर पुग्यौँ भने काम गर्न गाह्रो हुन्छ । त्यसैले राति शिखरमा पुगेर कम्तीमा आधा घण्टा हामीले काम गर्छौं ।'


नेपालले पहिलो पटक सगरमाथा मापन गर्न लागेको टोलीमा गौतमसँगै रविन कार्की छन् । अन्य दुई जना आधारशिविरमा छन् । शिखरमा पुगेर काम गर्नुपर्ने भएकाले उनीहरूलाई जति अवसर छ, त्योभन्दा बढी चुनौती छ । शिखरमा हातको पन्जा खोल्नै मिल्दैन । 'पातलो पन्जा भए पनि लगाएर काम गर्ने योजना छ । सबै खोलेर काम गर्‍यो भने हात गुमाउनुपर्ने अवस्था आउँछ,' गौतमले भने, 'हेरौं, कति सम्भव हुन्छ । हामी काम सकेर मात्रै फर्किने योजनामा छौं । यो सबै हाम्रो साहसले मात्र हुने कुरा होइन । यसमा भगवानको भरोसा पनि हुन्छ ।'


उनीहरूको प्रमुख क्लाइम्बिङ गाइडका रूपमा छिरिङ जाङबु शेर्पा छन् । उनलाई अनुभवी माउन्टेन गाइडसमेत भनिन्छ । दर्जनौं पटक सगरमाथा शिखर चुमेका उनले बिनाअक्सिजन दुई पटक सगरमाथा चुमिसकेका छन् ।


कामीरिता शेर्पा अर्को आरोहणका लागि आइतबार साँझ दोस्रो शिविर पुगेका छन् । उनी २१ तारिख अर्थात् मंगलबार २४ औं पटक शिखर चुम्ने लक्ष्यका साथ उकालो लागेका हुन् । अर्को साल २५ पटक पुर्‍याएपछि आरोहण टुंग्याउने उनले बताएका छन् ।

यस सिजनमा सगरमाथा आरोहणका लागि अनुमति लिने आरोहीबाट मात्र ४४ करोडभन्दा बढी राजस्व संकलन भएको छ । विदेशी ३६ दलका ३ सय ६६ आरोहीबाट ४४ करोड १ लाख ५४ हजार २ सय १२ रुपैयाँ राजस्व संकलन भएको हो ।


नेपाली ६ दलका १३ जना आरोहीबाट ९ लाख ७५ हजार रुपैयाँ संकलन भएको छ । विभिन्न हिमाल आरोहणका लागि प्राप्त राजस्वमध्ये ९५ प्रतिशत रकम सगरमाथाबाटै संकलन भएको छ । कुल ४९ करोड ४२ लाख ५७ हजार ५ सय ९७ रुपैयाँ राजस्व यही आरोहण मौसममा संकलन गरेको पर्यटन विभागको तथ्यांकमा उल्लेख छ ।

प्रकाशित : जेष्ठ ६, २०७६ ०८:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?